काठमाडौं । गृहमन्त्री जनार्दन शर्माले सबै मतदान स्थल र मतदान केन्द्रमा सुरक्षा व्यवस्था चुस्त पारिएको हुँदा ढुक्क भएर मतदानमा सहभागी हुन अपिल गर्नुभएको छ ।
मतदान स्थल, मतदान केन्द्र, मतदाता , मतपत्र लगायतको सुरक्षाका लागि तीनवटै सुरक्षा निकाय तयारी अवस्थामा रहेकाले कुनै समस्या नआउने उहाँको दाबी छ ।
पहिलो चरणको चुनावमा भएका घटनाबाट सिक्दै सुरक्षा योजनामा परिमार्जन गरेर योजना बनाइएको र त्यसै अनुसार सम्बन्धित पक्षहरुलाई पनि निर्देशन दिइएको बताउनुभयो ।
उज्यालो रेडियो नेटवर्कसँगको कुराकानीमा गृहमन्त्री शर्माले चुनावमा सहभागी राजनीतिक दलका नेता तथा कार्यकर्तालाई संयमित भइ चुनावको अनुगमन गर्न तथा सुरक्षाकर्मीलाई आफ्नो काम गर्न दिन आग्रह गर्नुभयो ।
यसअघि चुनावको विरोध गर्दै आएका राष्ट्रिय जनता पार्टी र नेपाल कम्युनिष्ट पार्टी समेत स्वतन्त्र रुपमा चुनावमा आएको भन्दै मन्त्री शर्माले मतदानका क्रममा चुनाव विरोधि कुनैपनि गतिविधि हुने सम्भावना नरहेको दाबी गर्नुभयो ।
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij