
काठमाडौं । एमाले अध्यक्ष केपी ओलीले समानता, एकता र अखण्डताको रक्षा गर्दै देशलाई माया गर्नु खोक्रो राष्ट्रबाद नभएको प्रष्ट्याएका छन् । आइतबार किर्तिपुर नगरपालिकाकोे प्रथम नगरसभालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले एमालेमाथि लगाइँदै आएको खोक्रो राष्ट्रबादको आरोपको खण्डन गर्दै राष्ट्रको चिन्ता गर्ने पार्टी एमालेमात्र भएको बताए ।
फरक प्रशंगमा अध्यक्ष ओलीले प्रदेशको सिमाङकन गर्दा २ नम्बर प्रदेशमा तराईका जिल्लामात्रै राख्नु गलत भएको र आफुले गल्ति स्वीकारीसकेको भन्दै २ नम्बर प्रदेश बनाउँदा तराई र पहाडका जिल्ला समेट्न सकेको भए समस्या नआउने दावी गरे । उनले भने ‘त्यसवेला गल्ती भएकै हो, म पनि गल्ति स्वीकार्छु ।’
मधेसको पहिचन हिन्दी भाषा नभएको दावी गर्दै अध्यक्ष ओलीले मैथिली, भोजपुरी र अवधि रहेको बताए । उनले अस्थिरताकै आडमा केही शक्तिले राजसंस्था फर्काउन लागि परेपनि त्यो योजना सफल नहुने बताए । उनले भने,‘ अझैपनि केही मानिस राजसंस्था फर्काउछौ भनेर लागेका छन् तर सम्भव छैन ।’
स्थानीय निर्वाचनपछि बल्ल सत्ता जनताको हातमा आएको भन्दै पुर्व प्रधानमन्त्री समेत रहेका ओलीले पञ्चायतकालका प्रधानमन्त्री गाई गोठालाको जति हैसियत पनि नभएको टिप्पणी गरे, ‘जा भन्दा कुदिहाल्नुपनेर्, आइज भन्दा फेरी आउनुपर्ने अवस्था अहिले छैन । अधिकारहरु जनतामा बाँडफाँड भएका छन् ।
जनताले निर्वाचित गरेर पठाउँछन यो राम्रो कुरा हो ।’ संयुक्त राष्ट्रका दिगो विकास लक्ष्य पढेर विकासको योजना बनाउन सुझाव दिदै ओलीले औधोगिकरणको विकासका लागि नयाँ टेक्नोलोजिको प्रयोग गर्नुपर्ने बताए ।
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij