स्थानीय तह निर्वाचनको दोस्रो चरणको पनि सम्पूर्ण परिणाम आएको केही दिन बितिसकेको छ । तर निर्वाचनमा के कस्तो आधारमा मतदान गरे र त्यसबाट देशको राजनीतिमा कस्तो प्रभाव ल्याउला भन्ने विषयमा बहस भने जारी छ । सरसर्ती हेर्दा जनताले सम्बन्धित पार्टीको शक्ति र संगठनात्मक आधारमा त्यसअनुरूप आफूमाथि पर्न सक्ने सम्भावित प्रभावलाई दृष्टिगत गरी मतदान गरेको पाइन्छ । प्रायगरी जनताले सानो पार्टीलाई महत्व दिएका हुँदैनन्, किनकि त्यस्तो पार्टीबाट भोलिका दिनमा व्यक्तिगत लाभ लिन सकिँदैन । कुन पार्टीको सिद्धान्त र दर्शन कस्तो छ र त्यसको असर देशको राजनीतिक भविष्यमा कस्तो हुन्छ भन्ने सम्बन्धमा जनताले कमै ध्यान दिएका हुन्छन् । वास्तवमा कुनै पनि पार्टीलाई चिनाउने मुख्य कुरा भनेको उसको संगठनात्मक शक्ति र सदस्य संख्याभन्दा उसको समग्र राजनीतिक दर्शन नै हो । उदाहरणका लागि राष्ट्रिय जनमोर्चा र मजदूर किसानजस्ता पार्टीहरू तुलनात्मक रूपमा सानै भए पनि राष्ट्रिय राजनीतिमा महŒवपूर्ण स्थान राख्छन् । तिनीहरूले तुलनात्मक रूपमा कम ठाउँमा जिते पनि उनीहरूले बोकेको राजनीतिले गर्दा राष्ट्रिय राजनीतिमा महŒवपूर्ण स्थान रहन्छ । ठूला पार्टीहरूले धेरै ठाउँमा जिते पनि राजनीति ठीक नभएमा समग्रमा देश र जनताको भलो हुँदैन ।
भर्खरै सम्पन्न निर्वाचनको प्रसंग चल्दा धेरै मान्छेले राष्ट्रिय जनमोर्चा एउटा सानो पार्टी भएकाले यसको पछाडि लाग्नु कुनै बुद्धिमानी नहुने कुरा गरे । हो, आज नेपालमा देखिएको यही मनोवृत्तिले गर्दा देश झनझन गरिब, परजीवी र कुनै पनि बेला विखण्डनको शिकार हुने संघारमा पुगेको छ । थोरैले मात्र राजमोको राजनीति र दर्शन अरूको भन्दा बेग्लै छ भन्ने कुरामा ध्यान पु¥याउँछन् । सरसर्ती हेर्दा प्रश्न राख्नु स्वाभाविक हो । तर गहिरिएर हेर्दा राजमो अन्य राजनीतिक पार्टीभन्दा अधारभूत रूपमा नै फरक छ । अन्य पार्टीले जस्तै त्यस पार्टीले तात्कालिक लाभ हानीको अधारमा नीति निर्माण गरेको पाइँदैन । त्यसो भएको भए सबै पार्टीले संघीयतालाई अपरिहार्य सत्य मान्दा त्यस पार्टीले पनि त्यस्तै गथ्र्यो होला । कतिपय ठूला भनिने दलहरू राष्ट्रिय अखण्डता र सार्वभौमिकताको प्रश्नमा अत्यन्तै ढुलमूल र अवसरवादी प्रकारका छन् भने यो पार्टीले निरन्तर देशको स्वाधीनताको पक्षमा आवाज उठाएको र त्यसमाथि खतरा मडारिरहेको कुरालाई उजागर गरिरहेको पाइन्छ । उसले प्रजातन्त्र र गणतन्त्रलाई जुवामा च्याँखे थाप्नेजस्तै गरी अवसरवादी प्रकारले व्याख्या गरेको छैन । राजमोले संविधानसभाको निर्वाचनलाई सत्तामा जाने साधनको रूपमा भन्दा पनि जनतालाई सार्वभौम बनाउने साधनको रूपमा लिएर २०४६ सालको राजनीतिक परिवर्तनपछि संसदीय निर्वाचनमा नगई पहिला संविधानसभाको निर्वाचनमा जानुपर्छ भनेको थियो ।
विगतको संविधानसभामा यसका चार सदस्य मात्र थिए र तिनीहरूले निरन्तर संविधानसभामा सभासद्हरूले नै संविधान बनाउनुपर्छ भनी आवाज बुलन्द गरेका थिए । त्यतिबेला उल्लेख्य संख्या नहुँदा उनीहरूको आवाजले मात्र संविधान बन्न सकेन । तर यसो भए पनि उनीहरू कुनै प्रकारको अनैतिक एवं भ्रष्टाचारको मामिलामा मुछिएनन् र निरन्तर ठूला भनिने पार्टीका नेताहरूलाई सचेत गराइरहे । त्यसैगरी राजमोले मात्र माओवादीद्वारा चलाइएको र उनीहरूले भन्ने गरेको जनयुद्ध वास्तवमा जनताको मुक्तिका लागि नभई अवसरवादी प्रकारले चलाइएको उग्रवामपन्थी भड्काव हो भनी सुरूदेखि नै भनेको थियो र पछिका घटनाक्रमहरूले राजमोको विश्लेषणलाई सत्य साबित गरिदियो । हिजोका क्रान्तिकारीहरू भनिएका पार्टीहरू सत्तामा त गए तर देशमा जनताको जीवनस्तर र राष्ट्रको स्वाधीनतालाई सुदृढ बनाउने काममा उनीहरूले केही गर्न सकेनन् । त्यसैले राजमोले केवल व्यक्तिगत हितका लागि सत्तामा गई सरकारी सुविधाको उपयोग गर्ने कुराको विरोध गर्दै आएको छ ।
सत्तामा गएर पनि केही गर्न नसकिने अवस्थामा राजमोले त्यस्तो अवसरलाई व्यक्तिगत लाभका लागि प्रयोग गर्न खोज्दैन । राजमोको चुनावी घोषणापत्रमा त देशको सामाजिक आर्थिक अवस्थामा कायापलट गरी देशलाई आत्मनिर्भर बनाई देशमा रहेको बेरोजगारी र गरिबीलाई अन्त्य गर्ने कुरा उल्लेख छ । सत्तामा गएको खण्डमा उसले जनवादी व्यवस्थालाई त लागू गर्न सक्दैन तर तत्कालिक रूपमा देश र जनताको पक्षमा धेरै काम गर्न सक्छ र प्राप्त गणतन्त्रलाई सुदृढ बनाई प्रजातान्त्रिक व्यवस्थालाई स्थायित्व दिन सक्छ ।
देशमा शक्तिको विकेन्द्रीकरण गरी स्थानीय रूपमा कुनै जाति विशेषको बाहुल्यता रहेको ठाउँमा स्वशासनको व्यवस्था गरी केन्द्रको मात्रै मुख ताक्ने व्यवस्थाको अन्त्य गर्ने यसको लक्ष्य छ । अहिले गणतन्त्रलाई संस्थागत गर्नुभन्दा पनि देशलाई जातीय बिग्रहमा लैजान खोजिएको अवस्थामा राजमोले देशलाई यस्तो विभाजनको खतराबाट मुक्त गराउन खोजेको छ । यो पार्टीले तुरून्तै जानवादी क्रान्ति गर्नुपर्छ र तत्कालिक सुधार र प्रगतिका कदमहरूको विरोध गर्नुपर्छ भन्दैन । अहिलेको संसदीय व्यवस्थालाई उसले तुलनात्मक रूपमा प्रगतिशील ठान्छ र यसै व्यवस्थाबाट हुन सक्ने जनपक्षीय कार्यहरूलाई सम्पन्न गर्नुपर्छ भन्ने विचार राख्छ । यसले अन्य पार्टीहरूसँग पनि नीतिगत रूपमा मिल्न सकिने कुरामा मिलेर जनताको पक्षमा आवश्यक सुधारका कार्यक्रमहरू ल्याउने कुरामा विश्वास राख्छ । कुनै पार्टीलाई यसले नीति र कार्यक्रमको आधारमा मूल्यांकन गर्ने हुँदा आवश्यकतानुसार एकता र संघर्ष गर्ने यसको नीति रहिआएको छ । यसले निर्वाचन जसरी पनि जित्नुपर्छ भन्ने विचार राख्दैन बरू जनतालाई आÏनो विचारबाट विश्वस्त बनाएर मात्र निर्वाचनमा विजय हासिल गर्नुपर्छ भन्ने मान्यता बोकेको छ ।
आज राजमोको उपरोक्त नीतिहरूको समर्थन गर्ने जनता छन् तर त्यो पार्टी सानो भएकाले त्यसमा लागेर व्यक्तिगत लाभ नहुनेदेखि अन्य पार्टीहरूलाई मत दिन पुग्छन् । यही व्यक्तिगत हितलाई माथि राख्दा आज देश यस्तो असफल राष्ट्रको श्रेणीमा पुग्न लागेको छ । तैपनि हामीहरू तिनै पार्टीहरूलाई पुनः सत्तामा लैजाँदै छौं जसले देशलाई जातीय विभाजनको दिशामा डो¥याइरहेका छन् । फेरि पनि तिनै पार्टीहरूलाई पुरस्कृत गर्नु भनेको उनीहरूलाई जे गरे पनि हुँदोरहेछ भन्ने कुराको लाइसेन्स दिनुजस्तै हो । आजको मुख्य प्रश्न कुन पार्टी ठूलो छ भन्ने भन्दा पनि कुन पार्टीले देश र जनताको पक्षमा काम गर्ला भन्ने हो । अझै पनि हामीले पार्टीको आकार मात्र हे¥यौं र उसको गुणस्तरमा ध्यान दिएनौं भने देशले कहिल्यै काँचुली फेर्न पाउनेछैन । आज एकातिर एकथरी पार्टीहरू निर्वाचनलाई माध्यम बनाई पुनः सत्तामा गएर पार्टीगत एवं व्यक्तिगत हित साधना गर्ने सुरमा छन् । केही अर्कोथरी पार्टीहरू निर्वाचनलाई बहिष्कार गरी जनतालाई सुसूचित गर्ने अवसरबाट टाढा हुँदै छन् । राजमोले भने कतिपय विषयहरूमा गम्भीर असहमति हुँदाहुँदै पनि निर्वाचनलाई जनतासमक्ष जाने एउटा माध्यमको रूपमा लिएको छ । यसैगरी संघीयता र त्यसमा पनि जातीय संघीयताबाट देशमा आइपर्न सक्ने संकटलगायत नेपालमा बढ्दै गइरहेको विदेशी हस्तक्षेपको विरोधमा पनि जनतालाई प्रशिक्षित गर्ने लक्ष्य यसले राखेको छ ।
राजमोले मात्र माओवादीद्वारा चलाइएको र उनीहरूले भन्ने गरेको जनयुद्ध वास्तवमा जनताको मुक्तिका लागि नभई अवसरवादी प्रकारले चलाइएको उग्रवामपन्थी भड्काव हो भनी सुरूदेखि नै भनेको थियो र पछिका घटनाक्रमहरूले राजमोको विश्लेषणलाई सत्य साबित गरिदियो
गत संविधानसभामा केवल चार सभासद् मात्र हुँदा पनि राजमोले एउटा छुट्टै पहिचान दिन सकेको उदाहरण हामीसमक्ष छ । त्यसैगरी यसका सदस्यहरूले बिप्पा सम्झौता र नागरिकतासम्बन्धी नयाँ व्यवस्था तथा गत कालमा भएका र उठाइएका कदमहरूबाट देशलाई लामो समयसम्म पर्न सक्ने नराम्रो प्रभावको बारेमा जनतालाई अवगत गराउन ठूलो भूमिका खेलेको छ । यी सबै विषयमा राजमोले प्रस्ट धारणा राख्दै आएको छ । अन्य पार्टीमा जस्तो ढुलमूले प्रवृत्ति यसमा नभएकाले यसका नीति तथा दर्शन देश र जनताको पक्षमा देखिन्छ । यसको उदाहरणको रूपमा अहिलेको व्यवस्थापिका–संसद्मा रहेका तीन सदस्यहरूको भूमिका लिन सकिन्छ । उनीहरूले निरन्तर रूपमा राष्ट्रियता र जनजीविकाको प्रश्नमा दृढ अडान राखी देश र जनताको पक्षमा आवाज उठाउँदै आएका छन् ।
आज यो कुरा प्रस्ट भइसकेको छ, देशको भविष्यका लागि मुख्य भूमिका असल राजनीतिको हुन्छ, न कि गलत नीति लिएका ठूलो आकारका पार्टीको । तर अहिलेको अवस्थामा नेपालमा मात्र नभई संसारका अन्य देशमा पनि मानिस ठूलो पार्टीको पछाडि लागेका हुन्छन् । सत्य र तथ्य कुरा ठूलो पार्टीमा हुन्छ भन्ने होइन । तर जनताले विवशतावश अथवा राजनीतिक चेतनाको अभावले गर्दा यो वा त्यो ठूलो पार्टीलाई पालैपालो गरी भोट दिन्छन् । तर उनीहरूका कार्यक्रममा ताŒिवक अन्तर नहुने हुँदा निर्वाचनपछि जनता ‘जुन जोगी आए पनि कानै चिरेको’ भन्ने उखान चरितार्थ भएको अनुभव गर्छन् । जनताले विवेक प्रयोग नगर्दासम्म विभिन्न झुटा नाराहरू दिएर फेरि पनि ठूला पार्टीहरू नै सत्तामा आउनेछन् । जनताले नीति र राजनीतिको आधारमा समर्थन र विरोध गर्न थालेपछि पार्टीको आकारको आधारमा मूल्यांकन गर्ने परिपाटी अन्त्य हुनेछ । यसो भनेर कुनै पार्टी विशेषप्रति पूर्वाग्रही हुन खोजेको होइन । तर अहिलेको अवस्थामा देशले भोगेको पीडाबाट मुक्ति दिलाउनका लागि सानो पार्टी भए पनि राजनीतिको आधारमा भोट दिनुपर्छ भन्ने आशय राख्न खोजिएको हो । यस अर्थमा सानै पार्टी भनिए पनि राष्ट्रिय जनमोर्चाले पाएको मत र जितेको संख्याले देशको राजीतिमा ठूलो सकारात्मक असर पार्नेछ ।
(लेखक राजमोनिकट अखिल नेपाल बृद्धिजीवी संघका अध्यक्ष हुन्)
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij