२०८३ मंसिर ८ सोमबार

Nov 23 2026 Monday

  • २०८३ मंसिर ८ सोमबार

२०८३ मंसिर ८ सोमबार

काठमाडौंमा सम्भव छ त स्काई रेल ?

काठमाडौंमा सम्भव छ त स्काई रेल ?


काठमाडौं । साइमेक्स इंक कम्पनीले काठमाडौं उपत्यकामा स्काई रेल सञ्चालन गर्न सकिने निष्कर्षसहितको प्रतिवेदन काठमाडौं महानगरपालिकालाई बुझाएको छ । काठमाडौं महानगरपालिकाले करिब ६ महिनाअघि काठमाडौंमा स्काई रेल सञ्चालनको सम्भाव्यताबारे साइमेक्स इंक कम्पनीलाई अध्ययन गर्ने जिम्मेवारी दिएको थियो । उसले मंगलबार स्काई रेल सञ्चालन गर्न सकिने निष्कर्षसहितको प्रारम्भिक प्रतिवेदन महानगरपालिकालाई बुझाएको हो ।

महानगरपालिकाले मेट्रो रेलभन्दा स्काई रेल सञ्चालन सहज हुने अनुमान गर्दै यसका लागि साइमेक्सलाई अध्ययन गर्ने जिम्मा दिएको थियो । साइमेक्सले तीन महिनाभित्रमा प्रारम्भिक अध्ययन प्रतिवेदन बुझाउने साइमेक्स र महानगरपालिकाबीच गत २६ माघमा भएको सम्झौतापत्रमा उल्लेख छ । तर साइमेक्सले ६ महिनापछि मात्रै प्रारम्भिक अध्ययन प्रतिवेदन बुझाएको छ । जसमा पहिलो चरणमा तिलगंगादेखि कलंकीसम्म स्काई रेल चलाउन सकिने उल्लेख गरिएको छ ।

जसको रुट तिलगंगाबाट सुरु भएर एयरपोर्ट, तिनकुने, नयाँ बानेश्वर, माइतीघर, शहीदगेट, त्रिपुरेश्वर, कालिमाटी, रविभवन हुँदै कलंकीसम्म राखिएको छ । यही रुटलाई भविष्यमा कीर्तिपुरसम्म लम्ब्याउनसमेत सकिने प्रतिवेदनमा उल्लेख छ ।

यसैगरी महाराजगन्ज नारायणगोपाल चोकबाट लाजिम्पाट, लैनचौर, रत्नपार्क, सातदोबाटो हुँदै ललितपुरको गोदावरीसम्म स्काई रेल सञ्चालन गर्न सकिने उल्लेख छ । चक्रपथ परिक्रमाको रुटमा पनि स्काई रेल सञ्चालन गर्न सकिने साइमेक्सले जनाएको छ । साइमेक्सका अनुसार १० किलोमिटर स्काई रेलको लिक बनाउन ३० करोड अमेरिकी डलर खर्च लाग्नेछ । १० किलोमिटर लिक बनाउन दुई वर्ष लाग्नेछ ।

मेट्रो रेलको तुलनामा स्काई रेल सञ्चालनका लागि २० प्रतिशत खर्च कम लाग्ने साइमेक्सले दाबी गरेको छ । स्काई रेलको एउटा डिब्बामा २ सय जना यात्रु अट्नेछन् भने एउटा स्काई रेलमा आठवटासम्म डिब्बा जोड्न सकिने प्रतिवेदनमा उल्लेख छ । तर काठमाडौं महानगरपालिकामा सञ्चालन गरिने स्काई रेलको हकमा भने बढीमा तीन वटा मात्रै डिब्बा जोड्न सकिने अध्ययनले देखाएको छ ।

प्रतिवेदन भन्छ

तर १० किलोमिटर बनाउन ३० करोड अमेरिकी डलर, दुई वर्ष समय

आठ डिब्बा, हरेक डिब्बामा २ सय यात्रु

काठमाडौंमा तीन डिब्बा मात्र सम्भव

साइमेक्सको प्रतिवेदन बुभ्दै महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले ललितपुर महानगरपालिकासहित छिमेकी नगरपालिकाहरूसँग समन्वय गरेर उपयुक्त प्रस्ताव अघि बढाइने बताए । साइमेक्सका अध्यक्ष प्रसिद्धबहादुर पाण्डेले परियोजनाको कुल लागतलगायत अन्य विवरणहरू विस्तृत परियोजना प्रतिवेदनमा मात्रै थाहा हुने बताए । विस्तृत प्रतिवेदन स्काई रेलको स्टेसनको संख्या, सडक संरचनालगायतको आधारमा निर्धारण हुने उनले बताए ।

महानगरपालिकासँग भएको सम्झौताअनुसार साइमेक्सले सम्झौता मितिदेखि एक वर्षभित्रमा स्काई रेल सञ्चालनबारे विस्तृत अध्ययन गरी प्रतिवेदन बुझाउने उल्लेख छ । पाण्डेले सम्झौतापत्रमा उल्लेख भएको समयावधिमै विस्तृत अध्ययन प्रतिवेदन दिइने बताए ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij