कामलाई हेर्ने दृष्टिकोण बदलिनु अावश्यक


वविता बस्नेत

“दिनभरी अर्काको घरमा काम गर्छु, तिन चार घरमा काम गर्दा महिनाको १५ हजार हुन्छ । बच्चालाई पढाउन र खान बस्न पुग्छ ।” काठमाण्डौंको अनामनगर बस्ने सरीमायाँले यसो भन्दै गर्दा उनको शिर उज्यालो थियो । उनको मुहारमा प्रष्ट पढ्न सकिन्थ्यो, ‘दुख छ,तर आफ्नै कमाइ हो ।’ त्यसको ठिक दुई दिन अघि डान्सबारमा काम गर्दा गर्दै प्रहरीले पक्राउ गरेर एउटा संस्थामा शरण लिन पुगेकी एक युवतीले आफुले महिनाको ६० हजार सम्म कमाउने कुरा बताएकी थिइन । तर उनले कुरा गर्दा आँखामा आँखा जुधाउन सकेकी थिइनन् । उनको मुहारमा देख्न सकिन्थ्यो—“पैसा भएर के गर्नु इज्जत छैन, सबैले हेप्छन् ।” आत्मसम्मान सहितको कमाई हुनु र नहुनुले जीन्दगीमा ठुलो अर्थ राख्छ । काम सानो ठुलो कहिल्यै हुँदैन । अर्काको घरमा काम गर्न हामी विदेश जान्छौं, ‘डोमेष्टिक वर्क’ हो भन्दा राम्रै लाग्छ तर आफ्नै देशमा सोही काम गर्दा चांही ‘अर्काको घरमा काम गर्ने’ भनि दिन्छौं । बच्चा तथा वृदवृद्धाको हेरचाह गर्नका लागि विदेश जाँदा ‘केयर गिभर’ अनि आफ्नै देशमा त्यही काम गर्दा अर्काको बच्चा हेरेर गुजारा गरिरहेको मान्छे ।

आफ्नै खेतबारी छ तर ‘कसले गर्छ र ?’ भन्दै गाउँमा आफ्नो खेत बाँझै छोडेर खाडीको मरुभूमिमा तरकारी फलाईरहेका युवाहरुको संख्या ठुलो छ । गाउँमा आफ्नो हरियो खरबारी या खर्क (वस्तु चर्ने ठाउँ) छोडेर खाडीमा बडो कष्टपूर्ण तरिकाले उँट हेर्ने काममा संलग्न युवाहरुको संख्या पनि त्यत्तिकै छ । ति कामहरुबाट आउने पैसा पनि धेरै होइन जुन अलिकति मेहेनत गरे आफ्नै मुलुकमा कमाइन्छ । तर पनि युवाहरु बिदेश पलायन भएका छन । मुलुकमा रोजगारीको अभावमा दुख त छ नै तर पनि नेपालीहरुलाई पैसाको दुखले भन्दा बढि काम प्रतिको मूल्य मान्यता र हेर्ने दृष्टिकोणले बिदेशको कठोर मौसममा जोखिमपूर्ण काम गर्न बाध्य पारेको देखिन्छ । विदेशमा काम गर्ने भनेंपछि उसले के गर्छ, कति दुख छ केही बुझ्दै नबुझी हेर्ने दृष्टिकोण नै फरक बनाइदिने । अनि घरमैं काम गर्छ, खेतीपाती गर्छ भन्दा ए…कामै नलाग्ने रै’छ झैं व्यवहार गरिदिने । आफ्नो देशमा त्यही काम गर्दा लाज हुने, अरुको देशमा त्यही काम गर्दा विदेशमा जे पनि गर्नुपर्ने हुन सक्छ नि…भनि दिने । आफ्नो देशमा भए घर बनाउने मजदुर, अरुको देशमा भए ‘कन्स्ट्रक्सन’ को काम । गाउँमा अहिले हलो जोत्ने मान्छे पाईंदैन । आफ्नो खेती या वस्तुभाउ ढुक्कले हेरि दिने मान्छे पाए महिनाको दश देखि पन्ध्र हजार रुपैयाँ दिने थुप्रै छन् तर मान्छे नै पाईंदैन । यता, आफ्नो घर परिवार छोडेर, अनेक दुख हण्डर खपेर महिनाको बाह्र, तेह्र या पन्ध्र हजारका लागि बिदेशमा जोखिमपूर्ण काम गर्न जानेहरुको ताँती छ एयरपोर्टमा ।

हाम्रो देशमा कामको खाँचो छ तर अचम्म त के भनें कतिपय काम गर्नका लागि मुलुकमा मान्छे नै पाईंदैन । कुनै बेला थियो पुरुषहरु बाहिरको काममा जान्थे र महिलाहरु घरको काम गर्थे । अहिले कामदार महिलाहरुको संख्या बढ्दै गएको छ । श्रीमान, श्रीमती या घर परिवारका सदस्यहरु काममा जाने भएकाले घरेलु कामका लागि सहयोगीको आवश्यक्ता हुने मान्छेहरु धेरै छन । तर घरेलु कामदारका लागि मान्छेनै पाउन गाह्रो छ । कुबेत लगायतका खाडी मुलुकमा प्रायः महिलाहरु दश, पन्ध्र हजार कमाउनका लागि जान्छन । घरेलु कामदारका रुपमा खाडी मुलुकको यात्रा यति जोखिमपूर्ण छ कि भुक्तमानका अनेक कथा ब्यथाहरु प्रत्येक दिन जस्तै सार्बजनिक भइरहेका छन् । काम गरेको पैसा नदिने देखि लिएर बैदेशिक रोजगारका हरेक चरणमा शोषणमा पर्ने महिलाहरुको संख्या धेरै छ । तर मुलुकमैं बसेर सोही काम गर्ने माहिलाहरु भेट्न गाह्रो छ । उस्तै काम गर्दा विदेशमा जति नै पैसा नेपालमा पाइन्छ भन्ने थाहा पाएर पनि महिलाहरु बिदेशिनुमा काम प्रतिको मूल्य मान्यता नै प्रमुख हो भन्न सकिन्छ । बाहिर गएर त्यही काम गर्दा केही नहुने तर मुलुकमा त्यही काम गर्दा अर्काको घरमा काम गर्ने भईने ठानी महिलाहरु बिदेशिननै बढि मन पराउने गरेको देखिन्छ ।

घरेलु कामदारको माग मुलुकमै धेरै छ, यहीँ गरे हुन्न? भन्ने प्रश्नमा मकवानपुरकी सीता तामाङ्गले भनेकी थिइन—‘अर्काको घरमा काम गर्ने भनेर यहाँ हेला गरिन्छ, बाहिर जाँदा के गर्छ थाहा हुँदैन ।’ हामी कहाँ सुत्केरीको स्याहार गर्ने र बच्चा हेर्ने कामको पैसा घरेलु कामदारलाई भन्दा बढि दिइन्छ । सुत्केरी स्याहारेको पैसा महिनाको १५ हजार तथा नयाँ लुगा र खाना पनि दिइन्छ । तर त्यस्ता मान्छे पाउन अहिले मुस्किल छ । नेपालमा अर्काको बच्चा हेर्दा अफ्ठ्यारो मान्नेहरु बिदेशमा ‘बेबी सिटर’ को काम गर्नुलाई सामान्य ठान्छन् । नेपालमा त्यही काम गर्दा सानो जस्तो महशुस किन हुन्छ त ? त्यो पनि हाम्रो काम प्रतिको मूल्य मान्यताकै प्रभाव हो । कामकाजी महिलाको संख्या बढ्दै जाँदा मुलुकमै बच्चा हेर्ने काम जति पनि पाइन्छ, तर हामी गर्न तयार छैनौं । यस्तै वृद्धवृद्धाको स्याहार सुसारका लागि नेपाली महिलाहरुको ठुलो संख्या विदेशिएको छ । घरमा आफ्ना बाबु आमालाई पानी तताएर खान दिन मान्छे छैन आफु चाहीँ अरुका बाबुआमालाई स्याहार्नुपर्दाको मनोवैज्ञानिक असर आफ्ना बच्चा छोडर बिदेशमा अरुका बच्चाको देखभाल गर्नु जत्तिकै हुन्छ । छोराछोरी परदेशिँदै जाँदा दिनदिनै हामी कहाँ पनि बृद्धबृद्धाको एक्लोपन बढ्दो छ । आफ्ना बाबु आमालाई बिश्वासिलो सहयोगी राखि दिन चाहने छोरा छोरीहरु धेरै छन्, तर मान्छे नै पाईंदैन । कामलाई सानो र ठुलो भनेर गरिएको विभाजनले नेपालीहरुलाई आफ्नो ठाउँमा बसेर त्यही काम गर्न अप्ठ्यारो र अरुको ठाउँमा सहज बनाईदिएको छ । विकसित देशमा कामलाई कामकै रुपमा हेरिन्छ, सानो र ठुलो भनेर हेरिँदैन । परिणामः जो कोहीले जे काम गरेपनि सम्मानित आँखाले हेरिन्छ र काम गरेका कारणले हिनताबोध कसैलाई हुँदैन । हामी कहाँ दिनभरी घरमा बसेर साथीभाई जम्मा गरी तास खेलेर बिताउँदा नराम्रो नलाग्ने तर घर या खेतको काम गर्दा अप्ठ्यारो मान्नेहरुको संख्या प्रसस्तै छ । विकसित देशहरुमा काम नगरी बस्नुलाई नराम्रो मानिन्छ । घर बनाउने होस् या बाटो खन्ने या घरको काम कामलाई सम्मान गर्ने चलन र काम प्रतिको मूल्यमान्यताले ति मुलुकहरुमा जे गरेपनि राम्रो बनाई दिएको छ । कुनै काम गरेकै कारण युरोप अमेरिकामा मानिस सानो हुँदैन, हुनु पर्दैन । जति गाह्रो काम उति धेरै पैसाका कारण पनि काम प्रति सम्मान बढाएको छ । हामी कहाँ आफ्नै मुलुकमा परिवारसंगै बसेर व्यावसायिक रुपले गर्न सके घरमा सहयोगी देखि कृषि क्षेत्रमा समेत कामदारको खाँचो छ । कपडामा जरी भर्ने लगायतका कामका लागि छिमेकी मुलुकबाट मानिसहरु आउँछन् । हामी विभिन्न मजदुरीका लागि उनीहरु कहाँ पुगि रहेका छौं । हाम्रा खेतहरु बाँझै छन्, तरकारी बाहिरबाट ल्याउँछौं । चामल, दाल, पीठो जुन आफ्नै मुलुकमा उत्पादन गर्न सकिन्छ ति सबै बाहिरबाट आउँछन् । आत्मनिर्भरताको कुरा मात्र गरेर हुँदैन, कोशिस पनि गर्नुपर्छ । कामलाई हेर्ने दृष्टिकोणले गर्दा थोरै पैसा आउने जोखिमपूर्ण कामका लागि हाम्रा युवाहरु विदेशिन बाध्य बनाइ रहको छ । देशमै रोजगारीका लागि हामीले अब काम प्रतिको मूल्य मान्यता र हेर्ने दृष्टिकोणलाई बदल्नैपर्छ ।

हामी कहाँ धेरै महिलाहरु गृह व्यवस्थापकका रुपमा काम गरिरहेका छन् । घरको काम र व्यवस्थापन कम गाह्रो कुरा होइन । तर कसैले तिनका पतिलाई ‘यहाँको श्रीमती के गर्नु हुन्छ?’ भनेर सोध्यो भने कामकाजी पतिहरुले भन्ने गरेका छन्—‘उनी केही गर्दिनन्, घरमै बस्छिन् ।’ दिनभरीको कामको बोझ यसरी ‘घरमै बस्छिन्’ को मूल्यांकनमा टुंगिदा दुख लागेपनि ति तमाम गृह व्यवस्थापक महिलाहरुले केही गर्न सक्ने अवस्था छैन । यो पनि काम प्रतिको मूल्य मान्यतानै हो । घरको कामलाई महत्व नदिने प्रवृत्ति हामी कहाँ व्यापक छ । मानिसको जीवन अघि बढाउन विभिन्न कुराले महत्व राख्छ तर सबैभन्दा बढि महत्व आर्थिक कुराको छ । आफ्नो कमाईको पैसा हुनु र नहुनुले जीवनमा ठुलो अर्थ राख्छ । महिलाका लागि श्रीमानसँग मागेको एक हजार भन्दा आफुले कमाएको एक सयको महत्व धेरै छ । श्रीमानको कमाईको हिसाबकिताब देखाउनु पर्छ, आफ्नो कमाई आवश्यकता अनुरुप निर्धक्कसंग खर्च गर्न सकिन्छ । त्यसैले आफुले जे जस्तो काम गर्न सकिन्छ, काम गरेर आफ्नै कमाइमा आत्म निर्भर हुनु जरुरी छ । यो महिलालाई पनि आवश्यक छ, पुरुषलाई पनि आवश्यक छ । आत्मसम्मान पूर्वक काम गर्ने र दुइ चार पैसा कमाउने वातावरण बनाउनका लागि हामीले काम प्रतिको मूल्य मान्यता र दृष्टिकोण परिवर्तन गर्नु जरुरी छ । कुर्सीमा बसेर गर्ने मात्र राम्रो काम हो भन्ने कुराबाट मुक्त हुनु पर्छ । त्यसका लागि सबै हामी सबैको समान उत्तरदायित्व छ ।

email :  [email protected]

Comment

Related News 

© 2016 All right reserved to

%d bloggers like this: