कच्चा तेलको भाउ डेढ वर्षकै उचाइमा


लण्डन (बेलायत) । सोमवार अन्तरराष्ट्रिय बजारमा कच्चा तेलको भाउ उकालो लागेको छ । विश्वका प्रमुख तेल उत्पादक राष्ट्रहरूबीच तेल उत्पादन कटौती गर्ने सहमति भए पनि तेलको भाउ डेढ वर्षयताकै उचाइमा पुगेको छ । त्यस्तै अमेरिकी ट्रेजरी यिल्ड पनि २ वर्षभन्दा बढीको उचाइमा पुगेको छ । अमेरिकाले विश्वव्यापी वित्तीय सङ्कटयताको दोस्रो ब्याजदर कटौती गर्ने सम्भावना बढिरहेको समयमा पेट्रोलियम निर्यातक राष्ट्रको सङ्गठन (ओपेक) तथा नन–ओपेक राष्ट्रबीच भएको तेल उत्पादन कटौतीसम्बन्धी समाचारले बजार तताएको छ ।

ब्रेण्ट क्रुडकोे भाउ सोमवार ५ प्रतिशतभन्दा बढीले बढेर प्रतिब्यारेल ५७ डलर पुगेको छ । ब्रेण्टको भाउ ५७ डलरमाथि पुगेको सन् २०१५ को जुलाईयता यो नै पहिलोपटक हो । त्यस्तै अमेरिकी परिसूचक वेष्ट टेक्सस इण्टरमिडियटको भाउ पनि प्रतिब्यारेल ५४ डलरमाथि पुगेको छ । यसले अन्तरराष्ट्रिय स्तरमा मुद्रास्फीति बढाउन सक्ने देखिएको छ । यसैक्रममा विश्वको सबैभन्दा ठूलो तेल उत्पादक राष्ट्र साउदी अरेबियाले ओपेकको बैठकमा सहमति भएभन्दा बढी परिमाणमा तेल कटौती गर्न सक्ने बताएर सबैलाई आश्चर्यमा पारिदिएको छ ।

तेलको भाउमा वृद्धि भएको समाचार आएलगत्तै यूरोपेली तेल कम्पनीको शेयर भाउ २ प्रतिशतभन्दा बढीले बढेको छ । यसैबीच डलरको भाउ पनि जापानी मुद्रा येनको तुलनामा फेब्रुअरीयताकै उचाइमा पुगेकाले मुद्रा बजारले सबैको ध्यान खिचेको थियो । फेडरल रिजर्भले ब्याजदर बढाउने सम्भावना आइरहेकै समयमा डलरको भाउ बढेको छ भने कच्चा तेलको भाउ बढ्दा जापानलाई प्रभावित पार्न सक्ने देखिएको छ । जापान कच्चा तेलको प्रमुख आयातकर्ता भएका कारणले पनि यसको मूल्य बढ्दा उसको अर्थतन्त्रमा असर पर्न सक्ने विश्लेषण गरिएको छ ।

कच्चा तेल उत्पादन कटौतीसम्बन्धी सम्झौता नर्वेजियन क्राउन, क्यानाडेली डलर र रूसी रुबलको भाउलाई फाइदाजनक भएको थियो । रुबलको भाउ डलर र यूरो दुवैको तुलनामा झण्डै २ प्रतिशतले बढेको थियो । यसैक्रममा अन्तरराष्ट्रिय बजारमा सुनको भाउ भने ओरालो लागेको छ । शुक्रवार न्यूयोर्क मर्कण्टायलको कोमेक्स डिभिजनमा बजार बन्द हुँदा प्रतिऔंस १ हजार १ सय ५९ डलर ४० सेण्टमा रहेको स्पटको भाउ सोमवार भने शून्य दशमलव ३० प्रतिशतले घटेको थियो । सोमवार सुनको भाउ गत फेब्रुअरीयताकै न्यून हो ।

यो समाचार तयार पार्दासम्म नेपाली समय ५ः५४ बजे स्पटको भाउ प्रतिऔंस १ हजार १ सय ५५ डलर ७६ सेण्टमा पुगेको थियो । उक्त दिनको कारोबारमा सुनको भाउ प्रतिऔंस १ हजार १ सय ६१ डलर ०५ सेण्टको अधिकतम र १ हजार १ सय ५१ डलर ९८ सेण्टको न्यूनतम बिन्दुबीच र≈यो । त्यस्तै जनवरी डेलिभरीको यूएस गोल्ड फ्युचर्सको भाउ पनि प्रतिऔंस १ हजार १ सय ५७ डलर १५ सेण्टमा किनबेच भयो । यो वर्षको पहिलो अर्धवार्षिक अवधिमा भने सुनको भाउ उचाइमा पुगेको थियो ।

-एजेन्सीको सहयोगमा

Comment

Related News 

© 2016 All right reserved to

%d bloggers like this: