हामीमध्ये धेरैले सफलतालाई एउटा सीधा रेखाका रूपमा बुझ्ने गर्छौं । साथै सफलतालाई हामीले छोटो यात्राको रुपमा मात्र बुझिरहेका हुन्छौं, जहाँ आज परिश्रम गरियो भने भोलि नै त्यसको प्रतिफल हात परोस् । तर यथार्थ जीवन, प्रकृति र मस्तिष्क विज्ञानको नियम योभन्दा भिन्न छ । सफलताको यात्रा कहिल्यै सीधा रेखामा हिँड्दैन, यो बाङ्गो–टिङ्गो, घुमाउरो र उतार–चढावले भरिएको हुन्छ । बाटोमा कहिले सहजता, आनन्द र अनुकूलता देखिन्छ भने कहिले अचानक प्रतिकूलता, ढिलाइ र परीक्षाहरू आइपर्छन् ।
अप्ठ्यारो परिस्थितिमा नआत्तिने र सहज हुँदा पनि धेरै उत्तेजित नभई आफूलाई सजिलै सम्हाल्न सक्ने व्यक्तिले मात्र यी उतार–चढावलाई सन्तुलनमा राख्न सक्छ । वास्तविक रूपान्तरण रातारात घटित हुने कुनै चमत्कार होइन; यो त हामीले हरेक दिन लिने साना–साना सचेत निर्णय, आत्म–अनुशासन र निरन्तर सुधारको संचित परिणाम हो भनेर बुझ्न सक्नुपर्छ । जब हामी कुनै एउटा चरणमा आफूलाई माथि उठाउँछौँ र नयाँ स्तरको अनुभव गर्छौं, तब मात्र अर्को ठूलो सम्भावनाका लागि तयार हुन्छौँ । ठूलो सफलता आउनुअघि जीवनले हामी माथि ठूलो परिक्षा पनि लिने गर्छ । व्यावहारिक जीवनको त्यो परिक्षालाई हामी जति धैर्य, अनुशासन र स्वनियन्त्रणको माध्यमबाट व्यवस्थित गर्न सक्छौं, गुनासो र आलोचनाको बदलामा नयाँ कुरा सिक्ने र स्वीकार्ने भावका साथ पार गर्न सक्छौं, त्यति नै हामी आफूलाई आगामी ठूलो उचाईको लागि तयार पार्न सक्छौं ।
सफलताको यस यात्रामा बाहिरी स्रोतसाधन र परिस्थिति निर्णायक जस्तो देखिने भएपनि त्यो भन्दा बढी निर्णायक त हाम्रो पुरानो अनुभव, विश्वास प्रणाली र आत्म–छवि हुन्छ भन्ने कुरा बुझ्न सक्नुपर्छ । हामी हामी आफूलाई यो मेरो लागि सम्भव छैन, म यो उपलब्धि हासिल गर्न सक्दिन, म यस कामको लागि योग्य छैन भन्ने किसिमका सीमित विश्वास र धारणालाई अदृष्य रुपमा परिचालित छौं भने हामीले चाहँदैमा उच्च शिखरमा पुग्न सकिँदैन । जब हामी विगतका यस्ता सीमित विश्वासहरूलाई चिर्दै आफूलाई सक्षम र योग्य ठान्न थाल्छौँ, तब हाम्रो व्यवहार, निर्णय र वरपरको संसारसँगको संवाद लगायतमा महसुस हुने गरी परिवर्तन आउन थाल्छ ।
सफलता बाहिरी रूपमा प्रतिबिम्बित हुनुअघि हाम्रो मानसिक चित्रणमा स्पष्ट रूपमा देखिनुपर्छ । स्पष्ट लक्ष्य, तीक्ष्ण फोकस (अर्जुन दृष्टि), उच्च गुणस्तरीय सेवा र समय तथा ऊर्जाको सही व्यवस्थापनले मात्र हाम्रो लक्ष्य, दृष्टिकोण र मेहनतलाई अर्थपूर्ण नतिजामा बदल्न सक्छ । त्यसैगरी, ठूलो आर्थिक लगानी नै हाम्रो लागि व्यावसायिक सफलताको एकमात्र सर्त हो भन्ने दृष्टिकोणलाई चिर्दै स्पष्ट मार्गचित्र, बलियो विश्वास र केही अर्थपूर्ण काम गर्ने भित्री हुटहुटी सहित अघि बढ्दै गयौं भने अहिले साधारण पृष्ठभूमिबाट माथि उठेर पनि असाधारण उपलब्धि हासिल गर्न सक्ने अवसर, विचार मिल्ने सहयात्री र स्रोतसाधनहरु हामीतर्फ बिस्तारै जोडिँदै जान शुरु गर्दछन् ।
हामीले सोचेको सफलता तबमात्र फलदायी हुन्छ, जब हामीले हाम्रो मस्तिष्क मार्फत तय गरेको विचार वा योजनालाई हाम्रो हृदय (मुटु)ले स्वीकार गर्छ र त्यो सोच अवचेतन मष्तिष्कको गहिराईमा रोपिन्छ । मस्तिष्कले बनाउने स्पष्ट विचार र योजनालाई हृदयबाट उत्पन्न हुने भावना, विश्वास र सकारात्मक ऊर्जासँग एकाकार गराउन सकियो भने चेतन मनमार्फत ती सन्देशहरू अवचेतन मस्तिष्कको गहिराई सम्म प्रवेश गर्न सक्छन् । यसले हामीलाई नयाँ सम्भावनाका लागि योग्य बनाउँछ ।
तर केवल कल्पना र कोरा सोचले मात्र लक्ष्य पूरा हुँदैनन् । त्यसलाई यथार्थमा उतार्न गहिरो विश्वास, निरन्तर प्रयत्न, स्पष्ट मार्गचित्र (नक्सा), अनुशासन र धैर्यता चाहिन्छ । यी सबै तत्वलाई सही सन्तुलनमा राखेर अघि बढ्दा बाङ्गो–टिङ्गो देखिने यात्रा पनि अन्ततः स्पष्ट र स्थायी सफलताको बाटो बन्न सक्छ । यही भित्री चेतना, अनुशासन र व्यावहारिक रूपान्तरणलाई प्रोत्साहन गर्नु नै आजको समयको मुख्य आवश्यकता हो ।
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij