२०८३ मंसिर ८ सोमबार

Nov 23 2026 Monday

  • २०८३ मंसिर ८ सोमबार

२०८३ मंसिर ८ सोमबार

नारायणगढ–मुग्लिन सडकखण्ड: २७ महिनामा आधा काम, ६३ दिन म्याद थप

नारायणगढ–मुग्लिन सडकखण्ड: २७ महिनामा आधा काम, ६३ दिन म्याद थप

muglin
चितवन । नारायणगढ–मुग्लिन सडकखण्ड पुनर्निर्माणको काम २७ महिनाको अवधिमा आधा मात्र सकिएको छ । तोकिएको समयमा काम सम्पन्न हुन नसकेपछि ६३ दिनको समयावधि थप गरिएको छ । यसअघि नै सो आयोजनाको समयावधि दुई पटक थप भएको थियो । समयावधि थप भएपछि सो आयोजनाको प्रगति हालसम्म ६८ प्रतिशत सकिनुपर्ने थियो ।

सो आयोजनाको समयावधि थप गरिएको आयोजनाका इन्जिनियर एवं सूचना अधिकारी शिव खनालले जानकारी दिए । लाइफलाइनको रूपमा रहेको नारायणगढ–मुग्लिन सडकखण्ड २७ महिना बित्दा पनि आधा मात्रै निर्माण सकिएको छ । भूकम्प र नाकाबन्दीपछि आगामी डिसेम्बरसम्ममा सक्ने लक्ष्य लिइए पनि अहिलेसम्म ५२ प्रतिशत मात्रै काम भएको खनालले बताए ।

मर्मत सुरु भएदेखि तीन पटक वर्षा खेपिसकेको यो सडकमा पहिरोका कारण धेरै मानवीय क्षतिसमेत भएको छ । नियमित काम गर्ने वतावरण भएमा ५ महिनामा निर्माण सम्पन्न गरिसक्ने दाबी इन्जिनियर खनालको छ । सडक खण्डमा ६ सय मिटर मात्रै पहाड फोड्न बाँकी रहेको बताउँदै उनले पहाड फोडेपछि अरू मर्मत गर्न धेरै समय नलाग्ने बताए ।

अहिले सडकखण्ड विस्तारको काम ठप्प जस्तै छ । पहिरोको जोखिम बढेपछि रातको समयमा सडक बन्द र दिउँसो खुला गरिएको छ । निर्माणको लागि हरेक दिन बिहान १० बजेदेखि साँझ ४ बजेसम्म गरिदै आएको बन्दलाई हटाइएको छ । रातमा काम गर्न नसकिने र दिउँसो यातायात खुला भएका कारण सवारी चापले काम हुन नसकेको निर्माण कम्पनीका प्रतिनिधिहरूले बताएका छन् ।

नारायणगढ–मुग्लिन सडकखण्ड

नारायणगढ–मुग्लिन सडकमा कालोपत्रेको काम सुरु भएको छ । निर्माणको चरणमा रहेको सडकमा १६० एमएमको कालोपत्रे हुनेछ । पहिलो ६० एमएमको कालोपत्रे कार्य सुरु भएको छ ।

सो सडक खण्डलाई एसियाली मापदण्डअनुसार चार लेनको सडक बनाउँदै भन्दै २०७२ वैशाखबाट निर्माण कार्य सुरु गरिएको हो । ठेक्का अवधि सकिन ४ महिना मात्र बाँकी रहेको छ ।

यो सडकखण्डका २९ ठाउँलाई अति जोखिम मानिएको छ । यस वर्ष मात्रै पहिरोका कारण आठ जनाको ज्यान गइसकेको छ । आर्थिक वर्ष २०७२÷७३ को तथ्यांकअनुसार यो सडकमा दैनिक अधिकतम ७ हजार ३ सय ७७ सवारीसाधान आवतजावत गर्ने गरेका छन् । २०३६ सालमा चीन सरकारको सहयोगमा गोर्खा नारायणगढ सडकको एक खण्डको रूपमा यो सडक निर्माण भएको थियो ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij