विदेश लगानी भित्र्याउन प्रोजेक्ट बैंक सुरु गरिने


काठमाडौं । लगानी बोर्डले विदेशी लगानी भित्र्याउन प्रोजेक्ट बैंकको सुरु गर्ने भएको छ। व्यवस्थापिका संसद विकास समितिको बुधबारको बैठकमा बोर्डका प्रमुख कार्यकारी अधिकृत महाप्रसाद अधिकारीले बोर्डको आगामी रणनीतिसम्बन्धी अवधारण सार्वजनिक गरेका छन्।

बैठकमा सांसदहरुले लगानी बोर्डको क्रियाशिलता, भावी कार्ययोजना तथा रणनीतिबारे विविध जिज्ञासा राखेका थिए। जवाफमा प्रमुख कार्यकारी अधिकृत अधिकारीले प्रोजेक्ट बैंकको अवधारणा नल्याई विदेशी लगानी नभित्रने र त्यसो नगरी मुलुकमा आर्थिक विकासको गतिले तीव्रता नलिने बताए। उनले ठूला आयोजना निर्माणका लागि बाह्य लगानी चाहिने र त्यो लगानीको सुनिश्चितता गर्नका लागि पनि प्रोजेक्ट बैंक बनाउनुपर्ने तर्क गरे। भारत लगायतमा मुलुकमा प्रोजेक्ट बैंक बनाइएको र त्यसले बाह्य लगानीकर्ताहरुलाई आकर्षित गरेको उनले बताए।

लगानी बोर्डले बाह्य लगानी भित्र्याउनका लागि बनाएको कार्ययोजनाबारे प्रधानमन्त्री पुष्पकमल दाहालसँग पनि छलफल गरेको छ। प्रधानमन्त्रीसँग पनि आवश्यक छलफल गरी प्रोजेक्ट बंैकको अवधारणा अघि सारिएको समितिलाई जानकारी दिइएको हो। बोर्डले प्रोजेक्ट बैक बनाए पछि युरोप, अमेरिका सबैतिरका लगानी कर्ताहरुलाई आकर्षित गर्न सक्ने तथ्य पनि समितिको बैठकमा पेश गरेको छ।

बैठकमा समितिका सदस्यहरुले विकास आयोजनाहरु लगानीको अभावमा छटपटाइरहेको भन्दै त्यसका लागि आवश्यक तयारी गर्न बोर्डलाई सुझाव दिएका थिए। उनीहरुले सरकार फेरिएसँगै लगानी बोर्डको नेतृत्व परिवर्तन हुने अवस्था आउन नदिने गरी ऐन संशोधन गर्नुपर्नेमा पनि जोड दिएका छन।

रणनीति अनुसार बोर्डलाई अघि बढन दिन पनि सरकार परिवर्तनसँगै बोर्डको नेतृत्व परिवर्तन गर्न नहुनेमा जोड दिइएको हो। समितिका सदस्यहरुले सम्झौताका नाममा विदेशी कम्पनीहरुले नेपालका विभिन्न आयोजना अलपत्र पारेको भन्दै त्यसो हुन नदिने व्यवस्था गर्नपर्नेमा पनि जोड दिएका छन्।

बैठकमा समितिका सभापति रविन्द्र अधिकारीले विकास आयोजनाका कामलाई छिटो सम्पन्न गर्नेगरी आवश्यक योजना ढिलो नगरी तर्जुमा गर्न बोर्डलाई सचेत गराएका थिए।

Comment

Related News 

© 2016 All right reserved to

%d bloggers like this: