
कञ्चनपुर । सुदूरपश्चिमको पहाडी जिल्लामा परेको वर्षाले महाकाली नदीमा पानीको बहाव बढेको छ । नदीमा पानी बहाव बढेपछि भारतीय पक्षले महाकाली पुलमा चारपांग्रे गाडीमा रोक लगाएको छ ।
सामान्यतया पानीको बहाव १ लाख क्यूसेक नाघेपछि पुलको सुरक्षालाई देखाउँदै भारतीय पक्षले चारपांग्रे सवारीसाधन सञ्चालनमा रोक लगाउने गरेको छ ।
बिहान ७ बजेको मापन अनुसार महाकाली नदीमा पानीको बहाव १ लाख २५ हजार ४ सय ४० क्युसेक रहेको इलाका प्रहरी कार्यालय गड्डाचौकीले जनाएको छ । नदीमा पानीको बहाव बढेपछि भारतीय पक्षले बिहान पुलको गेट नखोलेको प्रहरी कार्यालय गड्डाचौकीका इन्र्चाज प्रहरी नायव निरीक्षक कृष्णराज पन्तले जानकारी दिनुभयो । उहाँका अनुसार पानीको बहाव घट्दै गएकाले दिउँसोसम्म गाडी पनि सूचारु हुन सक्ने बताउनुभयो । यसअघि बुधबार अपरान्ह महाकाली नदीको बहाव १ लाख ३२ हजार क्युसेक पुगेको थियो ।
नदीमा पानीको बहाव बढेपछि महाकाली किनार बासिन्दा त्रसित भएका छन् । महाकाली नदीको बाढीका कारण कञ्चनपुरको भुजेला र ओदालीलगायत महाकाली पारीका दोधरा चाँदनीका बस्ती डुवानमा पर्ने गर्दछन् ।
दार्चुलाको माथिल्लो भेगमा पानी परेकाले महाकाली नदीमा पानीको बहाव बढे पनि तत्काल बाढीको खतरा नरहेको जिल्ला आपतकालिन कार्य संचालन केन्द्र कञ्चनपुरले जनाएको छ ।
महाकालीको पानीलाई दार्चुलाको दत्तु र डडेल्धुराको परीगाँउमा मापन गर्ने गरिन्छ भने सोहि मापनका आधारमा तटीय क्षेत्रका बासिन्दालाई बाढीको चेतावनी वा खतराको संकेत दिने गरिन्छ ।
पछिल्लो मापन अनुसार दार्चुलाको दत्तुमा ४ दशमलव २० मिटर पानीको बहाव छ भने डडेल्धुराको परी गाँउमा ४ दशमलव १० मिटर रहेको जिल्ला आपतकालिन कार्य संचालन केन्द्र कञ्चनपुरले केन्द्रले जनाएको छ । केन्द्रका अनुसार दार्चुलाको दत्तुमा ५ दशमलव ७ मिटर चेतावनी र ६ दशमलव ४ मिटर नाघे खतरा मान्ने गरिन्छ । यस्तै, डडेल्धुराको परी गाँउमा पानीको बहाव ५ दशमलव ८ मिटर भए चेतावनी र ७ मिटर नाघे खतरा मान्ने गरिन्छ ।
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij