२५ अंकले ओर्लियो नेप्से


काठमाडौं । नेप्से परिसूचक बुधबार २५ अंकले ओर्लिएको छ। १. ७ प्रतिशतले नेप्से ओर्लिएपछि १४ सय ७० अंकमा कायम भएको छ।

यस दिन कारोबार रकममा पनि गिरावट आएको छ। अघिल्लो दिन ६८ करोडको कारोबार भएकोमा आज ४८ करोडमा सीमित रह्यो।

एभरेष्ट र हिमालयन बैंकको बुक क्लोज भएपछि कारोबार रकम प्रभावित भएको हो।

व्यापारिक र होटल समूह झिनो १ अंकले सकारात्मक रहे पनि अरु समूह ओर्लिएका छन्।

बिमा १७८, उत्पादन ८६, बैंकिङ २७, जलविद्युत १७, विकास बैंक ९ र अन्य समूह ४ अंकले ओर्लिएका छन्।

यस दिन कारोबार रकमका आधारमा भने एभरेष्ट बैंक नै अग्रस्थानमा रह्यो। सो कम्पनीको ३ करोड ८८ लाखको कारोबार भयो। बोनसपछि एभरेष्टको सेयर मूल्य १८ सय ७६ कायम भएकोमा आजको कारोबार बन्द हुँदा घटेर १८ सय कायम भएको छ।

त्यस्तै एनएमबि बैंकको २ करोड ५४ लाखको कारोबार भयो। बैंक अफ काठमाण्डु, सिभिल पनि कारोबारका आधारमा अगाडि रहे।

बजार घट्दा पनि नागबेली लघुवित्तको सेयर मूल्य १० प्रतिशतले बढेको छ। त्यस्तै एनबि इन्स्योरेन्सको मूल्य पनि ९.९ प्रतिशतले बढेको छ। मेरो माइक्रोफाइनान्सको मूल्य ७.९ प्रतिशतले बढेको छ।

रिलायबल माइक्रोफाइनान्सको सेयर मूल्य ८. ६ प्रतिशतले घटेको छ। बजारमा उच्च मूल्य रहेको युनिलिभरका लगानीकर्ताले ५. ८ प्रतिशतले मूल्य गुमाएका छन्। सो गिरावटसँगै कम्पनीको सेयर मूल्य प्रतिकित्ता २६ हजार ७ सय ६० कायम भएको छ।

समग्र बजारमा डिमाण्ड बढे पनि बिक्री गर्नेहरुमा धैर्यता हुन नसक्दा बजार ओर्लिँदै गएको छ।

Comment

Related News 

© 2016 All right reserved to

%d bloggers like this: