बुटवल । युवा संघ रुपन्देहीका अध्यक्ष दुर्गा तिवारीको हत्याको विरोधमा बुधबार पनि रुपन्देही बन्द छ ।
प्रदर्शनसँगै घटनाको तेस्रो दिन बुधबार स्वर्गीय तिवारीको अन्त्येष्टि गरिँदै छ ।
बुटवलको लुम्बिनी अञ्चल अस्पतालबाट सुरु गरिएको शवयात्राले बजार परिक्रमा गरिरहेको छ । बजार परिक्रमापछि अत्येष्टि गरिने युवा संघले जनाएको छ ।
शवयात्रामा नेकपा एमालेका उपमहासचिव विष्णु पौडेल, घनश्याम भुषाल र युवा संघका अध्यक्ष राजीव पहारीसहित सयौं सहभागी छन ।
हत्यारा पक्राउको माग गर्दै एमाले र युवा संघले दिनभर बुटवलमा प्रर्दशनसमेत गरेका छन् ।
गत सोमबार देवदहस्थित खैरनीबजारमा गोली प्रहारबाट तिवारीको निधन भएको थियो ।
रुपन्देहीका प्रमुख जिल्ला अधिकारी, जिल्लाका सुरक्षा निकाय, क्षेत्रीय कार्यालय पोखराबाट गएका सुरक्षा अधिकारी र युवा संघका नेताहरुको बैठकले तिवारीको अन्त्येष्टि गर्ने निर्णय गरेको हो ।
प्रहरीले घटनामा संलग्नलाई तत्काल पक्राउ गर्ने आश्वासन दिएपछि युवा संघका नेताहरु तिवारीको अन्त्येष्टि गर्न सहमत भएका हुन् ।
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij