२०८३ मंसिर ८ सोमबार

Nov 23 2026 Monday

  • २०८३ मंसिर ८ सोमबार

२०८३ मंसिर ८ सोमबार

तीन दशकमा कोरियाले गरेको चमत्कारपूर्ण आर्थिक वृद्धिबाट हामीले के सिक्ने ?

तीन दशकमा कोरियाले गरेको चमत्कारपूर्ण आर्थिक वृद्धिबाट हामीले के सिक्ने ?

सन् १९६० भन्दा अघिसम्म दक्षिण कोरियाको अवस्था अति विपन्न मुलुकको जस्तो थियो । सत्तरीको दशकसम्म नेपालबाट खाद्यान्न लगायतका सहयोग प्राप्त गरेको मुलुक आज संसारको तेह्रौं ठूलो अर्थतन्त्र भएको मुलुक कसरी बन्यो होला ? जम्माजम्मी तीन दशकमा यो चमत्कारपूर्ण आर्थिक वृद्धि कसरी सम्भव भयो ? दक्षिण कोरियाको अध्यायन भ्रमणमा पुगेका हामी सबैका लागि यो चासो र कौतुहलको विषय थियो ।

सन् १९४५ मा जापानी साम्राज्यको चङ्गुलबाट स्वतन्त्र भएपछि कोरिया उत्तर र दक्षिण कोरियामा विभाजित भयो । भूगोल र मान्छेहरुलाई सीमा छुट्यायो । तर, अहिले पनि देख्दा कुन उत्तर कोरियन कुन दक्षिण कोरियन छुट्याउन सकिँदैन । विभाजित भएपछि उत्तरलाई सोभियत रुस र दक्षिण कोरियालाई अमेरिकाले सहयोग गरे । जापानसँगको लडाइँपछि उत्तर कोरिया र दक्षिण कोरियाको आफ्नै लडाईमा पनि लाखौंको ज्यान गएको छ । यी दुई देशबीच सीमा बन्द छ । कतिका श्रीमान श्रीमती, दाजुभाइ, दिदिबहिनी वर्षौंदेखि सीमाको वारिपारि छन् ।

मेहनती कोरियनः
राजनीतिक रुपमा यस्तो हाल भए पनि दक्षिण कोरिया संसारमै सबैभन्दा धेरै इलेक्ट्रोनिक्स र औद्योगित सामान निर्यात गर्ने मुलुकमध्ये पर्छ । दक्षिण कोरियाको आफ्नै प्राकृतिक स्रोत छैन, कच्चा पदार्थ छैन र खनिज छैन । उद्योगपति गुन होले भने – ‘तीस वर्र्षअघिसम्म हामीले साउदी अरब र जर्मनीका उद्योगमा श्रमिकका रुपमा काम गरेका हौं । हामीले त्यहाँबाट सीप र पैसा लिएर आयौं र यहीँ लगानी गर्यौं । हामी चाहान्छौं, कोरिया आएका नेपालीहरुले पनि यसै गरुन् ।’

दक्षिण कोरियामा पार्क चुङ हीलाई आर्थिक क्रान्तिको पिता मानिँदो रहेछ । सन् १९६१ पछि उत्तर कोरियाको अर्थतन्त्रलाई जित्ने संकल्प गरेर वैदेशिक रोजगारीबाट आएको सबै पैसालाई ठूलाठूला राजमार्ग र औद्योगिक विकासमा लगाए सम्भव छ भन्ने उनको मान्यताका कारण आज इलेक्ट्रोनिक्स सामान मात्र होइन अन्य औद्योगिक उत्पादन पनि निर्यात गरेर कोरिया समृद्ध बन्न सकेको छ । अहिले कोरियाले चीन जापानजस्ता ठूलो अर्थतन्त्रलाई पनि चुनौति दिएको छ ।

आर्थिक विकासको लागि लोकतन्त्र आवश्यक छ कि छैन ? संसारका विकसित मुलुकलाई हेर्ने हो भने विपन्नता देखिन्छ , चीन, सिंगापुरमा राजनीतिक स्वतन्त्रता नभएपनि आर्थिक विकास भयो तर, भारत, फिलिपिन्सजस्ता देशमा राजनीतिक स्वतन्त्रता भएर पनि लामो समयसम्म आर्थिक विकास भएन । बजारका हिसाबले चीन जति भारत खुल्ला छैन । राजनीतिक हिसावले भारत जति चीन खुल्ला छैन । यसले राजनीतिक स्वतन्त्रताले मात्र आर्थिक विकास नहुने देखाउँछ । जापान, कोरिया र अमेरिकाले लोकतन्त्र र विकासलाई धेरै हदसम्मसँगै लगेको मानिन्छ तर दक्षिण कोरियामा पूर्ण लोकतन्त्रक छ भनेर मान्न सकिन्न । जुन लोकतन्त्रमा राजनीतिक दलहरु अत्याधिक मात्रामा शक्तिशाली छन्, तिनीहरुले मुलुकको सुशासन बिगार्ने गर्छन् । कानुन हातमा लिएर शक्ति प्रदर्शन गर्दा तत्काल तिनीहरु बलिया मानिएलान् तर कालान्तरमा तिनीहरु कमजोर हुन्छन् र मुलुकलाई कमजोर बनाउँछन् ।

दक्षिण कोरियाली कामदारहरु संसारमा सबैभन्दा बढी काम गर्नेमा पर्छन् । काम नसकिएसम्म समय नहेरी काम गर्छन् । दक्षिण कोरियाको आर्थिक विकास गराउने नेताहरुप्रति कतिले गर्व गर्छन् भने कतिले लज्जा ! दक्षिण कोरिया बनेको छ दशकभन्दा लामो समयमा कहिले लोकतन्त्र, कहिले सैनिक त कहिले तानाशाह शासन थियो । सन् १९८८ पछि मात्र लोकतन्त्रको संस्थागत विकास भएको हो ।

जनतालाई पहिला विकास दिने कि समानता भन्ने बहस पनि छ । बेरोजगारी, असमानता र विकास सँगै हिँड्छन् र अत्याधिक विकास भयो भने असमानता र बेरोजगारी घट्दै जान्छ तर समाप्त हुँदैन भन्ने कोरियालीहरुको विश्वास रहेको छ । सत्तरीको दशकमा २३ सय अमेरिकी डलर प्रतिव्यक्ति आम्दानी भएको कोरिया सजिलै ३२ हजार ८ सयमा पुगेको होइन । तर आज विकासको परिभाष बदलिएको छ । औद्यौगिक विकास र आर्थिक वृद्धि मात्र विकास होइन, उन्नत मान जीवनको लागि आवश्यक शिक्षा, स्वास्थ्य, रोजगारीको वितरणमा असमानता कति छ भन्ने कुराले पनि विकासको मापनमा आधारको काम गर्छन् । लेखकको पुस्तक समृद्ध नेपालबाट ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij