सुनसरी ३ मा भगवती चौधरीको अग्रता कायमै


काठमाडौं । विवादका कारण सोमबारदेखि स्थगित सुनसरी क्षेत्र नम्बर ३ मा मत गणना सुरु भएको छ। मत गणनाको पछिल्लो परिणाम अनुसार वाम गठबन्धनका तर्फबाट एमालेकी उम्मेदवार भगवती चौधरीले मतअन्तर क्रमशः फराकिलो बनाउँदै लगेकी छन्।

सोमबार १५५ मतले अग्रता कायम गरेकी चौधरीले मंगलबार मतान्तर १६४ पु¥याएकी छन्। उनले ३० हजार ९१९ मत प्राप्त गरेकी छन् भने उनका निकटतम् प्रतिस्पर्धी कांग्रेसका उम्मेदवार तथा उपप्रधानमन्त्री विजयकुमार गच्छदारले ३० हजार ७५४ मत ल्याउँदै चौधरीलाई पछ्याइरहेका छन्।

सोमबारभन्दा मंगलबार चौधरीले ९ मतको अन्तर बढाएकी हुन्।

गच्छदारले मत गणनामा सेटिङ मिलाएर धाँधली गर्न खोजेको भन्दै चौधरीले सोमबार विरोध जनाएपछि एमालेले मतगणना अवरुद्ध गरेको थियो। उनले कांग्रेसले पाएका अर्धकट्टीसहितका मत पनि गणना गरेको भन्दै निर्वाचन अधिकृत परिवर्तन गर्न र पुनः मतगणना गर्न मागसमेत गरेकी थिइन्। एमालेको एउटा मतपत्रमा २० रुपैयाँ भेटेपछि निर्वाचन असिधकृतले त्यो मत वदर गरेको भन्दै उनले त्यसको समेत विरोध गरिन्।

मतगणना स्थगित गर्ने र अगाडि बढाउने भन्ने विषयमा विवाद हुँदा मतगणना स्थलबाहिर कांग्रेस र एमालेका कार्यकर्ताबीच झडपसमेत भएको थियो।

निर्वाचन आयोगले मतगणना कार्य अगाडि बढाउन भन्दै लिखित निर्देशन दिएपछि मंगलबार दिउँसोबाट मतगणना कार्य अगाडि बढेको हो। अहिले मतगणना स्थलको सुरक्षा व्यवस्था कडा पारिएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।

उक्त क्षेत्रमा अझै १९ हजार मत गन्न बाँकी छ।

Comment

Related News 

© 2016 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site by : SobizTrend Technology

%d bloggers like this: