बेनी–दरबाङ सडक स्तरोन्नतिका लागि बहुवर्षिय ठेक्का प्रक्रिया अर्थमन्त्रालयबाट स्वीकृत


म्याग्दी ।  पहाडी जिल्ला म्याग्दीको अत्यन्त महत्वपूर्ण तर जोखिमयुक्त मानिएको सदरमुकाम बेनीदेखि पश्चिम जोड्ने बेनी–दरवाङ सडकखण्डको कालोपत्रे र स्तरोन्नति वहुवर्षिय ठेक्का प्रणाली मार्फत अघि बढाउन अर्थमन्त्रालयले स्वीकृति दिएको छ ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले बेनी–दरवाङ सडकखण्डलाई रणनैतिक सडकमा समावेश गरी बहुवर्षिय ठेक्का तथा आवश्यक बजेटका लागि अर्थमन्त्रालयमा गरेको प्रस्ताव स्वीकृत गरेको हो । अर्थ मन्त्रालय बजेट तथा कार्यक्रम महाशाखाका अनुसार बेनी–दरबाङ २९ किलोमिटर कालोपत्रे, स्तरोन्नतीका लागि सडकको लागत इस्टीमेट अनुसार रू. १८ करोड ५५ लाखको निर्माण कार्य बहुवर्षिय ठेक्का प्रणाली अन्तर्गत नै निर्माण गर्न उपप्रधान तथा अर्थमन्त्रीको निर्णय स्वीकृत गरिएको  जिल्ल विकास समिति म्याग्दीलाई प्राप्त पत्रमा उल्लेख छ ।

बहुवर्षिय योजनामा पश्चिम म्याग्दी जोड्ने सडक परेपछि म्याग्देली उत्साहित भएका छन् । उपप्रधान तथा अर्थमन्त्री कृष्णबहादुर महराले समेत सो सडकका विषयमा आफू जानकार रहेको बताउँदै आइरहेका थिए । त्यस्तै राष्ट्रिय योजना आयोगका उपाध्यक्षमा नियुक्त भएपछि म्याग्दीका मिन बहादुर श्रेष्ठले समेत जिल्लाको भ्रमणको क्रममा राहुघाट जलविद्युत आयोजना र विकास निर्माणका क्षेत्रमा अलपत्र तथा आवश्यक योजनाहरुलाई प्राथमिकता दिने बताएका थिए । पश्चिम म्याग्दीका विभिन्न गाविसका साथै छिमेकी जिल्लाका बागलुङको निर्वाचन क्षेत्र–३ मा पर्ने तमान गाविस, खुनखानी गाविस लगाएतका बस्तीका साथै रुकुम जिल्लाका केही गाविसवासीले समेत प्रयोग गर्ने बेनी–दरवाङ सडकखण्डको मर्मतसम्भारका साथै स्तरोन्नतीका लागि जिविस अन्र्तगतको ड्रिलिपमार्फत सडकको स्तरोन्नतीको प्रयास भएपनि बालुवामा पानी हालेजस्तै भएपछि पश्चिम म्याग्दीमा जनताहरू ज्यान जोखिममा राखेर यात्रा गर्न बाध्य थिए ।

सडक विभाग मार्फत सडकखण्ड अन्तरगत पर्ने बेनी नगरपालिकाका विभिन्न बजारका साथै बावियौचार, कुहुँ, अर्मन, बरंजा, दरवाङ, निस्कोट, ओखरबोट, रुम, देविस्थान, ताकम, बिम, मराङ, मल्कवाङ, कुईनेमंगले गाविसका केही भागका साथै मुना, लुलाङ, मुदी गाविसका साथै दुई छिमेकी जिल्लालाई जोड्ने रणनीतिक सडकको रुपमा प्राथमिकतामा राखेर विस्तृत आयोजना प्रतिवेदन (डिपीआर) तयार गरेको थियो । ‘जिल्लाको विकासमा लागि बहुवर्षिय योजना आवश्यक थियो ।

अर्थमन्त्रालयको निर्णयले म्याग्दीवासीलाई उत्साहित बनाएको छ’ म्याग्दी उद्योग वाणिज्य सङ्घका अध्यक्ष जीवन बहादुर विश्वकर्माले भने । उनले कालोपत्रेसँगै सडक स्तरोन्नती भए त्यसले व्यापारिक, पर्यटन, जलविद्युत, कृषि लगायतका क्षेत्रमा उल्लेखनीय सहयोग हुने बताए । म्याग्दीमा स्वागत कार्यक्रम गरी योजना आयोगका उपाध्यक्ष श्रेष्ठलाई समेत जिल्लाका अति आवश्यक क्षेत्रमा बजेट माग गर्ने क्रममा म्याग्दी उद्योग वाणिज्य संघले बेनी–दरवाङ सडकलाई समेत समावेश गरेको थियो ।

२०५५ सालबाट ट्याक खोल्न शुरु गरिएको सडकले २०६४ सालमा पूर्णता पाएको थियो । गतवर्ष बेनीबाट कालोपत्रेको कार्य शुरू भएपनि बहुवर्षिय ठेक्काको अन्यौताले म्याग्देली निरास थिए । माओवादीले बावियाचौरमा सडक निर्माणका लागि प्रयोग गरेको डोजर ध्वस्त बनाएपछि ठप्प भएको सडक निर्माणका कारण रुकुम जिल्ला जोड्ने छोटो र सहज मार्ग निर्माणमा ढिलाई भएको थियो । कच्ची र साँघुरो सडकका कारण ट्याक्क खोलिएपछि पनि बेनी–दरवाङ सडकमा भयानक दुर्घटनामा धेरैले ज्यान गुमाएका छन्। निजी र सार्वजनिक यातायातमा करीब साढे दुईघण्टा लाग्ने सडक फराकिलो र कालोपत्र गरिए आधा घण्टाको दूरी रहेको प्राविधिकहरुको प्रतिवेदनमा उल्लेख छ ।

Comment

Related News 

© 2016 All right reserved to

%d bloggers like this: