काठमाडौं । नेकपा माओवादी केन्द्रको चार दिनदेखि जारी जिल्ला इन्चार्जसमेत सम्मिलित पार्टी सचिवालय सदस्यहरूको विस्तारित बैठकमा निर्वाचनमा अपेक्षाकृत नतिजा नआउनुमा अध्यक्ष पुष्पकमल दाहालकै वरिपरिका नेताहरूसहित केन्द्रीय नेताहरू जिम्मेवार रहेको आरोप लागेको छ ।
स्थानीय तहको निर्वाचन, आगामी निर्वाचनको तयारी तथा पार्टी संगठनको विषयमा समीक्षा गर्न सोमबारदेखि जारी बैठकमा जिल्ला इन्चार्ज तथा सचिवालय सदस्यहरूले अध्यक्ष दाहालका वरिपरि घुम्ने नेताहरूले तल्लो तहका कार्यकर्ता तथा जनताका समस्या सही रूपमा अध्यक्षसम्म नपु¥याएको र आफूहरू पनि जनतासम्म नगएको भन्दै अध्यक्षपछिका दोस्रो तहका नेताहरूको आलोचना भएको हो ।
‘अध्यक्षको वरिपरि घुम्नेहरू धेरै भए, अध्यक्षको ढोका चहार्ने तर जनतामा पटक्कै नजाने प्रवृत्ति बढ्यो, उनीहरूले तल्ला तहका कार्यकर्ताको समस्या माथि पु¥याएनन््,’ एक नेताले बैठकमा भने, ‘ती नेताहरू अध्यक्षको ढोका चहारेर मात्र बसेर भएन, जनतासम्म जान प¥यो ।’ ती नेताले घुमाउरो शैलीमा अध्यक्षको वरिपरि घुम्ने बिचौलिया जस्तै समूह खडा भएको र अरूलाई अध्यक्षसम्म जाने बाटोमा रोक लगाउने र आफूहरू पनि केही नगर्ने प्रवृत्तिको विकास भएको भन्दै आलोचना गरेका थिए ।
बैठकमा पछिल्लो पटक एकता प्रक्रियाबाट आएका नेताहरूले निर्वाचन उपयोग मात्र हो कि यसलाई प्रयोग गरेर अघि बढ्ने हो भनेर कार्यदिशा स्पष्ट पार्नसमेत अध्यक्षसँग माग गरेका छन् ।
करिब ४ हजार सदस्यीय महाधिवेशन आयोजक समिति ठूलो भएको भन्दै व्यवस्थित र चलायमान बनाउन पनि नेताहरूले सुझाव दिएका छन् । आयोजक समिति ठूलो भएपनि निर्वाचनमा सक्रिय नभएको भन्दै व्यवस्थित गर्नुपर्ने उनीहरूले सुझाव दिएका हुन् ।
चुनावी समीक्षाका क्रममा जिल्ला इन्चार्जहरूबाट केन्द्रीय नेताहरू गाउँ नगएको भन्दै चर्को आलोचना भइरहेको छ । नेतृत्वमा सहरमुखी प्रवृत्ति मौलाएको उनीहरूको भनाइ छ । रिपोर्टिङका क्रममा उनीहरूले केन्द्रीय नेताहरू गाउँ गएर संगठनमा लाग्ने हो भने पार्टी अझै नसकिएको टिप्पणीसमेत गरेका छन् ।
बैठकको चौथो दिन बिहीबार हरिबोल गजुरेल, राम कार्की, छिमिदोर्जे लामा, कुमारी मोक्तान, कृष्णध्वज खड्का, लक्ष्मण जैसी, सुरेश आले, ओम शर्मा, घनश्याम यादव, हिमाल किराँती, खगेन्द्र सेन, राजकुमार शर्मा, हरि दाहाल, दिनेश पन्थी, महेश्वर गहतराज, तिलक शर्मा, विश्वनाथ साह, राजकाजी गुरुङ र सूर्य सुवेदी गरी १९ जना नेताहरूले चुनावी समीक्षा प्रस्तुत गरेका छन् । शुक्रबार (आज) को बैठकमा अध्यक्ष दाहाललगायत शीर्ष नेताले जवाफ दिने कार्यसूची रहेको छ ।
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij