२०८३ मंसिर ८ सोमबार

Nov 23 2026 Monday

  • २०८३ मंसिर ८ सोमबार

२०८३ मंसिर ८ सोमबार

निगमले भुटानी वायुसेवाको जहाज भाडामा लिने

निगमले भुटानी वायुसेवाको जहाज भाडामा लिने

काठमाडौं । नेपाल एयरलाइन्सले भुटान एयरलाइन्सको विमान भाडामा लिने भएको छ । निगमले यससम्बन्धी सम्झौतामा हस्ताक्षरका लागि भुटानी वायुसेवाका प्रतिनिधिसँग बुधबार प्रारम्भिक छलफल गर्ने भएको छ । निगमले भुटानी वायुसेवाको ए–३२० जहाज भाडामा लिन बुधबार छलफल गर्न लागेको प्रबन्ध निर्देशक सुगतरत्न कंसाकारले जानकारी दिए ।

निगमले जहाज भाडामा लिन मागेको प्रस्तावमा भुटानको टासी गु्रप अन्तर्गतको भुटान एयरलाइन्स र युक्रेनको टुवेल्भ स्टार एभिएसनअन्तर्गतको स्टार एयरलाइन्सले प्रस्ताव पेश गरेका थिए । तर, यी दुई वायुसेवाको प्रस्तावमा प्राविधिक र आर्थिक दुवैमा भुटान एयरलाइन्सको उपयुक्त पाइएकोले भुटानी वायुसेवाका प्रतिनिधिलाई बुधबार छलफलका लागि बोलाइएको कंसाकारले बताए ।

निगमले मागेको जहाजसहित क्याविन क्रुको टोलीको प्रस्ताव कति मूल्यमा गर्ने भन्ने टुंगो लगाउन बुधबारको छलफल आयोजना गरिएको र यसपछि निष्कर्षमा पुगिने कंसाकारले बताए । निगमले ४५ दिनका लागि विमान भाडा दिन भन्दै विश्वव्यापी टेन्डर आह्वान गरेको थियो ।

सस्तोमा उपलब्ध गराउने भुटान एयरको प्रस्ताव आएपछि सम्झौताको लागि सो एयरलाइन्सलाई आसयपत्र पठाइएको कंसाकारले जानकारी दिए । तीनवटा विमानबाट अन्तर्राष्ट्रिय उडान गरिरहेको नेपाल एयरलाइन्ससँग रहेको बोइङ ७५७ मर्मतको लागि केही समय लाग्ने भएकोले सो समयमा उडान प्रभावित नहोस भनेर विमान भाडामा लिन खोजिएको कंसाकारले जानकारी दिए ।

सन् २०११ मा स्थापना भएको भुटान एयरलाइन्ससँग हाल दुईवटा विमान १ सय ५० सिट भएको ए ३२० एयरबस र १ सय २२ सिट क्षमताको ए ३१९ छन् । यसले सन् २०१३ देखि मात्रै अन्तर्राष्ट्रिय उडान सुरु गरेको हो ।

भुटान एयरलाइन्स भुटानको पहिलो निजी क्षेत्रबाट सञ्चाललित वायुसेवा कम्पनी हो । निगमसँग भएको २ वटा एयरवस नियमित उडानमै रहेकोले थप जनशक्ति नभएकोले पनि निगमले वेट लिजमा जहाज लिन लागेको हो ।

वेट लिजमा जहाजसँगै भुटान एयरलाइन्सकै पाइलट, इन्जिनियर र एयरहोस्टेज हुनेछन् । भुटानी वायुसेवाको जहाज भने आगामी साउन २ गतेबाट मात्रै भाडामा लिइने जनाइएको छ ।

यता, निगमसँग रहेको बोइङ–७५७ एसीए सिरिजको ‘कर्णाली’ विमान दोस्रो पटक ग्लोबल टेन्डर गर्दा पनि बिक्री हुने सकेको छैन । दुईपल्ट टेन्डर गर्दा पनि नबिकेपछि निगम व्यवस्थापनले पुनः मूल्यांकन गर्ने तयारी गरेको छ ।

पहिलो पटक आह्वान भएको टेन्डरमा कुनै पनि आवेदन नपरेपछि निगम व्यवस्थापनले दोस्रो पटक टेन्डर आह्वान गरेको थियो । दोस्रो पटकको अन्तिम समयसीमा गत सोमबारसम्म तोकिएको थियो । दोस्रो पटकको टेन्डरमा पनि कसैले निवेदन नदिएपछि अब पुनः सञ्चालक समितिमा छलफल गरेर अर्को निर्णय लिने तयारी निगमले गरिरहेको छ ।

निगमको मूल्यांकन तथा प्राविधिक समितिले तोकेको न्यूनतम मूल्य १७ करोड रुपैयाँबाट नघट्नेगरी टेन्डर आह्वान गरिएको थियो । पहिलो टेन्डरको म्याद जेठ १० गते सकिएकोमा थप गरी जेठ २९ गतेसम्म बढाइएको थियो ।

समय थप्दा पनि कुनै निवेदन नपरेपछि केही मूल्य घटाउनुपर्ने देखिएकोले सञ्चालक समितिमा छलफल गरेर निर्णय लिने निगमले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij