माईभ्याली फुटबलको तयारी धमाधम

  • सुधारिँदै टुँडिखेल

  •  इलाम

    मंसिर १५, २०७३- सदरमुकामस्थित टुँडिखेलको स्तरोन्नति थालिएको छ । माईभ्याली गोल्डकपका लागि मैदानको आकार बढाउने र ग्रिनट्रफ तयार गर्ने काम धमाधम भइरहेको छ । बजारको तल्लो भागमा अवस्थित राणा शासनकालमा नै निर्माण भएको टुँडिखेलको अवस्था राम्रो नभएकाले पूर्वी पहाडकै ठूलो माईभ्याली गोल्डकपसहित स्थानीय खेलकुद प्रतियोगिता प्रभावित हुँदै आएका थिए ।

    मैदान कडा भएकाले खेल्न असजिलो महसुस भएको अवस्थामा जिल्ला फुटबल संघ र माईभ्याली फुटबल क्लबले मैदानको स्तरोन्नति थालेका हुन् । नेपाली सेना मातहतको मैदान सुधार्न सेनाका जवानले पनि सघाएका छन् । मैदानको ग्रेडिङ गरी रोडा ढुङ्गा हटाउने कार्य सकिएको छ । खेल्न सहज बनाउन चिम्टिया माटो ल्याएर हालिएको छ ।

    मैदानको लेबलिङपछि स्थानीय जातको घोडे दुबे रोप्ने काम जारी छ । सदरमुकामको एक मात्र टुँडिखेल स्तरोन्नति गर्न बर्खायामदेखि नै बन्द अवस्थामा राखिएको थियो । फागुनसम्ममा मैदान खेल्न योग्य हुने जिल्ला फुटबल संघका अध्यक्ष निरोज खड्गीले बताए ।

    लामो समयसम्म खेलमैदान बन्द भएकाले स्थानीयले खेलकुदसम्बन्धी क्रियाकलाप गर्न सकेका छैनन् । मैदानलाई खेल्न योग्य बनाउन करिब २० लाख रुपैयाँ लाग्ने खडगीको भनाइ छ । माईभ्याली फुटबल क्लबको आन्तरिक स्रोत, जिल्ला विकास समितिको तीन लाख रुपैयाँ र स्थानीय दाताको सहयोगमा स्तरोन्नतिको काम थालिएको हो ।

    एन्फाले घोषणा गरेको दस लाख रुपैयाँ प्राप्त नहुँदा समस्या छ । स्तरोन्नतिपछि मैदानको लम्बाइ एक सय पाँच मिटर र चौडाइ ६० मिटर हुनेछ । ‘ए’ डिभिजनका क्लबले प्रतिस्पर्धा गर्ने माईभ्याली गोल्डकपको सञ्चालनका लागि पनि मैदान पुनर्निर्माण गर्नुपर्ने आवश्यकता भएको हो । कडा मैदानका कारण प्रतियोगिता दौरान खेलाडी घाइते हुने र चाहेको जस्तो खेल्न नसक्ने गुनासो निकै छ ।

    माईभ्यालीको तेस्रो संस्करण चैतमा हुनेछ । अघिल्ला दुई प्रतियोगिता माघ महिनामा सञ्चालन गरिएको थियो । मैदानलाई व्यवस्थित बनाउन समय लाग्ने भएकाले र यहाँको मौसम अनुकूल बनाउन चैतमा प्रतियोगिता आयोजना गर्ने निष्कर्षमा पुगेको माईभ्याली फुटबल क्लबका अध्यक्ष धिरेन चेम्जोङले बताए ।

    ‘चिसो मौसमका कारण खेलाडी र दर्शकलाई पनि समस्या भयो,’ उनले भने, ‘फागुनमा प्रतियोगिता सम्पन्न गर्न चाहेको भए पनि देशका विभिन्न स्थानमा प्रतियोगिता रहेकाले चैत पुगेको हो ।’ प्यारापिट नहुँदा भने आयोजकले बर्सेनि लाखौं खर्च गर्नुपर्ने बाध्यता अझै रहनेछ ।

    माईभ्याली गोल्डकपको अवसरमा ७ लाख रुपैयाँसम्म खर्चेर बाँसको प्यारापिट निर्माण गरिनेछ । सदरमुकाम क्षेत्रमा प्यारापिटसहितको मैदान बनाउने पर्याप्त जमिन नहुँदा टुँडिखेललाई प्रयोग गर्नुपर्ने अवस्था छ । १२ किलोमिटर टाढा गोदकको राजदुवालीस्थित माईटप्पुलाई स्टेडियमसहितको संरचना बनाउने पहल थालिए पनि लामो दूरीका कारण तत्काल कठिनाइ हुने भन्दै सरोकारवालाले महत्त्व दिएका छैनन् ।
    १९३९ तिरै श्रीनाथ पल्टन यहाँ आएपछि हलगोरु नारेर मैदान सम्याएको इतिहास छ । उतिबेला पुरुषहरू गोरु नारेर मैदान सम्याउने र महिलाले मकै भुटेर खाजा खुवाएको पाकाहरूले सुनाएको स्थानीय धर्म गौतम सम्झन्छन् । लामो समयसम्म पल्टनलाई परेड खेलाउन प्रयोग गरिएको मैदानमा १९९० पछि फुटबल खेल सुरु भएको थियो ।

    राणा सैनिक र स्थानीयबीच हुने प्रतियोगिता अबेरसम्म चल्ने भएकाले पेट्रोलम्याक्स बालेर पनि खेल हुने गरेको पाकाहरू सम्झन्छन् । आधुनिक फुटबल विकाससँगै विभिन्न जिल्लास्तरीय र क्षेत्रीयस्तरको प्रतियोगिता थेगेको टुँडिखेलमा २०४१ मा अन्तरअञ्चल महिला फुटबल प्रतियोगिता भएको थियो । मेचीदेखि महाकालीसम्मका महिला टिम सहभागी थिए । २०५२ देखि ०५४ सम्म राष्ट्रियस्तरको भूकम्पपीडित फुटबल प्रतियोगिता सञ्चालन भयो । त्यसपछि जिल्ला र क्षेत्रस्तरका प्रतियोगिता हुँदै आएको टुँडिखेलमा २०७१ सालदेखि माईभ्याली गोल्डकपको आयोजना गर्न थालिएको हो ।

    Comment

    Related News 

    © 2016 All right reserved to

    %d bloggers like this: