किताब छाप्ने रकम नहुँदा जनक शिक्षाको छपाई प्रभावित 


काठमाडौं, मंसिर २० – कागज खरिदका लागि रकम नभएपछि जनक शिक्षा सामग्री केन्द्र लिमिटेडको पाठ्यपुस्तक छपाइ प्रभावित भएको छ ।

आउँदो शैक्षिक सत्रका लागि कक्षा ६ देखि १० सम्मका लागि झण्डै दुई करोड थान पाठ्यपुस्तक छपाइको जिम्मेवारी लिएको केन्द्रले सरकारसँग कागज खरिदका लागि २५ करोड ऋण रुपैयाँ मागेको छ । ऋण दिने विषयमा सरकार सकारात्मक भए पनि समयमा निर्णय नहुँदा पाठ्यपुस्तक छपाइ स्थगन भएको केन्द्रका निर्देशक कपिलदेव पोखरेलले बताउनुभयो । कक्षा १ देखि ७ सम्मका पाठ्यपुस्तको छपाइको जिम्मेवारी निजी क्षेत्रलाई दिइएको छ ।

पोखरेलका अनुसार रकम नहुँदा ‘ऋची पेपर’बाट बोलपत्र स्वीकृत भएको एक हजार तीन सय मेट्रिक टन कागज आउन सकेको छैन । दैनिक एक लाख थानसम्म छपाइको क्षमता भएको केन्द्रमा कागज नहुँदा हाल रङ्गीन अफसेट प्रेस बन्द छन् । शिक्षामन्त्री धनीराम पौडेलको शैक्षिक सुधारको कार्ययोजनामा पाठ्यपुस्तक समयमै विद्यार्थीको हातमा दिइने र कक्षा १ देखि ३ सम्मका पाठ्यपुस्तक रङ्गीन छपाइ गरिने उल्लेख थियो ।

प्रेस बन्द भएसँगै लक्षित पाठ्यपुस्तक उत्पादन समयमा नहुने र यस वर्ष पनि विद्यार्थी तथा अभिभावकले हैरानी पाउने खतरा देखिएको छ । घाटामै रहेको पाठ्यपुस्तक बिक्रीवितरण गर्ने अर्को निकाय साझा प्रकाशनलाई सरकारले कुनै जिम्मेवारी दिएको छैन । सरकारी निकायले समयमा काम गर्ने वातावरण नहुँदा विद्यार्थीले समयमा पाठ्यपुस्तक नपाउने मात्र होइन अन्तिम समयमा निजी मुद्रकलाई कमिसनमा काम दिने प्रवृत्ति देखिन्छ ।

वार्षिक १५ करोड रुपैयाँ घाटामा रहेको केन्द्रले यसअघि सरकारसँग लिएको ७० करोड रुपैयाँ ऋण तिर्न बाँकी छ । आन्तरिक अव्यवस्थापन र पाठ्यपुस्तकको मूल्य नबढेका कारण संस्था घाटामा गए पनि यहाँभित्रका आर्थिक कारोबारबारे छानबिन भएको छैन ।

रकम अभावसँगै केन्द्रमा व्यवस्थापकीय नेतृत्व रिक्त भएपछि संस्थामा अन्योल देखिएको छ । खुला प्रतिस्पर्धाबाट चार वर्षअघि नियुक्त प्रबन्ध सञ्चालक अनिलकुमार झाको कार्यावधि यही मङ्सिर १४ गतेदेखि सकिएपछि पद रिक्त छ । केन्द्रको सञ्चालक समितिको अध्यक्षमा शिक्षा मन्त्रालयका सचिव पदेन रहने व्यवस्था छ ।

मन्त्रालयका सहप्रवक्ता सरस्वती पोखरेलले केन्द्रले मागेको ऋण दिने विषयमा अर्थ मन्त्रालयमा छलफल भएकाले केही समयमा निर्णय हुने बताउनुभयो । उहाँका अनुसार केन्द्रका प्रबन्ध सञ्चालक नियुक्ति बारेमा पनि सरकारले चाँडै निर्णय गर्ने छ । रासस

Comment

Related News 

© 2016 All right reserved to

%d bloggers like this: