भाटभटेनीको विशेष छुटले व्यवसायीहरु अप्ठ्यारोमा

  • वितरक संघका अध्यक्ष भन्छन्, व्यवसायलाई परिष्कृत गर्दै लैजानुपर्छ

  • भाटभटेनी, सेल्सवेरी तथा इ सेवा लगायतका ठूला रिटेल विजनेश हाउसले उपभोक्तालाई दिएको ठूलो छुट अफरले आफूहरुको व्यवसाय धरापमा परेको भन्दै यसको समाधानको लागि व्यवसायीहरु एकजुट हुनुपर्ने बारे एक कार्याक्रम आयोजना गरिएको छ ।

    नेपाल उद्योग वाणिज्य महासंघ, प्रदेश नम्बर ३ का अध्यक्ष दिनेश श्रेष्ठ, नेपाल वितरक संघ काठमाडौंका अध्यक्ष दुर्गाराज श्रेष्ठ, प्र्रदेश सांसद मेखलाल श्रेष्ठ, खुद्रा व्यवसायी संघका अध्यक्ष राज कुमार श्रेष्ठ लगायत उद्योगी÷आयातकर्ता, वितरक व्यवसायीहरु एवं मदिरा महासंघ र मदिरा व्यवसायी संघ काठमाडौंका प्रतिनिधि, सञ्चारकर्मी एवं अन्य सरोकारवालाको उपस्थितिमा शनिवार यी विषयहरुमा व्यापक छलफल भएको छ ।

    छलफलमा विगतमा इ–सेवाले छुटमा मदिरा उपलब्ध गराई व्यवसायीहरुलाई मुनाफामा परेको कठिनाइमा छलफलबाटै समाधान निकालिएको मदिरा संघ काठमाडौंका अध्यक्ष गोविन्द वरालले बताउनुभयो । साथै अबका दिनमा पनि व्यवसायीहरु एकजुट हुँदै समाधानमा लाग्नुपर्ने सबैजसो व्यवसायीहरु एकजुट देखिएका छन् ।

    बजारमा वितरकले पाउने भन्दा कम र एमआरपी भन्दा २० प्रतिशत सम्म कम मूल्यमा भाटभटेनी लगायतका मार्टहरुले सामान उपलब्ध गराइनुले व्यवसायीहरु साँच्ची नै मारमा पर्नुमा केही हद सम्म व्यवसायीहरु पनि जिम्मेवार रहेको निचोड समेत निकालिएको छ ।

    व्यवसायीहरुले छुटको लोभमा डिष्ट्रिव्युटरबाट सामान लिनुको सट्टा ठूला मार्टबाटै सामान लिएर बजारमा बिक्री गरेको कारण ठूला मार्टहरुलाई थप प्रोत्साहन मिलेको हुँदा यस सम्बन्धमा पनि व्यवसायीहरुले सोच्नुपर्नेमा प्रदेश सांसद एवं व्यवसायी मेखलाल श्रेष्ठले अन्य व्यवसायीलाई सचेत बनाए ।

    व्यवसायी एवं वितरक संघका अध्यक्ष दुर्गाराज श्रेष्ठले व्यवसायीहरु आफैं सचेत बन्नुपर्नेमा जोड दिएका छन् । राज्य स्रोतबाट सिधै उपभोक्ता सम्म सामान उपलब्ध गराई कम शुल्कमा नै सामान उपभोक्तालाई उपलब्ध गराउने योजनामा लागेको अवस्थामा व्यवसायीहरु परम्परागत तवरले मात्र बजारमा चलिरहँदा भावी दिनमा व्यवसायबाट विस्थापित हुनुपर्ने अवस्था आउन सक्नेमा संकेत गर्दै अब बदलिँदो परिस्थितिमा व्यवसायलाई थप परिष्कृत बनाउँदै लैजानुपर्नेमा उनले जोड दिए । केही व्यवसायीहरुले ठूला मार्टहरुलाई पनि मदिरा संघको दायरामा ल्याउनको निम्ति विशेष रणनीति अपनाउनु जरुरी रहेको बताएका छन् ।

    यसको अलावा सरकारले ल्याएको भिसिटिएस अब कार्यान्वयनमा गइसकेको अवस्थामा व्यवसायीहरु पनि सोही बमोजिम अघी बढ्नुपर्ने र मदिरा व्यवसायीहरु अनिवार्य रुपमा भ्याटमा जानुपर्नेमा व्यवसायीहरुमा ऐक्यवद्धता देखिएको छ । यसको अलावा शहरी क्षेत्रमा भिसिटिएस सिष्टम लागु गर्नमा कठिनाई नभएपनि ग्रामीण क्षेत्रका सबै व्यवसायमा भिसिटिएस सम्भव नहुने व्यवसायीहरुको धारणा छ ।

    कार्यक्रममा खुद्रा व्यापार संघका अध्यक्ष राज कुमार श्रेष्ठले भाटभटेनी र सेल्सवेरीलाई वितरक भन्दा कम मूल्यमा सामान उपलब्ध गराइएको भए सोही दरमा व्यवसायीलाई पनि उक्त सामान उपलब्ध गराउन आग्रह गरेका भएपनि कार्यक्रममा उपस्थित आयातकर्ता प्रतिनिधिहरुले भने व्यवसायीहरुलाई भन्दा आफ्ना उत्पादन सस्तोमा ठूला स्टोरलाई उपलब्ध नगराएको बरु केही प्रनिनिधिमूलक स्टोरहरु (विनायक स्टोर, केटिएम सप्लायर्स, लिक्वर वल्र्ड लगायत)का केही स्टोरले निकै सस्तोमा सामान उपलब्ध गराउनुले समेत ठूला मार्टहरुले समेत निकै छुटमा सामान उपलब्ध गराउन प्रोत्साहन मिलेको हुन सक्ने बताएका छन् । सोही कार्यक्रममा केही व्यवसायीहरुले सस्तोमा मदिरा उपलब्ध गराउने ठूला मार्टहरुलाई कम्पनी र डिष्ट्रिव्युटरबाट सामान उपलब्ध गराउन नै रोक लगाउनुपर्ने माग समेत गरेका थिए ।

    केही व्यवसायीहरुले विभिन्न समयमा व्यवसायीहरुको एकजुटले यस्ता छुटले अन्य व्यवसायीहरुलाई परेको अप्ठ्यारोमा ठूलो राहत मिलेको स्मरण गराएपनि अब भने व्यवसायीहरु एकजुट भएर मात्र नहुने र व्यवसायका सबै तहबाटै मूल्यमा एकरुपता ल्याउन पहल गर्नुपर्ने साथै कानुनी आधार खोज्नुपर्नेमा समेत जोड दिएका छन् ।

    अनुगमन बारे अात्तिनुपर्दैनः

    अघिल्लो बर्ष भएको अनुगमनको कारण मदिरा व्यवसायमा यस बर्ष निकै सुधार आएको र राज्यको ध्यान अन्य क्षेत्रमा नै मोडिएको साथै व्यवसायी समेत सचेत बनिसकेको कारण यस बर्ष मदिरा एवं खाद्यान्न व्यवसायीहरुलाई अनुगमनको कारण ठूलो समस्या सृजना नहुने अवस्था देखिएको केही व्यवसायीले बताएका छन् । साथै कुनै समस्या आएको खण्डमा वितरक संघ, खुद्रा व्यवसायी संघ लगायतबाट समेत सहजीकरणको लागि व्यवसायीहरुलाई आश्वस्त तुल्याइएको छ ।

    Comment

    Related News 

    ताजा अपडेट

    © 2016-2019 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site by : SobizTrend Technology

    %d bloggers like this: