कृषक जागरण सहकारीमा करौडौं भ्रष्टाचार


लमजुङ ।
जिल्ला सदरमुकाम वंशसीशहर स्थित कृषक जागरण बचत तथा ऋण सहकारी संस्थामा करौडौं अनियमितता भएको आरोप संस्थाकै सदस्यहरूले सार्वजनिक गरेका छन् । भविष्यको सपना देखेर दुःख जेलो गरी कमाएर जोगाएको केही रकम वचत गरेका वचतकर्ताहरू यतिबेला आफ्नो रकम डुब्ने भयो भनी चिन्तित बन्न थालेका छन् । संस्थाले गत असार २४ गते विना विल भरपाई २० लाख १० हजार २५ गते ६० हजार र चैत्र २४ गते २ लाख निकालेर यस्तो अनियमितता गरेको लेखा तथा सुपरिवेक्षण समितिका संयोजक कृष्ण गुरुङले सार्वजनिक गरेका छन् । आर्थिक वर्ष २०७२÷७३ मा करोडौ अनियमितता भएको गुरुङको आरोप छ । गत साउन ८ गते लेखा समितिले अनुगमन गर्दा ३८ लाख ५५ हजारभन्दा बढी रुपैयाँको कुनै विल भरपाई नभई खर्च गरेको पाइएको संयोजक कृष्ण गुरुङले बताए ।
संस्थाले यति ठूलो रकम निकाले पनि बिना बिल भरपाई खर्च गरेपछि र एकपछि अर्को गर्दै अनियमितता गरेपछि लेखा तथा सुपरिवेक्षण समितिले चर्को आवाज उठाउँदै आएको छ । संयोजक गुरुङले पटक पटक लिखित तथा मौखिक आवाज उठाए पनि करोडौं अनियमितताको काण्ड लुकाउन खोजेपछि सहकारीमा भाँडभैलो भएको छ । अनियमितताको आवाज उठाउने संयोजक गुरुङलाई कार्यालयभित्र प्रवेश गर्न दिइएको छैन भने ज्यान मार्ने धम्की समेत दिइएको छ । गत असोज २० गते संयोजक गुरुङले आपूmलाई ज्यान मार्ने धम्की आएको भन्दै जिल्ला प्रशासन र जिल्ला प्रहरीमा सुरक्षाका लागि निवेदनसमेत दिएका छन् । सहरकारीका कार्यकारी प्रमुख राम दीक्षितले गुरुङलाई ज्यान मार्ने धम्की दिएको पीडित गुरुङले बताए । संयोजक गुरुङले सहकारीका अध्यक्ष प्रेम घलेलाई गत साउन २२ र २३ गते संस्थामा भएको अनियमितताको बारेमा लिखित रूपमा जानकारी गराए पनि उक्त पत्र गुपचुप राखी सञ्चालक समितिमा पेस नै नगरिएको गुरुङले बताए । संयोजक गुरुङले विज्ञप्ति नै प्रकाशित गरी अनियमितताको खुलासा गरेका छन् ।
घले गाउँ पर्यटन व्यवस्थापन समितिका अध्यक्ष समेत रहेका सहकारीका अध्यक्ष प्रेम घले लगायत संस्थाका केही पदाधिकारीले आफ्नो व्यक्तिगत काममा जाँदा पनि संस्थाको गाडीको दुरुपयोग गरेको, संस्थाको रकम खर्च गर्ने गरेको, संस्थाको सेवा केन्द्र अनुगमन गर्दा समितिका केही पदाधिकारीले टिएडिए लिए पनि प्रतिवेदन दिने नगरेको, अघिल्लो वर्षको साधारण सभामा प्रस्ताव नै नभएको एजेण्डा पछि संस्थाका उपाध्यक्ष सुभाष पौडेलले माइन्युट लेखी अध्यक्ष प्रेम घलेले मासिक २५ हजार तलब तोकेका थिए । उक्त साधारण सभाको माइन्युट सचिव कृष्ण केसीलाई लेख्न नदिई उपाध्यक्ष पौडेल आपैmँले लेखेका थिए । पछि पौडेल आपैmँले माइन्युट लेखर गत असार १५ गतेबाट लागू हुने गरी आफ्नो र कोषाध्यक्षको तलब मासिक ७÷७ हजार तोकेका थिए । जब कि सहकारी संस्थामा सञ्चालक समितिले तलब खान पाउने कानुनी व्यवस्था छैन ।
गत बैशाख २३ गते ऋण समितिका सदस्य कृष्ण प्रसाद अधिकारीको एकल निर्णयका आधारमा ५० लाख भन्दा बढी ऋण वितरण गरिएको लेखा समितिले सार्वजनिक गरेको छ । ऋण समितिमा सुभाष पौडेल र महेन्द्र थापा भए पनि कृष्णप्रसाद अधिकारीले एकल निर्णयका आधारमा ५० लाख भन्दा बढी ऋण दिएका छन् । सदस्य महेन्द्र थापालाई ९ पटकसम्म ऋण समितिको बैठकमा बोलाइएको छैन । संस्थामा बहादुर थापा बहादुर घले नामक कृत्रिम व्यक्तिका नाममा शंकास्पद खाता खोली संस्थाका विभिन्न आम्दानीहरू लुकाई उक्त खातामा जम्मा गरिएको प्रमाण समेत लेखा समितिले फेला पारेको छ । उक्त खाता गैर कानुनी भएको लेखा समितिले आवाज उठाइरहेको छ । उक्त खातामा भएको रकम पटक पटक खर्च गरी लेखा समितिले २०७३ साउनको पहिलो साता अनुगमन गर्दा सो खातामा झण्डै ७३ लाख रहेको र उक्त खाताको रकम सिमित व्यक्तिले निजी प्रयोजनमा खर्च गरेको तथ्य समेत लेखा समितिले भेटाएर सार्वजनिक गरेको छ । सञ्चालक समितिका उपाध्यक्ष एवं ऋण समितिका संयोजक सुभाष पौडेलले विना धितो गत असार ३ गते ७ लाख, गत चैत्र १६ गते सिइओ राम दीक्षितले विना धितो १२ प्रतिशत व्याजमा ८ लाख, जिएम सुरेश थापाले गत जेठ २० गते विना धितो ८ लाख ऋण लिएको समेत उजागर भएको छ ।
लेखा समितिले अन्य शेयर सदस्यलाई धितो चाहिने तर यी व्यक्तिलाई बिना धितो कम व्याजमा ऋण दिएको भन्दै विरोध गरेका छन् । संस्थाको विचौर सेवा केन्द्रका कर्मचारी सुकबहादुर तामाङले शाखा प्रबन्धक दिपेन्द्र पराजुलीको मिलीमतोमा ८ लाख भन्दा बढी अनियमितता गरेको, चक्रतीर्थ सेवा केन्द्रमा कार्यरत कर्मचारी तुला गुरुङले ५० लाख ६३ हजार ४ सय ६९ रुपैयाँ हिनामिना गरेका थिए । तुला गुरुङका बाबु रामप्रसाद गुरुङले ०७१ जेठ १२ गते उक्त रकम तिर्छु भनी कपाली तमसुक गरे पनि उक्त विषयमा सहकारी मौन बसेको र यसरी मौन बस्नुमा संस्थाका अध्यक्ष घले उपाध्यक्ष सुभाष पौडेल र सिइओ राम दिक्षितको मिलिमतो भएको आरोपसमेत संस्थाका सदस्यहरूले लगाएका छन् । यो कुरालाई संयोजक कृष्ण गुरुङले समेत स्वीकारेका छन् । गत असोज १७ गते भएको साधारणसभामा लेखा समितिका संयोजक कृष्ण गुरुङले बोल्दै गर्दा माइक बन्द गरिएको थियो भने गुरुङका पक्षमा आवाज उठाउँदा शेयर सदस्यलाई बोल्न दिइएको थिएन । संस्थाका वरिष्ठ उपाध्यक्ष बमबहादुर थापा सचिव कृष्ण केसीले संस्थामा व्यापक अनियमितता भएको सुशासन नभएको र संस्था विधिमा नचलेको भन्दै गत चैत्र २ गते अध्यक्ष प्रेम घलेलाई ज्ञापन पत्र समेत बुझाएका र त्यसको कुनै सुनुवाई नभएपछि उनीहरूले चैत्र ८ गते राजिनामा दिएका थिए ।
गण्डकी अञ्चलभर कार्यक्षेत्र रहेको र झण्डै २६ हजार शेयर सदस्य र १ अर्ब १४ करोड २१ लाख ४३ हजार २ सय ६ रुपैयाँ कारोबार रहेको यस सहकारीमा व्यापक अनियमितता र भ्रष्टाचार भएपछि २६ हजार सदस्यको रकम जोखिममा परेको कृष्ण गुरुङले बताए । तमु छोज धिकासमेत अध्यक्ष रहेका यस सहकारीका अध्यक्ष प्रेम घलेले सो संस्थामा पनि व्यापक अनियमितता गरेको भन्दै तमुहरूले २ वर्षदेखि उक्त कार्यालयमा तालाबन्दी गरेका छन् भने उक्त संस्थाको भ्रष्टाचार काण्ड अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा समेत पुगेको छ ।

Comment

Related News 

© 2016 All right reserved to

%d bloggers like this: