२०८३ मंसिर ८ सोमबार

Nov 23 2026 Monday

  • २०८३ मंसिर ८ सोमबार

२०८३ मंसिर ८ सोमबार

पोखरामा पनि साउनदेखि हर्न निषेध

पोखरामा पनि साउनदेखि हर्न निषेध

पोखरा । राजधानीपछि पोखरामा पनि सवारीको हर्न निषेध गरिने भएको छ । यसका लागि बजार क्षेत्रका सडकमा मेटिएका जेब्रा क्रस रंगाउने, हर्न निषेधका ब्यानर लगाउने र ट्राफिक उपस्थिति बढाउने काम सुरू भएको छ ।

पोखराको पर्यटकीय क्षेत्र लेकसाइडमा दुइ वर्ष अघि नै हर्न निषेध घोषणा भएपनि पालना भएको छैन । यसपटक ट्राफिक प्रहरीको सक्रियतामा पोखरा–लेखनाथ महानगरपालिकाले साउनदेखि हर्न निषेध कार्यान्वयन गराउने भएको हो ।

‘पर्यटकीय शहर भएकाले सुनमा सुगन्ध थप्न पनि हर्न निषेध जरुरी भएको हो,’ महानगरका मेयर मानबहादुर जिसीले भने, ‘सभ्य शहरमा विशेष कारणबाहेक गाडीका हर्न बज्दैनन् ।’ हर्न निषेधलाई व्यवहारमा ल्याउन सके शहर शान्त हुने उनले बताए । यसका लागि महानगरपालिकालाई सबैको सहयोग चाहिने उल्लेख गर्दै उनले भने ‘महानगरपालिकाले आºनो जिम्माको सडकमा ट्राफिकको सल्लाहअनुसार जेब्राक्रस बनाउने र खाल्डाखुल्डी पुर्ने काम सुरू गरिसकेको छ ।’ सडकलाई यात्रुमैत्री बनाउन आफूहरू गम्भिर रहेको उनले बताए ।

४ नम्बर प्रदेशको केन्द्र मानिएको पोखरामा सवारीको निकै चाप छ । दैनिक सयवटा हाराहारीमा नगर बस, तीन सयवटा ट्याक्सी, हजारवटा सय हाराहारी निजी गाडी चल्छन् भने राजधानी र अन्य जिल्लाका लागि चल्ने बसको संख्या एकहजार हाराहारीमा छ । उल्लेख्य संख्यामा मालवाहक ट्रक पनि ओहोरदोहोर गर्छन् । पृथ्वीचोक, नयाँबजार, महेन्द्रपुल, चिप्लेढुंगा र जिरोकिमी क्षेत्रमा सवारी चाप धेरै हुन्छ । तर, तुलनात्मकरूपमा सडक सुधारको काम निकै ढिलो भएको छ ।

वर्षाको पानी बगेर जाने ढलनिकासको व्यवस्थापन राम्रो नभएकाले पानी पर्दा नगरका धेरै ठाउँ खोलामा परिणत हुन्छन् । वर्षाको पानीले सडक बिगारीरहन्छ । पुर्वाधार व्यवस्थापन सुदृढ नभइ ‘हर्न निषेध’ को नियम महानगरका लागि कार्यान्वयन गराउन भने सजिलो नरहेको सरोकारवालाहरु बताउछन् । अपर्याप्त ट्राफिक जनशक्ति, धेरै ठाउँ बिग्रेका सडक, सवारी चापका कारण भइरहने जामलगायत चुनौति छन् ।

प्रहरी नायव निरीक्षक शिवबहादुर थापाले महानगरको समन्वयमा जिल्ला ट्राफिकले नियम कार्यान्वयन गराउन तयारी थालिसकेको बताए । ‘सबैले प्रयास गरे हर्न निषेध ठूलो कुरा होइन,’ उनले भने, ‘सुरूका केही साता बानी पर्न अप्ठेरो होला । पछि सबैलाई नियम ठीक हो भन्ने लाग्ने नै छ । ’ उनले यसका लागि प्रचारप्रसार थालिएको बताए ।

स्याङजा, बागलुङ र तनहुँ लगायतका नाकामा होर्डिङबोर्ड राख्ने र नगरभित्र चल्ने बसमा जानकारीमुलक ब्यानर लगाउने तयारी भइरहेको जानकारी थापाले दिए । घुम्ती, मोड, र दुर्घटनाको सम्भावित जोखिम भनिएका क्षेत्रमा भने हर्न बजाउन दिइने उनले बताए । निषेधित क्षेत्रमा हर्न बजाएमा ५ सयदेखि १५ सयसम्म जरिवाना पनि लिने तयारी गरिएको छ ।

हर्न निषेधको तयारीलाई नगरवासीले मिश्रित प्रतिक्रिया दिएका छन् । ‘अभियान राम्रो हो,’ नयाँबजारका उत्तम जोशीले भने, ‘तर, सार्वजनिक सेवाका गाडीले जथाभावी रोकेर पेसेन्जर उकाल्ने–उतार्ने गर्छन्, त्यो पनि रोक्नुपर्छ ।’ बजार क्षेत्रमा त्यस्ता गाडीले जथाभावी रोकेर यात्रु चढाउने–उतार्ने गर्दा अघिपछिका गाडीले हर्न बजाउने उनले बताए । हर्न निषेध क्षेत्र भएमा हर्नले तर्सिने गरेका विरामी, वृद्धवृद्धा, केटाकेटीलाई सञ्चो हुने लामाचौरकी बबिता खनालले बताइन ।

‘बाटोमा होहल्ला गर्ने पनि ट्रयाकमा आउँछन्,’ उनले भनिन् ‘पोखरा शहरलाई शान्त सहर बनाउन मद्दत पुग्छ ।’ लेखनाथका मोहन गुरूङ भने महानगरपालिकामा हर्न निषेधको आवश्यकता नभएको बताउँछन् । ‘हस्पिटल, विद्यालय क्षेत्र वरिपरी मात्रै हर्न निषेध गरे हुन्छ । बाँकी क्षेत्रमा खासै आवश्यक देख्दिन,’ उनले भने, ‘एकैपल्ट सबैतिर निषेध भनिदिँदा नियम लागू गराउन गाह्रै पनि हुन्छ ।’ अभियान सकारात्मक भएपनि सुरूमा खास खास क्षेत्र तोकेर त्यसमा नियम उलङ्घन गर्नेलाई सचेत गराउने गरिए पोखरा भित्रिने, भित्रै चल्ने र बाहिरिने सवारीसाधनका सबै चालकलाई हर्न नबजाउँदा पनि हुने रहेछ भन्ने लाग्ने उनले बताए ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij