वासिङ्टन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उनका रूसी समकक्षी भ्लादिमिर पुटिनबीच जर्मनीमा आयोजित जी–२० को बैठकका क्रममा एक्लाएक्लै भेटवार्ता भएको भनी आएको समाचारलाई ह्वाइट हाउसले स्वीकार गरेको छ ।
जुलाईको सुरुतिर जर्मनीको ह्याम्बर्गमा भएको जी–२० बैठकका क्रममा उनीहरूबीच पूर्वघोषित रूपमै भेटवार्ता भएको समाचार आएको थियो ।
तर पछि भएको दोस्रो बैठकको समाचारलाई भने अहिलेसम्म पनि गोप्य राखिएको छ । उक्त भेटवार्ताको समाचार मंगलबारका अमेरिकी पत्रिकाले सार्वजनिक गरेका छन् ।
उनीहरूबीच सुरुमा भएको घोषित वा औपचारिक बैठकको घण्टौंपछि एक जना रूसी दोभाषे पात्रको उपस्थितिमा राष्ट्रपतिद्वयको वार्ता भएको ती समाचारमा जनाइएको छ ।
तर दुई जनाबीच के–कस्ता विषयमा छलफल भएको थियो भन्नेबारे भने केही बताइएको छैन । यस वार्ताको औपचारिक रेकर्ड पनि नराखिएको पाइएको छ ।
अमेरिकी छापामा यो समाचार आएपछि यस विषयमा अमेरिकामा व्यापक विवाद थपिएको छ । रूस र ट्रम्पको चुनाव अभियानसँग जोडिएर आएका पछिल्ला समाचारपछिको यो अर्काे खुलासाले अमेरिकी राजनीतिलाई फेरि एकपटक तताएको छ ।
सुरुमा होइन भनिएको सो भेटघाटको समाचार आएपछि मंगलबार ह्वाइट हाउसले स्विकार्न बाध्य भएको बताइएको छ । ह्वाइट हाउसले सो वार्तालाप सञ्चारमा आएजस्तो व्यापक र लामो समयको नभई बेलुकाको खाना खाने बेलामा उनीहरूबीच छोटो वार्ता भएको बताएको छ ।
तर अमेरिकी पत्रिकाले सो भेटमा अरू कोही नभई दोभासे मात्र राखिएको र एक घण्टासम्म यो भेटवार्ता भएको बताएका छन् । दोभासे पनि रूसी नागरिक रहेको सो समाचारमा उल्लेख गरिएको छ ।
अमेरिकी गुप्तचर निकायले गत वर्षको राष्ट्रपतीय चुनाव अभियानमा रूसले ट्रम्पलाई राष्ट्रपति बन्नका लागि सघाएको आरोप लगाउँदै आएको छ । तर, राष्ट्रपति ट्रम्पले उक्त साँठगाँठको अस्वीकार गर्दै आएका भए पनि गत हप्ता मात्र सो विषय पनि सार्वजनिक भएको थियो ।
त्यस समयमा राष्ट्रपति ट्रम्पका जेठा छोराले रूसी वकिलसँग गरेको कुराकानीको खुलासा पनि गत हप्ता नै भएको थियो । ह्यामबर्गको जी–२० बैठकका समयमा राष्ट्रप्रमुखहरूको निजी रात्रिभोजका बेला दोस्रो बैठक भएको थियो । भेटमा अमेरिकी राष्ट्रपति एक्लै र रूसी राष्ट्रपतिसँग उनका दोभासे थिए ।
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij