
काठमाडौं : संघीय समाजवादी फोरम नेपालले प्रमुख तीन दललाई पहिचानविरोधी पार्टीको संज्ञा दिँदै झुठा कुरा गर्दै भ्रम फैलाएर जनताको मत लिइरहेको आरोप लगाएको छ । पहिलो र दोस्रो चरणको स्थानीय तह निर्वाचनको समीक्षा गर्न बसेको पार्टीको राजनीति समिति बैठकले यस्तो निष्कर्ष निकालेको हो ।
फोरम नेपालले सत्तारूढ दल नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्रलाई ‘सम्झौतावादी’ र प्रमुख प्रतिपक्षी दल नेकपा एमालेलाई ‘मण्डले र खोक्रो राष्ट्रवादी’को संज्ञा दिएको छ । फोरम नेपालका उपाध्यक्ष रकम चेम्जोङले प्रमुख तीन दललाई पहिचानविरोधी पार्टी रहेको बताउँदै यिनीहरूबाट सचेत हुनुपर्ने निष्कर्ष निकालेको बताए ।
‘कांग्रेस, माओवादी सम्झौतावादी र एमालेको मण्डले एवं खोक्रो राष्ट्रवादले जनताले धोखा पाएका छन्,’ चेम्जोङले राजधानीसँग भने, ‘झुठा कुरा गरेर जनतामा भ्रम फैलाउँदै यिनीहरूले मत लिँदै छन्, शक्ति, सत्ता र पैसाको व्यापक दुरुपयोग गरेका छन् ।’
प्रमुख तीन दलले भ्रम फैलाएकाले स्थानीय तहमा आफ्नो पार्टीले सोचेजस्तो परिणाम ल्याउन नसकेको संघीय फोरमको निष्कर्ष छ । फोरम नेपालका महासचिव रामसहाय यादवले पार्टीका विरोधमा फैलाइएको भ्रम चिर्न नसक्दा अपेक्षाकृत परिणाम ल्याउन नसकेको बताए । २ असोजमा प्रदेश २ मा हुने स्थानीय तहको निर्वाचनमा ती सबै भ्रम चिर्दै राम्रो नतिजा ल्याउन पार्टी आक्रामक रूपमा प्रस्तुत हुने यादवले बताए ।
फोरम नेपालको निष्कर्ष
‘मधेसी, जनजाति आदिवासी, थारू लगायतले गरेको आन्दोलनलाई कमजोर बनाउने, भ्रम फैलाउन र उनीहरूको मत लिने काम प्रमुख दलले गर्दैछन्,’ यादवले भने, ‘पार्टीविरुद्ध फैलाइएको आरोप चिर्छाैं र यिनीहरूको वास्तविकता जनतामा राख्दै अहिले हामी प्रदेश २ को निर्वाचनको तयारीमा जुट्छौं ।’
मधेस आन्दोलनलाई कमजोर नबनाउन राष्ट्रिय जनता पार्टी नेपालसँग आग्रह गर्दै यादवले तेस्रो चरणको स्थानीय तह निर्वाचनमा फोरम नेपाल एउटै गठबन्धन निर्माण गरेर निर्वाचनमा सहभागी हुन तयार रहेको बताए ।
तर राजपा नेपाले संविधान संशोधन, स्थानीय तहको संख्या जनसंख्याको आधारमा वृद्धि गर्नुपर्नेलगायतका माग गर्दै निर्वाचन बहिष्कार गरी आन्दोलनमा रहेको छ । राजपा नेपालसँगै आन्दोलनमा रहेको फोरम नेपालले निर्वाचनलाई पनि संघर्षको अर्को रूप भन्दै आन्दोलन छोडेर निर्वाचनमा सहभागी भएको हो । ‘राजपा नेपाल र हामीले आन्दोलन सँगै गर्यौं, हाम्रो पहिलो प्राथमिकता राजपासँगै गठबन्धन निर्माण गरेर निर्वाचनमा सहभागी हुने हो,’ यादवले भने, ‘आन्दोलनलाई कमजोर बनाउन वा मधेसी, आदिवासी जनजाति, थारूविरोधी पार्टीलाई सहयोग पुग्ने काम राजपाले गर्दैन भन्ने विश्वास छ ।’
फोरम नेपालका राजनीतिक समिति सदस्य खगेन्द्र माखिमले पार्टीको विरोधमा फैलाइएका सबै प्रकारका भ्रम चिर्दै तेस्रो चरणको निर्वाचनमा सशक्त रूपमा सहभागी हुने बताए ।
शुक्रबारदेखि सुरु फोरम नेपालको राजनीतिक समिति बैठक आइतबार सम्पन्न हुँदै छ । बैठकमा निर्वाचनको समीक्षासँगै वर्तमान राजनीति र भावी रणनीतिको विषयमा पनि विशेष छलफल हुने सो पार्टीले जनाएको छ ।
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij