काठमाडौं / वनजङ्गल तथा हरियाली क्षेत्रमा निर्माण गरिने भौतिक संरचनामा जथाभावी रङको प्रयोग गर्दा प्राकृतिक सौन्दर्यमा असर पर्ने र वन क्षेत्रको स्वरूप नै कुरूप देखिने विषयले पछिल्लो समय सामाजिक सञ्जालमा चर्चा पाउन थालेको छ।
विशेषगरी राष्ट्रिय निकुञ्ज तथा वन क्षेत्रभित्र निर्माण गरिने संरचनामा प्राकृतिक वातावरणसँग मेल खाने रङ प्रयोग गर्नुपर्ने विषयमा सामाजिक सञ्जालमा बहस सिर्जना भएको छ।
यसै सन्दर्भमा इन्जिनियर अनुप खनालले चन्द्रागिरि डाँडाको उदाहरण प्रस्तुत गर्दै त्यहाँ निर्माण गरिएका भौतिक संरचनाको रङ र वरपरको प्राकृतिक वातावरणबीच देखिएको असामञ्जस्यताप्रति ध्यानाकर्षण गराएका छन्।
उनले आफ्नो फेसबुक पोस्टमार्फत चन्द्रागिरि डाँडाको हरियालीयुक्त शिखरमा रहेका संरचनामा प्राकृतिक परिवेशसँग मेल नखाने रङ प्रयोग हुँदा डाँडाको प्राकृतिक सौन्दर्यमा असर परेको उल्लेख गरेका छन्। उनले हालको अवस्था र प्रस्तावित अवस्थाको तस्बिरसमेत प्रस्तुत गर्दै वन क्षेत्रभित्र तथा आसपास निर्माण गरिने संरचनामा हरियो वा प्राकृतिक वातावरणसँग घुलमिल हुने रङ प्रयोग गर्नुपर्ने सुझाव दिएका छन्।उनको फेसबुक पोस्ट हालसम्म एक लाखभन्दा बढीले हेरिसकेका छन्।
खनालका अनुसार वन क्षेत्रभित्र निर्माण गरिने संरचनामा वातावरणअनुकूल रङको प्रयोग गर्न सके प्राकृतिक परिवेशसँगको सामञ्जस्यता कायम राख्न सकिन्छ। यसले वनजङ्गलको प्राकृतिक सौन्दर्यमा हुने खण्डीकरण रोक्नुका साथै प्राकृतिक सम्पदाको संरक्षणमा समेत सहयोग पुर्याउनेछ।
वनजङ्गल तथा हरियाली क्षेत्रको संरक्षण केवल रूखबिरुवा जोगाउनुमा मात्र सीमित नभई त्यहाँ निर्माण गरिने भौतिक संरचनालाई समेत प्राकृतिक वातावरणअनुकूल बनाउनु आवश्यक रहेको उनको सुझावले देखाएको छ।
प्राकृतिक सौन्दर्य र वातावरणीय सन्तुलन कायम राख्न वन क्षेत्र तथा आसपास निर्माण हुने संरचनाको डिजाइन, स्वरूप र रङ छनोटमा सम्बन्धित निकायले विशेष ध्यान दिनुपर्ने देखिन्छ।
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij