मैले चिनेकी कञ्चन दिदी


– रूपा शर्मा (नेहा)

अहिले सामाजिक सञ्जालमा चर्चाको विषय बनेकी कञ्चन शर्मा रेग्मीबारे अनेक टीका–टिप्पणीहरू भइरहेका छन् । कञ्चन शर्मालाई मैले १२ वर्षअगाडि नजिकबाट चिन्ने मौका पाएकी थिएँ । लामो समयको अन्तरमा टेलिभिजनमा कुनै आश्रयस्थलबाट अन्तर्वार्ताका लागि ल्याएको भन्ने सुन्दा म छाँगाबाट खसेजस्तै भएँ ।

कतिले उहाँमा सहानुभूति प्रकट गरेका छन् भने कतिले पवित्र समाजले झुठ कुरा बोल्न सिकायो भन्ने आरोप लगाइरहेका छन् । उहाँकै श्रीमान्ले पीडक म होइन कञ्चन हो भनिरहनुभएको छ । म कसैको पक्ष र विपक्षमा वकालत गर्न चाहन्न । हिजो मैले चिनेकी कञ्चन दिदी र आज उहाँको अवस्था विश्वास नै गर्न गाह्रो भयो मलाई । तसर्थ मैले उहाँलाई जे देखँे जस्तो भोगँे त्यो नलेखी बस्न सकिनँ ।

१२ वर्षअगाडि घट्टेकुलोमा हामी एउटै घरमा बस्थ्यौँ । त्यो समय मैले पत्रकारिता सुरु गरेको तीन वर्षजति मात्र भएको थियो । एकै ठाउँमा बस्ने भएकाले दिदी र मेरो दिनहुँजस्तो भेट हुन्थ्यो । तर, धेरै गफ गर्ने समय भने हुँदैनथ्यो । फेरि काठमाडौंको बसाइ गाउँघरको जस्तो नहुने । एउटै फ्ल्याटमा बस्ने मानिस पनि कहाँ घर हो के गर्छन् भन्नेसमेत थाहा पाउन गाह्रो हुन्छ ।

दिदीसँग दुई छोरा थिए । दिदी बिहान छोराहरूलाई खानपिन गराएर स्कुल पठाउनुहुन्थ्यो, अनि घरको सरसफाइमा व्यस्त हुनुहुन्थ्यो । एकछिन पनि हात बाँधेर नबस्ने केही न केही काममा व्यस्त हुने उहाँको स्वभाव थियो । छोराहरूलाई स्कुल पठाएपछि उहाँ सामाजिक काममा खटिनुहुन्थ्यो । घट्टेकुलोमा रहेका स्थानीय सामाजिक सङ्घसंस्था, टोल सरसफाइ, टोलमा हुने हेल्थ क्याम्पहरूमा उहाँ खटिएको देख्दा म छक्क पर्थें । जहिले पनि हतारमा देखिने उहाँलाई मैले घरबाहिर भेट्दा धेरैजसो केही न केही काम र अरूलाई सहयोग गर्न दौडेको मात्र देख्थँे ।

भर्खरै पत्रकारिता सुरु गरेकी मलाई उहाँको कामप्रतिको लगावले साँच्चै नै हौसला दिन्थ्यो । ‘दिदी कति खटिनुहुन्छ तपाईं दिनभर यसरी दौडिँदा गाह्रो हुँदैन ?’ एक दिन मैले सोधँे । ‘बैनी, मानिस भएर जन्मेपछि सकेजति अरूको सेवा गर्नुपर्छ । दिनभर घरमा बसेर सिरियल हेर्नुभन्दा त केही न केही काममा खटेकै राम्रो नि, होइन ?’ भनेर उहाँले जवाफ दिनुभयो ।

‘अनि जागिर गर्नुस् न त बरु,’ मैले भनँे । जवाफमा उहाँले भन्नुभयो, ‘म नर्स मान्छे, रातबिरात ड्युटीमा जानुपर्छ । छोराहरूलाई हेरचाह गर्ने कोही छैन, मैले उनीहरूलाई समय दिइनँ भने बच्चाहरू बिग्रन सक्छन् । त्यही भएर उनीहरू सानो हुँदासम्म म जागिर खान्नँ । दिउँसो उनीहरू स्कुल जान्छन्, त्यही फुर्सदको समयमा समाजिक काम गरेको ।’

त्यो समय दिदीले आफ्ना छोराहरूलाई राम्रो रेखदेख गरेको मैले देखेकी थिएँ । छोराहरू स्कुलबाट घर आउँदा उहाँ सधँै घर पुग्नुहुन्थ्यो । दिदी सधँैजसो एक्लै, उहाँको श्रीमान्लाई मैले कहिल्यै देखिनँ । एकदिन मैले सोधँ– दिदी, भिनाजु कहाँ हुनुहुन्छ ? दिदीले अलि असजिलो मान्दै मलिन स्वरमा भन्नुभो– बाहिर हुनुहुन्छ । उहाँले त्योभन्दा बढी केही बोल्न चाहनुभएन । उहाँले जुन ढङ्गले जवाफ दिनुभयो त्यसबाट मलाई श्रीमान्–श्रीमतीको त्यति राम्रो सम्बन्ध छैन कि जस्तो लागेको थियो, तर अर्काको व्यक्तिगत मामिलामा धेरै सोधीखोजी गर्ने कुरा पनि भएन ।

छोराहरूलाई उहाँले त्यतिबेला जुनखालको हेरचाह र संरक्षण दिनुभएको थियो त्यो हेर्दा उहाँले वच्चाहरूलाई बेवास्ता गरेर हिँड्नेजस्तो पटक्कै देखिँदैनथ्यो । समय बित्दै गयो, म त्यो ठाउँ छाडेर अन्तै गएँ । दिदीसँग मेरो भेट हुन छाड्यो । आजभन्दा तीन वर्षअघि म मैतीदेवीको बाटोबाट कतै जाँदै थिएँ, दिदीलाई सडकमा उभिएको देखँे । फोहोर कपडा, जिङरिङ्ग परेको कपाल अनि चाउरी र ख्याउटो परेको अनुहार मैले दिदीलाई च्याप्प समातँे र सोधँे– दिदी मलाई चिन्नुभयो ? उहाँको अनुहारमा कुनै एक्सप्रेसन देखिएन, उहाँले एकोहोरिएर मलाई हेर्नुभयो अनि आखाभरि आँसु पार्दै चिनेको सङ्केतमा टाउको हल्लाउनुभयो, तर केही बोल्नुभएन ।

दिदी तपाईंलाई के भो ? म नेहा, हामी घट्टेकुलोमा सँगै बस्थ्यौँ नि… चिन्नुभएन ? म बोलिरहेँ, तर मैले जति कुरा गरे पनि उहाँको अनुहारमा कुनै आश्चर्यको भाव मैले देखिनँ । एकदम सुस्त, मानसिक रूपमा विक्षिप्त, उहाँ मसँग तर्कन खोज्नुभयो ।

त्यति सक्रिय दिदी त्यसरी ओइलाएको फूलझैँ देखेर म मmस्किएँ । मन भक्कानियो, तर केही गर्न सकिनँ ।

दिदी कसरी त्यो अवस्थामा पुग्नुभयो मलाई एकदम जान्न मन थियो, तर दिदी मसँग तर्कंदै त्यहाँबाट हिँड्नुभयो । म गरुँगो मन लिएर घर फर्कें । दिदीको पहिलाको अनुहार सम्झँे, उहाको कामप्रतिको लगाव र खटाइ सम्झँे अनि त्यो बेलाको अवस्था, रातभर पटक्कै निद्रा परेन ।

घट्टेकुलोमा दुई छोराको लालनपालन गरेर बसेकी ती समाजसेवी दिदी कसरी त्यो हालतमा पुग्नुभयो होला भनेर रातभर सोचिरहँे । श्रीमान्को कुरा गर्दा उहाँले अनुहार मलीन पारेको त्यो पुरानो दिन सम्झँे । टोलमा कसैलाई केही अप्ठ्यारो पर्दा हतारिएर कुद्ने दिदी आज मानसिक रूपमा विक्षिप्त भई सडकमा टोलाएर बसिरहँदासम्म उहाँको परिवारले किन उपचार गर्न लगेन होला ? मनभरि यस्तै प्रश्न आइरह्यो ।

अहिले सामाजिक सञ्जालहरूमा दिदीले रक्सी खाँदै सडक–सडकमा हिँडेको भन्ने समाचार बाहिर आइरहेको छ । कञ्चन दिदीको श्रीमान्ले समेत उहाँ रक्सीको कुलतमा परेको कुरा गर्नुभएको छ । उहाँकै कारण जेठो छोरासमेत रक्सी खाने भएको बताउनुभएको छ । आफ्नो छोरा कुनै बेला कुलतमा लागेकै रहेछ भने पनि बाबुले यसरी सार्वजनिक रूपमा नभनिदिएको भए हुन्थ्यो जस्तो लाग्छ । पछि कञ्चनदिदी रक्सीको कुलतमा फस्नुभएछ । कुलतमा पर्दै गएपछि उहाँलाई छोराहरूले बेवास्ता गर्न थाले होलान् । तर, दुई छोराकी आमा अनि सामाजिक भाव बोकेकी ती दिदी के कारणले गर्दा ती कुराको भागीदार बन्नुभयो ? परिवारप्रति जिम्मेवार र लगनशील उहाँलाई रक्सीको नशातिर धकेल्ने आन्तरिक कारण के थियो ?

यसबारे उहाँको परिवारले कहिल्यै बुझ्ने प्रयास ग¥यो या गरेन ? उहाँको श्रीमान्ले कहिल्यै समय दिएर दुई छोराको संरक्षण गरिबसेकी श्रीमतीलाई सही बाटोमा ल्याउने प्रयास गरे–गरेनन् ? दिदीलाई जुनबेलासम्म मैले देखेँ उहाँको गतिविधिलाई नजिकबाट नियालेँ, त्यसबाट उहाँ कसैको बहकाव, सङ्गतले बिग्रिहाल्ने, मोजमस्तीमा समय बिताउने स्वभावको जस्तो लागेको थिएन ।

अरूको सेवामा खट्दा साह्रै आनन्द आउँछ बहिनी भन्ने ती दिदी कसरी रक्सीको कुलतमा पर्नुभयो ? कतै उहाँले आफूभित्रको पीडालाई गुम्स्याएर राख्दाराख्दै मानसिक असन्तुलन हुन पुगेको त होइन ? कतै यही मानसिक रोगले बिस्तारै उहाँलाई रक्सीको प्यालामा रमाउने बनाएको त होइन ?
अहिले दिदी मानसिक रूपमा अस्वस्थ हुनुहुन्छ । उहाँ पूर्ण रूपमा स्वस्थ भएपछि उहाँको वास्तविकतालाई गहिराइसम्म बुझेर आवश्यक परेमा त्यसलाई बाहिर ल्याउनुपर्छ ।

आजभन्दा १२ वर्षअघि उहाँ संलग्न भएर गरेको स्वास्थ्य शिविरको मैले समाचार बनाएर रेडियोमा पढेकी थिएँ । फेरि पनि उहाँ पूर्ण रूपमा ठीक भई समाजसेवामा त्यही जोसका साथ अगाडि बढेको हेर्न मन छ । शीघ्र स्वास्थ्यलाभको कामना ।

Comment

Related News 

© 2016 All right reserved to

%d bloggers like this: