काठमाडौं । सङ्घीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले आइतबार हुने पहिलो चरणको स्थानीय निर्वाचनमा उल्लेखनीय जनसहभागिता हुने विश्वास व्यक्त गरेका छन् ।
रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा अध्यक्ष यादवले मुलुकलाई निकास दिलाउनका लागि आफ्नो पार्टी निर्वाचनमा सहभागी भएको बताए । उनले भने,‘निर्वाचनमा नजाँदा किन गईनस् ? भन्छन्, भाग लिँदा किन सहभागिता जनाईस् भन्छन् ? यो कस्तो प्रश्न होला, बडा विचित्र छ ।’
आफ्नो पार्टीले संविधान संशोधन प्रस्ताव पारित नभएसम्म निर्वाचनमा नजाने अडान लिइरहेको अवस्थामा एक्कासि यु–टर्न लिएको भनेर बाहिर चर्चा भएकाप्रति टिप्पणी गर्दै भने,‘मैले आफू जन्मेको भूमिलाई सम्झिएँ, माटोलाई सम्झिएँ, निर्वाचनबाट मुलुकलाई अघि बढाउन सकिन्छ भन्ने सोचेर नै निर्वाचनमा सहभागी हुने निर्णय गरेको हुँ ।’
यादवले विभिन्न आन्दोलनहरुबाट प्राप्त भएका उपलब्धिहरुलाई संस्थागत गर्नको लागि निर्वाचनमा जानुको विकल्प नभएको देखेपछि अपर्झट यस्तो निर्णय लिएको दाबी गरे ।
उनले भने,‘वैशाख ९ गते सत्तारुढ दल र मधेसी मोर्चाबीच संशोधन प्रस्ताव अघि बढाउने भन्नेबारेमा विषयवस्तुमा नै सहमति भएको हो, सहमति अनुसार नै हामीले एक महिनाको लागि घोषित आन्दोलनहरू स्थगित् ग¥यौं ।’
यादवले दोस्रो चरणको निर्वाचनलाई सहज र सरल बनाउनको लागि सरकारले ७ वटा कामहरू गर्नुपर्ने भन्दै सुझावहरू अघि सारेका छन् ।
यादवले सङ्घीय गठबन्धनबाट आफूलाई हटाएको भनेर बाहिर प्रचार भएको विषयलाई लिएर यसलाई घृणित कार्यको संज्ञा दिए । उनले भने,‘महन्थ ठाकुरजीले आफू अध्यक्ष भएको भनेर आँफै मनगन्ते वक्तव्य जारी गर्नुभएछ, मलाई भनेको भए त म आँफै उहाँलाई सम्मानजनक रूपमा फुल, माला र अबिर लगाएर पद दिन्थें नि, यो त घटिया षड्यन्त्र हो ।’
विगतमा गठबन्धनको विरुद्धमा उफ्रिनेहरुले नै यस्तो घृणित काम गरेको आरोप लगाए । यादवले राजपाका नेता राजेन्द्र महतोप्रति लक्षित गर्दै यस्तो आरोप लगाएका हुन् । उनले भने,‘एक दुई जना मान्छे बोलाएर आफूले आँफैलाई गठबन्धनको संयोजक तोक्नु लाजमर्दो कुरा हो ।’
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij