
चितवन । मतपत्र च्यातिएपछि अन्योलमा रहेको चितवनको भरतपुर महानगरपालिकाका प्रमुख पदका उमेदवारहरु पर्ख र हेरको अबस्थामा पुगेका छन् ।
भरतपुर वडा नम्बर १९ मा एक चरणको चुनावी अभियान सक्दा समेत सर्वाच्चबाट कुनै निर्णय नआएपछि अहिले उमेदवारहरु अदालतको निर्णय कुर्न बाध्य भएका हुन् ।
चुनावी अभियान कै क्रममा निर्णय आउने छ भनेर सक्रिय भएका उनीहरु मतपत्र च्यातिएको ५० दिन वित्दा समेत कुनै निचोड आएको छैन ।
निर्वाचन सम्पन्न भएको आज ६४ दिन पुग्दा पनि उमेदवार अन्योलमा छन् । अन्य वडामा विजयी भएका जनप्रतिनिधिहरु समेत बेकामे भएका छन् । दोस्रो चरणको निर्वाचनबाट आएका जनप्रतिनिधिहरुले नगर र गाउँसभा गरेर बजेट बनाई विकासका योजना ल्याईसके । भरतपुर १९ भने बन्धक जस्तै भएको छ ।
मुख्यगरी सर्वाच्च अदालतले समयमै फैसला नगर्दा समस्या आएको हो । भरतपुर महानगरको काँग्रेस र माओवादी केन्द्रबाट संयुक्त उम्मेदवार रेणु दाहाल अदालतको निर्णय ढिलाहुँदै सबै कामहरु रोकिएको महसुस भएको बताउँछिन् । “जे हुनु छ, छिटो भैदिए हुन्थ्यो,” दाहालले भनिन्, “समय लम्याउनुको अर्थ छैन ।”
उनले विगतको नजिर अनुसार पुनः मतदान कै निर्णय आउने बताईन् ।
गएको जेठ १४ गते पौने १२ बजे राति भरतपुर १९ को मतगणना कै क्रममा मतपत्र च्यातिएको थियो । पछि अनुगमन गर्दा ९० मतपत्र च्यातिएको पाईएको थियो ।
गणनाको अन्तिम अबस्थामा पुगेका बेला मतपत्र च्यातिएपछि निर्वाचन आयोगले भरतपुर वडा नम्बर १९ मा पुनः मतदानको निर्णय गरेको थियो ।
आयोगको निर्णय विरुद्ध एमालेले पुनःमतगणनाको माग गर्दै सर्वोच्चमा मुद्दा हालेको छ । एमाले भरतपुर १९ का सदस्यका उमेदवार गुञ्जमान विक र अधिवक्ता तुलसीराम पाण्डेले मुद्दा दर्ता गरेपछि सर्वाेच्च अदालतले मतदान अघि नबढाउन आदेश दिएको उक्त मुद्दा विचाराधिन छ ।
पटक पटक सुनुवाई सरेको मुद्दाको पेशी आजका लागि तोकिएको छ । यसअघि जेठ २८, ३०, असार ६, २३ का पेशी त्यसै गुज्रिए । असार ६ गतेको आदेशअनुसार निर्वाचन सम्बन्धी र मतपत्र च्यातिएको विषयका सक्कल झिकाउन आदेश भएको थियो ।
सो सक्कल एकसाता पछि असार १३ गते मुख्य निर्वाचन अधिकृत कविप्रसाद न्यौपाने सहतिको टोलीले सर्वाेच्चमा पेश गरेको थियो । त्यसपछि २३ गतेको पेशी गुज्रिएर आजका लागि तोकिएको छ ।
आज केही आउँछ की भन्ने आशा सबैतिर भएपनि सर्वाेच्चको विगतको काम गराईले होला भन्ने लागेको छैन ।
भरतपुर महानगरको प्रमुखका उम्मेदवार देवीप्रसाद ज्ञवाली ढिलासुस्तीले उदासिनता बढाएको बताउँछन् । उनले विधि प्रक्रिया अनुसार गर्ने हो भने पुन मतगणना कै निर्णय आउने बताए ।
जसरी मतपत्र कब्जा भनिएको छ, त्यो नभएको भन्दै उनले राजनीतिक चाहना जोडिएमा जसले मत पत्र च्यातेको छ उसैको पक्षमा फैसला हुने दावी गरे ।
एमालेले माओवादीका कार्यकर्ताले मतपत्र च्यातेको आरोप लगाएको छ भने माओवादीले एमालेले कब्जा गर्न लाग्दा मतपत्रको रक्षा गर्ने क्रममा च्यातिएको दावी गरेको छ ।
भरतपुर १९ मा १४ गते राती वडा नम्बर १९ को खसेको २ हजार ८९७ मतमा १८०९ मत गनिएको थियो । त्यो बेलामा देवी ज्ञवालीले ४१ हजार ६४१ मत ल्याएका थिए भने रेणुले ४० हजार ९०८ मत ल्याएकी थिईन् । उनीहरुको मतान्तर ७३३ थियो ।
अन्य थप मतपत्र गन्दै गर्दा मतपत्र च्यातिएको थियो । भरतपुर १९को मतपत्र निर्वाचन आयोगले बदर गरेपछि १९ गन्नु अघिको मतान्तर ७८४ छ । भरतपुर २० मा खसेको मत ३ हजार ३०२ छ । ३८३६ मतान्तरलाइ घटाउँदै रेणु दाहालले ७८४ मा झारेकी हुन् ।
भरतपुर १९ र २० बढी काँग्रेसको बाहुल्यता भएको क्षेत्र भएकाले ७८४ मत आउने र जित्ने दावी काँग्रेस माओवादीको थियो । तर भरतपुर १९ को १८०९ मत गन्दा रेणुले त्यो वडामा जम्मा ५१ मत मात्रै बढी पाएकी थिईन् । भरतपुर १९ मा कुल मतदाता ३ हजार ७९७ छ ।
अदालतमा विचाराधिन मुद्धा भए पनि मतदानकै निर्णय अउने विस्वारमा अन्यत्र जाने भोट जोगाउँदै र भएका मतदाता शतप्रतिशत भोट झार्ने योजना सहित गठबन्धन एकचरणको चुनावी अभियान सकेको छ । यता एमालेले पनि घटनाको भण्डाफोर सहित चुनावी रणनीति बोकेर चुनावी अभियान सम्पन्न गरेको छ ।
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij