चूडामणि शर्मालाई साधारण तारेखमा छाड्न आदेश


काठमाडौं । आन्तरिक राजस्व विभागका निलम्बित महानिर्देशक चूडामणि शर्माको बन्दी प्रत्यक्षीकरण रिटको सुनुवाइ गर्दै सर्वोच्च अदालतले शर्मालार्इ साधारण तारेखमा छाड्न आदेश दिएको छ । न्यायाधीशहरू दीपकराज जोशी, दीपकुमार कार्की, केदारप्रसाद चालिसे, शारदाप्रसाद घिमिरे र अनिलकुमार सिन्हाको पूर्ण इजलाशले उक्त अदेश दिएको सर्वोच्चका प्रवक्ता नारायणप्रसाद पन्थीले जानकारि दिए ।

शर्मासँग विशेष अदालतले मागेको धरौटी रकमलाई पनि सर्वोच्चले अस्वाभिवक भनेको छ । धरौटी रकम मनासिब नदेखिएको आदेशमा उल्लेख छ । शर्मासँग विशेष अदालतले दुई अर्बभन्दा बढी धरौटी मागेको थियो ।

यसैगरी शर्माविरूद्ध विशेष अदालतमा दायर भएको मुद्दा तत्काललार्इ अगाडि नबढाउन दिएको आदेशलाई पूर्ण इजलाशले खारेज गरेको छ । उक्त विषय विशेष अदालतको क्षेत्राधिकारमा पर्ने सर्वोच्चको भनाइ छ ।

शर्माविरूद्ध अख्तियार दुरूपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दायर गरिसकेको छ । अख्तियारले शर्मासहित तीन जनाविरुद्ध १० अर्बभन्दा बढी भ्रष्टाचार गरेको अभियोगसहित मुद्दा दायर गरेको हो ।

विशेष अदालतमा शर्मासँगै कर फछ्र्योट आयोगका अध्यक्ष लुम्बध्वज महत र सदस्य उमेश ढकालविरुद्ध १० अर्ब २ करोड १९ लाख ८२४ रुपैयाँ भ्रष्टाचार गरेको अभियोगमा मुद्दा दायर भएको छ । यो मुद्दा अहिलेसम्मकै ठूलो भ्रष्टाचार मुद्दा हो ।

अख्तियारले शर्मालाई गत जेठ १९ मा नियन्त्रणमा लिएको थियो । उनी प्रहरी हिरासतमा छन् भने महत र ढकाल फरार छन् । शर्मालार्इ गैरकानुनी रुपमा थुनामा राखेको भन्दै शर्माकी श्रीमती कल्पना उप्रेतीले थुनामुक्त गर्न माग गर्दै सर्वोच्चमा रिट दायर गरेकी थिइन् । रिटमा शर्मासँग अमानवीय ढंगबाट धरौटी रकम माग गरिएको भन्दै अख्तियारलाई कर फरछ्र्योट आयोगले गरेको कामकारबाहीप्रति अनुसंधान गर्ने अधिकार नभएको उल्लेख छ ।

रिटमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग, विशेष अदालत र अनुसन्धान अधिकृत राजन अधिकारीलाई विपक्षी बनाइएको छ ।

Comment

Related News 

© 2016 All right reserved to

webs counters
Total Count
%d bloggers like this:
Loading...