२०८३ मंसिर ८ सोमबार

Nov 23 2026 Monday

  • २०८३ मंसिर ८ सोमबार

२०८३ मंसिर ८ सोमबार

ग्यालिलियोको योगदानलाई महत्त्व नदिँदा भौतिक शास्त्र खतरामा

ग्यालिलियोको योगदानलाई महत्त्व नदिँदा भौतिक शास्त्र खतरामा

५ नयाँ समीकरणहरु प्रमाणित

भौतिक शास्त्रमा प्रचलित एउटा वैज्ञानिक निरन्तरताले ४ शताब्दीपछि आएर पूर्णता प्राप्त गरेको छ । महान् वैज्ञानिक ग्यालिलियोले दिएको र भौतिक विज्ञानको जगका रुपमा रहेको विस्थापन सम्बन्धी सूत्रले हालै पूर्णता प्राप्त गरेको हो ।
वस्तुको विस्थापनको मात्रा जान्नका लागि प्रयोग गरिने सम्बन्धित सूत्र निर्माणको प्रयास ४ सय ३२ वर्ष अघि इटालीका वैज्ञानिक ग्यालिलियोले गरेका थिए । लामो समय सम्म समाधान निस्किन नसकेको उक्त प्रयासले नेपालमा गरिएको एक अनुसन्धान पछि पूर्णता प्राप्त गरेको हो ।
सन् १५६४ मा महान् वैज्ञानिक ग्यालिलियोको जन्म भएको थियो । उनले २० वर्षको कलिलो उमेरमा भौतिक शास्त्रका क्षेत्रमा एउटा ऐतिहासिक परीक्षण प्रयास अगाडि बढाएका थिए । त्यतिबेला उक्त प्रयासले पूर्णता प्राप्त गर्न सकेको थिएन ।

त्यसपछिका न्युटन, एलम्बर्ट, इउलर, ह्यामिल्टन, आइन्स्टाइन जस्ता वैज्ञानिकहरुले त्यही प्रयास माथि थप खोज गरेका थिए । यद्यपि सूत्रले आज म्म पनि पूर्णता प्राप्त गर्न नसक्दा संसार भरिका विश्वविद्यालय, कलेज र विद्यालयमा रहेका प्राध्यापक तथा शिक्षकहरुले त्यही कामचलाउ सूत्रका भरमा अध्ययनअध्यापन गराउँदै आएका थिए ।
शताब्दीऔँ सम्म सुल्झिन नसकेको उक्त भौतिक शास्त्रीय समस्याको वास्तविक कारण र आखिरी समाधान पत्ता लगाउन म्याग्दी जिल्लाको बेनी नगरपालिका ३, ज्यामरुककोटका भविन्द्र कुँवर सफल भएका हुन् । यस विषयमा खोजकर्ता कुँवरले केही वर्षदेखि निरन्तर रुपमा खोज गरिरहेका थिए । उनले केही वर्षदेखि यस विषयलाई पुस्तक, प्रवचन र अनुसन्धानात्मक लेखहरुमा निरन्तर रुपमा उल्लेख गर्दै आएका थिए ।
खोजकर्ता कुँवरले ‘सुवातदेखि सुव्रत सम्म’ र ‘सुव्रतका केही प्रभावहरु’ शीर्षकका दुई अनुसन्धानपत्रहरु प्रकाशन गरेर खोजको आखिरी परिणाम सार्वजनिक गरेका हुन् । विभिन्न शिक्षण संस्था र अनुसन्धान केन्द्रहरुमा प्रदर्शन गरिएका परीक्षण र प्रवचनका शृङ्खलाहरु पछि अन्तिम परिणाम बाहिर निकालिएको थियो । उक्त समस्याको समाधानसँग सम्बन्धित ती अनुसन्धानपत्रहरु कुँवरले सन् २०१६ को डिसेम्बरमा प्रकाशित गरेका थिए । खोजकर्ता कुँवरले ती खोजहरु भौतिक विज्ञानका लागि चाबी र आधार सिद्ध हुने बताए । सैद्धान्तिक, गणितीय र प्रायोगिक प्रमाणहरु पनि अनुसन्धानपत्रहरुमा संलग्न गरिएको छ ।
– कुँवरले आश्चर्य प्रकट गर्दै भने, ‘संसारमा सुविधासम्पन्न प्रयोगशालाहरु प्रशस्त मात्रामा पाइन्छन् । त्यहाँ लगानीको अभाव पनि हुँदैन । तर आजसम्म यति गम्भिर प्रकृतिको समस्याको समाधान पहिल्याउनका लागि ध्यान दिइएको रहेनछ । म आश्चर्यमा छु अनुसन्धानपत्र र सम्बन्धित सजिला समाधानहरु हेरेपछि यस विषयले संसारका सबै भौतिक शास्त्रीहरुलाई आश्चर्यमा पार्नेछ ।’
मानवजातिको हितमा गरिने अनुसन्धानहरु खुल्ला, सरल र उपयोगी हुनुपर्ने कुँवरको धारणा छ । भौतिक शास्त्रमा कोठाभित्र गरिएका बैठक र छलफलबाट अमूक परिणाम निस्केको जानकारी गराउने प्रवृत्ति भन्दा आफू निकै टाढा रहेको बताउँदै खोजकर्ता कुँवरले भने, ‘भौतिक शास्त्रीय परिणामहरु निस्केपछि भएको के थियो भन्नेबारे सबैलाई खुलेर जानकारी गराउन सक्नुपर्छ र नतिजाहरु परीक्षणबाट स्पष्ट रुपले देखाउन पनि सक्नुपर्छ ।’ खोजकर्ता कुँवरले अनुसन्धानपत्रहरु सबैले अधययन गर्न पाउने गरी प्रकाशित गरेका छन् । अन्य देशमा भने यस खाल अनुसन्धानपत्रहरु अध्ययन गर्न महँगो मूल्य तिर्नुपर्ने हुन्छ ।
ग्यालिलियोको प्रयत्न र वैज्ञानिक योगदान के थियो ?
‘अरस्तुको भौतिक शास्त्र’ शीर्षकको एउटा पुस्तक सन् १५४५ मा प्रकाशन भएको थियो । यसका लेखक ‘डोमिंगो डे सोटो’ थिए । उक्त पुस्तक खगोलशास्त्री तथा वैज्ञानिक ग्यालिलियो जन्मिनु भन्दा झन्डै दुईदशक अघि प्रकाशित थियो । सोटोले उक्त पुस्तकमा कुनै परिमाणको बल लगानी भएका बेला वस्तुमा देखिने चालको बारेमा अरस्तुले दिएको धारणाबारे उल्लेख गरेका थिए ।
वस्तुलाई छड्के सतहमा गुडाएर परीक्षण गर्दा ग्यालिलियो २० वर्षका थिए । बीस वर्षको कलिलो उमेरमा उनले गरेको उक्त परीक्षणलाई भौतिक शास्त्रीहरुले विशेष महत्त्वका साथ लिने गर्दछन् । परीक्षण पछि ग्यालिलियोले दिएको सूत्रलाई यान्त्रिकीको एउटा शाखा किनेम्याटिकस अन्तर्गत राखेर अध्ययनअध्यापन गराइन्छ ।
पिण्डको सन्दर्भ नउठाइएपनि ग्यालिलियोको मान्यतामा विस्थापनलाई बल सापेक्ष विषय मानिएको देखिन्छ । ग्यालिलियोले दिएको विस्थापनको सूत्रअनुसार प्रवेग र वर्गसमयको गुणनफलको आधा मात्रा विस्थापनको जम्मा मात्रासँग बराबर हुन्छ । ग्यालिलियोले मूलतः गुरुत्त्वप्रवेगबारे जानकारी गराएका थिए र त्यसकै आधारमा उनले विस्थापनको सूत्र बनाएका थिए ।
भौतिक शास्त्रका लागि ग्यालिलियोले दिएको यो महान् योगदानलाई न्युटन, ह्यामिल्टन, इउलर र आइन्सटाइनले गम्भीरताका साथ अध्ययन गरेर मात्र प्रयोग गर्नुपर्ने धारणा कुँवरको छ । कुँवरका अनुसार उक्त सूत्रको प्रयास आरम्भिक चरणको र अपूर्ण भएका कारण नतिजा वास्तविक विस्थापन भन्दा धेरै नै कम हुन पुग्दछ । गम्भिरतापूर्वक अध्ययन नगरेका कारण भौतिक शास्त्रको जगमा डरलाग्दो समस्या निम्तिन पुगेको कुँवरले बताए ।
त्यस समयका वैज्ञानिकहरुले उक्त सूत्रलाई प्रवद्र्धन गर्न, विकास गर्न र प्रयोगयोग्य गराउनतिर धैर्यतापूर्वक समय दिएको देखिएन, भौतिक शास्त्रको इतिहासको समीक्षा गर्दै कुँवरले भने । समयमै ग्यालिलियोको योगदानको मूल्यांकन र यथोचित सदुपयोग नहुँदा विज्ञानप्रेमि र अध्ययताहरु झन्डै ४ शताब्दीदेखि सही जानकारीबाट बन्चित हुन पुगेका छन् । यसले हजारौँ अनुसन्धानहरुलाई प्रभावित गरेको छ । भौतिक विज्ञान स्वतन्त्र विषय नहुँदै पुस्तकहरु प्रकाशन गरेका वैज्ञानिकहरुले ग्यालिलियोको योगदानको गहन अध्ययन गर्नुपर्ने धारणा कुँवरको रहेको छ ।

छुट्न पुगेको विषय के थियो ?
अनुसन्धानपत्रमा विस्थापनको सूत्रमा भएका अपूर्णता र छुटेका विषयहरुबारे अनुसन्धानकर्ता कुँवरले गणितीय प्रमाणसहित स्पष्ट पारेका छन् । उनको ‘सुवातदेखि सुव्रतसम्म’ शीर्षकको अनुसन्धानपत्रमा एउटा रोचक उदाहरण प्रस्तुत गरिएको छ – पृथ्वीबाट कुनै यान सरदरमा एकनास दुरी परिवर्तनको दर ९.८ मिटर प्रतिसेकेन्ड हुने गरी अन्तरिक्षतिर गइरहेको छ र उक्त यानले मानौँ १ वर्षसम्म एकनास यात्रा गर्यो भने १ वर्षमा हुन जाने जम्मा विस्थापन कति हुन्छ ?
यस सवालमा वास्तविक विस्थापनको मात्रा ४,८७,३१,४४,७०,४९,२६,४०० मिटर हुनेछ तर उक्त अपूर्ण प्रयासमा आधारित सूत्रको आधारमा विस्थापनको मात्रा ४,८७,३१,४४,५५,०४,००,००० मिटर हुन जान्छ । यो नतिजा भनेको यानले पार गरेको वास्तविक दुरीभन्दा पन्ध्र करोड पैचालीस लाख छब्बीस हजार चार सय मिटरले कम हो । कुँवरले उक्त अनुसन्धानपत्रमा वास्तविक विस्थापनभन्दा पन्ध्र अर्व छ्याहत्तर करोड असी लाख मिटरले फरक हुने उदाहरण पनि प्रस्तुत गरेका छन् ।
कुँवरले नयाँ पुस्ताले अर्बौँ मिटरको अन्तर पनि थाहै नपाइकन एक्युरेट छ भन्दै पढ्नेपढाउने गर्दै आएको बताए । उनले गणितीय प्रमाणसहित स्पष्ट गर्दै भने मिलिमिटरभन्दा साना खन्डहरुको पनि एक्युरेसी खोज्ने मानवजातिले के सिकिरहेको छ र के कुरा सिक्नुपर्ने हो भन्ने कुरामा सबैको ध्यान जानुपर्ने कुरामा जोड दिए । कुँवरले थपे – सत्रौँ शताब्दी र त्यसपछिका वैज्ञानिकहरुले सर्वप्रथम यस्ता जाँचहरु गरेर मात्र भौतिक विज्ञानलाई अघि बढाउनुपर्ने थियो ।

परीक्षणहरु कहाँ–कहाँ र कहिले–कहिले भए ?
यस अनुसन्धानसँग सम्बन्धित बाह्य परीक्षणका शृङ्खलाहरु आन्तरिक परीक्षण सफलतापूर्वक सम्पन्न भएपछिमात्र थालिएको थियो । खोजकर्ता कुँवरले पछिल्ला अनुसन्धानपत्रहरु प्रकाशन गर्नुभन्दा केही वर्षपहिले सम्बन्धित विषयलाई काठमाडौँ रिसर्च एन्ड पब्लिकेसन्स्को प्रयोगशालामा पटकपटक दोहोराएर परीक्षण सम्पन्न गरेका थिए । सम्बन्धित परीक्षण तथा प्रवचनहरु काठमाडौँ र ललितपुरका विभिन्न शिक्षण संस्थाहरुमा पनि प्रदर्शन गरिएको थियो ।
वि.सं. ०६९, मंसिरदेखि पुसका बीचमा काठमाडौँ रिसर्च एन्ड पब्लिकेसन्स्, गोंगबुमा कुँवरले पछिल्लो आखिरी आन्तरिक परीक्षण सम्पन्न गरेका थिए । उक्त विषयसँग सम्बन्धित प्रवचन वि.सं. २०६७ सालको चैत्रमा त्रिभुवन विश्वविद्यालयमा दिइएको थियो । उक्त कार्यक्रम भौतिक शास्त्र पुनर्निर्माण अभियानका सदस्यहरु तथा अन्य सहयोगीहरुको सहयोगमा सम्पन्न भएको थियो ।
पहिलो बाह्य परीक्षण भौतिक शास्त्री, शिक्षक तथा विद्यार्थीहरुको बाक्लो सहभागिताका बीच वि. सं. ०६९ को पुुसमा युनाइटेड स्कलर्स एकेडेमी काठमाडौँमा सम्पन्न गरिएको थियो । ठाडो सतहका लागि गरिएको उक्त परीक्षणले झन्डै ७ घन्टाको समय लिएको थियो ।
युनाइटेड स्कलर्स एकेडेमीमा सम्पन्न भएको ठाडो सतहमा गरिएको परीक्षणपछि समतल सतहका लागि परीक्षण गरिएको थियो । वि.संं. ०६९ को माघमा दिव्यकान्ति बोर्डिङ् स्कुल अगाडिको चौरमा समतल सतहका लागि आन्तरिक परीक्षण सम्पन्न गरिएको थियो । त्यसको केही दिनपछि अरनिको इन्टरनेशनल एकेडेमी ललितपुरमा सम्बन्धित परीक्षण सम्पन्न गरिएको थियो । समतल सतहका सन्दर्भमा गरिएको उक्त परीक्षणले ५ घन्टाको समय लिएको थियो । भौतिक शास्त्र पुनर्निर्माण अभियान, अन्य सहभागी र कलेजका विद्यार्थीहरुको सहयोग र सहभागितामा परीक्षण सम्पन्न भएको थियो ।
खोजकर्ता कुँवरले पछिल्लो चोटिको थप परीक्षण वि.सं. २०७३ को माघ महिनामा सम्पन्न गरेका थिए । काठमाडौँ रिसर्च एन्ड पब्लिकेसन्स्को चितवन शाखामा उक्त परीक्षण गरिएको थियो । ठाडो सतहलाई आधार मानी गरिएको उक्त परीक्षण झन्डै २ हप्तासम्म भएको थियो । उक्त परीक्षणले प्रकाशित अनुसन्धानपत्रमा भएका विषयलाई थप पुष्टि गरी दुर्यान्तरको यकिन गरेको थियो ।

के हो कुँवरले दिएको समाधान ?
अवरोधहीन क्षेत्रमा रहेको कुनै वस्तुमा एकनास बल लगानी भएका बेला कुनै वस्तुले निश्चित अवधिमा पार गरेको विस्थापनको मात्रा मापन गर्न विस्थापनको सूत्र प्रयोग हुन्छ । ‘सुवात’ शब्द अंग्रेजी वर्णहरु एस, यू, भी, ए र टीको संयोजनबाट बनेको हो । यी पाँच वर्णहरुले दिने अर्थ क्रमशः विस्थापन, शुरुको गति, अन्तिम गति, प्रवेग र समय भन्ने हुन्छ । आज पनि स्कुल र कलेजका पाठ्यपुस्तकहरुमा ‘सुवात’का तिनै पाँचवटा समीकरणहरु रहेका छन् । भौतिक विज्ञानमा विश्वभरि ‘सुवात’का ५ वटा सूत्रहरुको पठनपाठन हुन्छ ।
खोजकर्ता कुँवरले ‘सुवात’का पाँचवटै समीकरणले वास्तविकताभन्दा फरक नतिजा दिएको थाह पाएपछि ‘सुव्रत’का ५ वटा नयाँ समीकरणहरु आविष्कार गरेका थिए । अंग्रेजीका एस, यू, भी, आर र टीको समग्रताबाट ‘सुव्रत’ शब्द बनेको हो । ‘सुवात’का पाँचवटै समीकरणभन्दा उनले आविष्कार गरेका पाँचवटै समीकरणहरु फरक, सही र सरल छन् । यी पाँचवटै समीकरणहरुले विस्थापन र अन्य परिमाणहरुको मात्रा जति हुनुपर्ने हो त्यति दिन्छन् ।
विस्थापन निकाल्दा आरम्भिक गति र समयको गुणनफलमा प्रवेग र समयको गुणनफलको आधा मात्रा जोडेर कामचलाउ मान निकाल्ने गरिएको थियो । तर कुँवरले आरम्भिक गति र समयको गुणनफल निकाली सदिश दुरीका पदसंख्या, दुरी परिवर्तनको दर र समयको गुणनफलको आधा मात्रा जोडेमा वास्तविक विस्थापन आउने तथ्य पत्ता लगाएका हुन् ।
पत्ता लागेका नयाँ समीकरणहरु सामान्य क्याल्कुलेटरको सहाराले जोकोहीले सधैँभरि जाँच्न सकिने कुँवरले बताए । क्याल्कुलेटर नभए पनि सजिलै जाँच्न र समस्याहरुका लागि समाधान निकाल्न प्रयोग गर्न सकिन्छ – खोजकर्ता कुँवरले थपे ।
वस्तुमा निरन्तर एकनास बल लगानी भएका बेला फरकफरक समयान्तरालमा पार हुने १ मिटरदेखि ४ मिटरसम्मका सदिश दुरीहरुको जम्मा योग १० मिटर हुन्छ तर विश्वभरिको भौतिक विज्ञानमा ८ मिटर हुन्छ भनी पढ्नेपढाउने गरिन्छ – कुँवरले अर्को गणितीय उदाहरण पनि दिएर स्पष्ट पारे ।
विस्थापनको सूत्रको प्रयास थालिएको ४३२ वर्ष बितिसक्दा पनि भौतिक शास्त्रमा यात्राको मात्रा १० मिटर हुँदा ८ मिटर भएको लेखिन्छ । १० मिटर यात्रा भएको हिसाब निकाल्ने कुनै सूत्र बन्न सकेन – कुँवरले बताए । अझै पनि १० लाई ८ भन्दै जाने हो भने त्रुटिपूर्ण र कामचलाउ अध्ययनअध्यापनको इतिहास अझ लम्बिनेछ । मानवजातिले गर्न सक्ने आविष्कार र खोजका सम्भावनाहरु थप कटौती हुनेछन् – अनुसन्धानकर्ता कुँवरले चिन्ता व्यक्त गरे ।

अनुसन्धानपत्रमा कुँवरले प्रस्तुत गरेका गणितीय प्रमाणहरुमध्ये एउटा उदाहरणमा हुनुपर्ने विस्थापनभन्दा पन्ध्र अर्व छ्याहत्तर करोड असी लाख मिटर कम हुने उदाहरण पनि समेटिएको छ । यसतर्फ संकेत गर्दै उनले भने – भौतिक विज्ञानले यति ठूलो अन्तरसमेत बेवास्ता गर्नु दुखद पक्ष हो । भौतिक शास्त्रको विश्वसनीयता ठूलो संकटमा छ ।
भौतिक विज्ञानजस्तो सत्यको बढी नजिक मानिने विज्ञानले मानवपुस्तालाई कस्तो मार्गदर्शन गर्नुपर्छ ? सबैले विचार गर्नुपर्ने भएको छ – कुँवरले बुद्धिजीवी र सन्चारकर्मीहरुले मानवजातिको हितका लागि आआफ्ना स्थानबाट समयमै यथोचित भूमिका निर्वाह गर्नुपर्ने बताए ।

कुँवरको ध्यान किन यो समस्यामा गयो ?
कुँवरले वि. सं. ०६० तिर बागलुङ्को ग्यालेक्सी इन्जिनियरिङ वर्कसपमा दिउँसो पढाउने र साँझमा यन्त्र निर्माण गर्ने गर्दथे । त्यतिबेला उक्त यन्त्रको कुनै निष्कर्ष निस्किन सकेको थिएन । कुँवरले उक्त यन्त्र बनाउने योजना ०५५ सालदेखि बनाएका थिए । त्यसका लागि आवश्यक शक्ति मापन गर्न विस्थापनको प्रचलित सूत्रले काम नगरेपछि आफू हैरान भएको उनले बताए ।
कुँवरले ०६७ मा प्रकाशित एउटा पुस्तकमा भौतिक शास्त्रमा वर्गसमयको त्रुटिपूर्ण प्रयोग भएको कुरा उल्लेख गरेका छन् । उनले जम्माजम्मी ७१८ पृष्ठको उक्त पुस्तकका केही खण्डहरुमा एकाइ समयमा देखिने दुरी परिवर्तन दरको प्रयोगबारे पनि उल्लेख गरेका छन् । यस विषयमा केही संस्था र मित्रहरुको सहयोगमा प्रवचन कार्यक्रमहरु पनि सम्पन्न भएका थिए । त्यसपछि गएर उनले दुर्यान्तर पत्ता लगाएका थिए ।
वास्तविक व्यवहारसँग भौतिक शास्त्रका महत्त्वपूर्ण सूत्रहरु मेल नखाएको थाह पाएपछि त्यसको वास्तविक कारण पहिल्याउनु उनका लागि चुनौती हुन गएको थियो । कारण पहिलिएपछि समाधान पहिल्याउन फेरि चुनौती थपिन पुगेको थियो । वास्तविक समाधान समेटिएका अनुसन्धानपत्रहरु पनि सम्पन्न गर्न समयक्रमसँगै उनी सफल भएका थिए ।
सरल र अकाट्य समाधानको निष्कर्षमा पुगेपछि कुँवरले त्यसलाई पुनः पछिल्लो परीक्षण गरेका थिए । जोकोहीले अध्ययन गर्न मिल्ने गरी सजिलो भाषामा अनुसन्धानपत्र प्रकाशित गर्नुपर्ने भयो । त्यसो नगरेसम्म के गरेको हो भन्ने कुरा सबैलाई थाह नहुने भयो । त्यसैले थप जानकारी मिलोस् भन्ने अभिप्रायःले ‘सुवातदेखि सुव्रतसम्म’ र ‘सुव्रतका कही प्रभावहरु’ शीर्षकका दुई वटा अनुसन्धानपत्रहरु प्रकाशित गरेँ – कुँवरले बताए ।
कुनै तथ्य परीक्षणबाट सिद्ध भइसकेपछि यस विषयबारे सबैलाई जानकारी गराउनतिर नलागी व्यक्तिगत र पारिवारिक सुखमा समय दिनतिर मन लागेन, कसैले पनि यसो गर्नु हुँदैन । त्यसो गरियो भने सम्पूर्ण मानवजाति र मानवपुस्ताका लागि गरिएको अक्षम्य अपराध हुन जान्छ – कुँवरले भने ।
महान् वैज्ञानिक आर्किमिडिजको सम्झना गर्दै कुँवरले भने – आर्किमिडिजको व्यवहारले हामीलाई सत्य भेटियो भने अरुलाई बताउन नबिर्स, बरु कपडा लगाउन बिर्से पनि केही हुँदैन भन्ने सिकाएको छ । आर्किमिडिजले नयाँ करा पत्ता लगाएपछि अरुलाई त्यसबारे बताउनका लागि पत्ता लगाएँ भन्दै कपडा नलगाई नाङ्गै दौडिएका थिए ।
अनुसन्धान पत्र सविस्तार अध्ययन गर्न चाहेमा यी लिंकमा जान सकिनेछः
१. सुवातदेखि सुव्रतसम्मः

http://accuratephysics.blogspot.com/2016/12/blog-post_30.html
२. सुव्रतका केही प्रभावहरुः

http://accuratephysics.blogspot.com/2017/01/some-effects-of-suvrt.html

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij