राम्रो वातावरण बने ७५ प्रतिशत औषधी नेपालमा नै उत्पादन गर्न सकिन्छः उद्यमी पाण्डे


प्रज्ज्वलजंग पाण्डे, महासचिव, नेपाल औषधी उत्पादक संघ

लोमस फर्मास्युटिकल नेपालको निकै लामो इतिहास बोकेको औषधी कम्पनी हो । अहिलेको अवस्थामा आइपुग्दा लोमस फर्मास्युटिकल नेपाली औषधी उद्योगहरु मध्ये अग्रणी औषधी उद्योगको रुपमा परिचित छ । नेपालमा यस कम्पनीबाट उत्पादन भएका औषधीहरु अहिले विदेशमा समेत निर्यात भएका छन् । हाल यस औषधी उद्योगले करिब ४ सय प्रकारका विभिन्न औषधीहरु उत्पादन गर्दै आएको छ । हाल सम्म आइपुग्दा मुटु, डाइबिटिज लगायतका औषधीहरु उत्पादन गर्ने कार्यमा समेत यस कम्पनीले सफलता हासिल गरिसकेको छ । यसको अलावा अन्य प्यारेन्टल प्रडक्टहरु समेत उत्पादनको योजनामा यो कम्पनी रहेको कम्पनीका निर्देशक प्रज्ज्वलजंग पाण्डे बताउनुहुन्छ । पछिल्ला बर्षहरुमा यस कम्पनीले आफ्नो कार्यक्षमतालाई थप गतिशिल बनाइरहेको छ । आगामी बर्ष सम्ममा करिब ५० प्रकारका नयाँ औषधीहरुको उत्पादन थप गर्ने योजनामा आफूहरु रहेको समेत पाण्डेले बताउनुभयो ।

औषधी माथिको परनिर्भरता अन्त्यको लागि पहल 
अत्याधुनिक प्रविधिको प्रयोगबाट अनुसन्धानमा आधारित नयाँ–नयाँ औषधीहरु उत्पादन गर्न र यस क्षेत्रका विविध सम्भावनाहरुको खोजी गर्ने कार्यमा यस कम्पनीले उल्लेख्य सफलता हासिल गर्दै आएको छ । यस कम्पनीले विगतमा नेपालमा उत्पादन हुन नसकेका औषधीहरु क्रमश थप गर्दै जाने योजना बमोजिम अत्याधुनिक प्रविधिहरु भित्र्याइरहेको छ भने आवश्यकता बमोजिम जनशक्तिको क्षमता अभिवृद्धिको लागि समेत विशेष जोड दिँदै आइरहेको छ । साथै अबका दिनमा नेपालको निम्ति आवश्यक अधिकांश सबै प्रकारका औषधीहरु नेपालमा नै उत्पादन गर्ने र औषधिको निम्ति रहँदै आएको निर्भरतालाई न्यून गर्दै लैजाने योजना समेत यस कम्पनीले लिएको छ । यसको निम्ति औषधीको गुणस्तरलाई उच्च राख्दै स्वदेशी उद्योगबाट उत्पादित औषधी प्रतिको विश्वसनियता थप बढाउन यस कम्पनीले रिसर्च, डेभलपमेन्ट एण्ड फर्मुलेसन अन्तरगत समेत विशेष जोड दिँदै आएको छ । हाल यस कम्पनीमा रिसर्च एण्ड फर्मुलेसनमा करिब २० जना व्यक्तिहरु संलग्न छन् ।

औषधी उद्योगको योगदान 
नेपालमा अहिले सम्म आइपुग्दा औषधी उद्योग क्षेत्र समेत निकै ठूलो रकम लगानी भएको, अत्याधुनिक मेसिनहरु तथा प्रयोगशालाबाट औषधी उत्पादन गर्नुको अलावा निकै ठूलो मात्रामा रोजगारी सृजना गर्न सक्षम क्षेत्रको रुपमा समेत विकास भएको छ । लोमस फर्मास्युटिकल्सले हाल करिब २ सय ८० जना व्यक्तिहरुलाई प्रत्यक्ष रोजगारी सृजना भएको छ ।

नेपालमा औषधी उद्योग क्षेत्रको अवस्था 
नेपालमा अहिलेको अवस्थामा औषधी उद्योग क्षेत्रको बजार निकै नै बढेको छ । लगानी समेत बढेको छ । यस क्षेत्रमा लगानी विस्तारको सम्भावना समेत निकै राम्रो छ । जसले गर्दा अबका केही समयमा नै नेपालमा करिब २० ओटा नयाँ औषधी कम्पनीहरु थपिने क्रममा छन् । साथै नेपालमा पनि विगत लामो समय देखि नै उत्पादन हुँदै आएका औषधीहरुलाई समेत नयाँ स्वरुपमा उत्पादन गर्ने प्रक्रिया समेत अघी बढाइएको छ । साथै प्रविधिमा भएको विकास सँगै औषधी उत्पादन गर्ने प्रक्रियामा समेत नयाँपन ल्याउन प्रयाश गरिएको छ ।

नेपालको औषधी उत्पादन क्षमता 
यस बर्षको तथ्याङ्कलाई हेर्दा नेपालमा करिब ४२ अर्ब रकम बराबरको लगानी औषधी उद्योग क्षेत्रमा भएको छ । त्यस मध्ये नेपाली औषधी उद्योगहरुबाट उत्पादित औषधीले करिब ४७ प्रतिशत भन्दा बढी बजार हिस्सा ओगटेको छ, यसैगरी भारतीय र विदेशी औषधीको बजार करिब ४५ प्रतिशत रहेको छ भने करिब ३ देखि ४ प्रतिशत बहुराष्ट्रिय कम्पनीको रहेको छ ।

औषधी उद्योगहरुको सरकार प्रतिको अपेक्षा 
अहिलेको बलियो सरकार प्र्रति नेपाल औषधी उत्पादक संघले अपेक्षा गरेबमोजिमका उपलब्धि त हासिल भएका छैनन्, यद्यपि व्यवसायीहरु नेपालमा औषधी उद्योगहरु सञ्चालनको लागि राज्यबाट अझ राम्रो वातावरण बन्नेमा निकै नै आशावादी छौं । नीतिगत रुपमा पनि अन्य उद्योगहरु जस्तै औषधी उद्योगलाई पनि राज्यले आधारभूत संरक्षण दिने भन्ने व्यवस्था अघिल्लो बर्षबाट नै नीतिगत रुपमा भइसकेको छ । यद्यपि अहिले सम्म नेपालमा उक्त नीति कार्यान्वयनमा आउन भने सकेको छैन । यद्यपि हामी व्यवसायीहरु राज्यले ल्याएका नीति छिट्टै कार्यान्वयनमा जानेमा निकै नै आशावादी छौं । आशा गरौं, अब छिट्टै नै यसको लागि कार्यविधिहरु बनेर यसले यथार्थता प्राप्त गर्नेछ ।

राज्यले गर्नुपर्ने कार्यहरु 
औषधी उद्योग क्षेत्रको थप प्रवद्र्धनेको लागि राज्य पक्षबाट गरिनुपर्ने थुप्रै कार्यहरु छन् । राज्यले नेपालमा औषधी उत्पादन गर्ने कम्पनीहरुलाई प्राविधिक सहयोग उपलब्ध गराउने, क्षमता अभिवृद्धिको निम्ति काम गर्ने, नेपालमा उत्पादन हुन नसकेको औषधी उत्पादनको निम्ति राज्यले थप प्रोत्साहन गर्ने, सीप र क्षमता विकासको लागि पहल गर्ने, औषधीको गुणस्तरमा थप अभिवृद्धि ल्याउनको लागि विभिन्न किसिमले सहयोग गर्ने, खुला सीमानाको कारण अनाधिकारिक औषधीहरु पनि नेपालमा भित्रिइ नै रहेको अवस्थामा त्यस्ता औषधीहरुलाई रोक्नको लागि पहलकदमी लिने लगायतका थुप्रै कार्यहरु राज्यको सहयोगमा अघी बढ्नु जरुरी छ । यद्यपि अहिले सम्म भने यस्ता के–कस्ता कामहरुमा कसरी सहकार्य गर्ने भन्ने सम्बन्धमा कार्ययोजना नबनेको कारण समस्या सृजना भएको छ ।

स्वदेशी औषधीलाई प्राथमिकता दिनु जरुरी 
नेपालमा औषधी उत्पादन र उपलब्ध हुन कक्ने औषधीहरु नेपालीलाई नै प्रयोग गर्ने र नेपालमा उत्पादन हुन नसक्ने औषधीहरुलाई विदेशबाट ल्याउनको निम्ति अब सोही बमोजिमको व्यवस्था गर्नुपर्ने आवश्यकता छ । नेपालको निम्ति आवश्यक सबै प्रकारका औषधीहरु नेपाली कम्पनीबाट नै उत्पादन हुन सक्छन् भन्ने अवस्था पनि रहँदैन । यद्यपि नेपालमा सम्भव भएका औषधीहरु नै नेपालीहरुको लागि प्रयोग गर्ने नीति पनि निकै महत्वपूूर्ण छ । जसले गर्दा नेपालका औषधी उद्योगहरुको क्षमता थप अभिवृद्धि हुन सक्नेछ । यही कुरालाई विचार गर्दै सोही बमोजिम अहिले पनि नेपालका औषधी व्यवसायीहरु राज्य पक्षसँग विभिन्न तवरले छलफल र अन्तरक्रिया गर्दै अघी बढिरहेका छौं ।

औषधी उद्योगमा ठूलो परिमाणमा लगानी थपिँदै 
नेपालमा औषधी उद्योगले अहिले पनि निकै धेरै मात्रामा रोजगारी सृजना गरेको छ । साथै आगामी दिनमा समेत यस क्षेत्रले अझ ठूलो मात्रामा रोजगारी सृजना गर्ने अवस्था सृजना हुँदैछ । पछिल्लो ५÷६ बर्षमा नेपालमा जति औषधी उद्योगहरु सञ्चालनमा आइ काम गरिरहेका छन्, करिब त्यत्ति नै परिमाणमा अबको ६ महिनामा औषधी उद्योगहरु थप हुँदैछन् । जुन समग्र औद्योगिक विकासको लागि निकै नै खुसीको कुरा समेत हो । अहिलेको सरकार प्रतिको विश्वासको कारण नेपालमा यो अवस्था सृजना भएको हो । नेपालमा अहिलेको अवस्थालाई व्यवसायीहरुले राम्रो लगानी विस्तारको वातावरण बन्दै गएको रुपमा बुझेका छन् ।

अहिले नेपालमा करिब ५६ ओटा औषधी उद्योगहरु सञ्चालनमा छन् । अबको १ बर्षमा नै करिब २० ओटा नयाँ उद्योगहरु स्थापना हुने किसिमले कामहरु अघी बढिरहेको छ । यी सबै उद्योगहरु नेपालमा सुरक्षित र राम्रो वातावरणको सम्भावनालाई देखेर नै स्थापना हुन लागेका हुन् । यस्तो अवस्थामा राज्य पक्षले नेपालमा लगानी विस्तार गर्न लागेका उद्योगहरुलाई स्वागत गर्दै नयाँ बजारको खोजी तथा विकास गर्न एवं प्रोत्साहनको लागि विशेष पहल गर्नुपर्ने जरुरी समेत छ ।

व्यवसायी प्रतिवद्ध छौं 
जनताले आवश्यकता बमोजिम सुरक्षित औषधी प्रयोग गर्न पाउनुपर्छ भन्ने मान्यतामा नेपालको राज्य पक्ष रहँदै आएको छ । हामी व्यवसायीहरु पनि राज्यको त्यही योजनालाई साकार पार्ने कार्यमा जिम्मेवारपूर्वक लागिरहेका छौं ।

औषधी व्यवसायी संघ बीच सहकार्य 
हरेक कम्पनीबाट उत्पादित औषधीहरु व्यवसायीहरुको माध्यमबाट नै जनताको पहुँचमा पुग्ने गर्छन् । अहिले नेपालका सबै जिल्लाहरुमा सुरक्षित तवरले औषधीहरुको पहुँच विस्तार भएको छ । कतिपय अवस्थामा केही सामान्य जानकारीको अभावले गर्दा अझै पनि कम्पनीबाट उत्पादित औषधी सोही गुणस्तरमा नै उपभोक्ताको पहुँचमा नपुगेको हुन सक्छ, त्यस कुरालाई समेत विशेष मध्यनजर गरेर अहिले हामीले औषधी प्रयोग सम्बन्धमा विभिन्न सचेतनामूलक कार्यक्रमहरु समेत सञ्चालन गर्दै आएका छौं । यस अन्तरगत हामीले कम्पनीबाट उत्पादित औषधी राम्रो गुणस्तरमा उपभोक्ताले उपयोग गर्नको लागि ती औषधीको भण्डारण, ओसारपसार, उपयोग सम्बन्धी जानकारी लगायतका कुराहरु महत्वपूर्ण हुने कुरालाई जोड दिँदै आएका छौं । साथै यस कार्यमा औषधी व्यवसायीहरुसँग सहकार्य समेत गरि नै रहेका छौं ।

उपभोक्ता पनि सचेत बन्नुपर्छ 
कुनै औषधी जुन कामको लागि उत्पादन गरिएको हो, त्यसको पूर्ण लाभ लिनको लागि स्वयं उपभोक्ता समेत विशेष जानकार हुनुपर्छ । उपभोक्ताले औषधी किन्ने समयमा समेत उक्त औषधीको उत्पादन तथा उपभोग्य मिति, भण्डारणको तरिका, औषधी खाने समय तथा तरिका, मात्रा लगायतका बारेमा सम्बन्धित चिकित्सकबाट राम्रोसँग जानकारी लिने कार्य समेत निकै महत्वपूर्ण हुने गर्छ ।

औषधीको प्याकेटमा नेपालीमा लेख्ने बारे पहल हुँदै 
अहिले नेपालमा उत्पादन भइरहेका औषधीहरुमा समेत अङ्ग्रेजी नाम उल्लेख गरिने प्रचलन छ । जसले गर्दा अधिकांश उपभोक्ता औषधीको बारेमा केही पनि जानकारी नै नराखी अन्धाधुन्ध रुपमा प्रयोग गर्न बाध्य छन् । यस्तो कुरालाई विचार गर्दै आगामी दिनमा नेपाल सरकार मातहत समेत यस्ता विषयहरुको बारेमा विभिन्न जनचेतनामूलक कार्यक्रमहरु तथा अनुगमन र मूल्याङ्कन कार्य सञ्चालन गर्नु जरुरी छ । कतिपय अवस्थामा औषधीको सही प्रयोगका तरिका नजान्दा त्यसले गलत प्रभाव पनि पार्न सक्ने कुरालाई सम्बन्धित सरोकारवाला निकायले समेत गम्भीरताको साथ लिँदै यस्ता सचेतनामूलक सूचना प्रवाहमा ग्रामीण क्षेत्रमा पहुँच भएका एफएम रेडियो लगायतका सञ्चार माध्यमहरुबाट समेत सुसुचित गर्नु जरुरी छ ।

गुणस्तरीय छन् नेपाली औषधी 
नेपालमा अहिले उत्पादन भइरहेको औषधीहरु निकै नै गुणस्तरीय छन् । यी औषधीहरु विश्वका उत्कृष्ट प्रविधिहरुको प्रयोग गरेर निर्माण भएको कारण विश्वका जुनसुकै स्थानको निम्ति पनि ती औषधीहरु मान्य छन् । यद्यपि औषधी राम्रो तवरले उत्पादन भएर मात्र विरामीले सही लाभ लिन नसक्दा यसले पार्ने प्रभावको बारेमा समेत हामी सचेत हुनु जरुरी रहन्छ । औषधीको गलत प्रयोगबाट एकातिर जनताको स्वास्थ्यमा प्रतिकुल प्रभाव पार्न सक्छ भने अर्कोतिर उद्योगको गुणस्तरीयतामा समेत भ्रम सृजना हुन सक्छ । यस कुरालाई समेत विचार गर्दै सोही बमोजिम गुणस्तरीयता कायम गर्न जोड दिनु जरुरी रहन्छ । यस कार्यमा व्यवसायीहरु समेत औषधी उपलब्ध गराउने कार्यमा निकै जिम्मेवारपूर्वक संलग्न हुनुपर्छ ।

प्रवद्धन  नीति पनि ल्याउनुपर्छ, नियमनले मात्र हुँदैन 
अबका दिनमा नेपालमा औषधीको नियमन मात्र नभई थप प्रवर्धन गर्न सकिने किसिमका नीतिहरु समेत ल्याउनु जरुरी छ । यस्ता नीतिहरु विश्वका सबै क्षेत्रमा छन् । साथै राज्यले यस्तो नीति ल्याउने हो भने नेपालको निम्ति आवश्यक पर्ने अधिकांश औषधीहरु नेपालमा नै निर्माण हुने अवस्था समेत सृजना हुन सक्छ । नेपालमा राम्रो वातावरण बन्ने, उद्योगीलाई पनि प्रोत्साहन गर्ने र राम्रो तवरले नियमन हुने हो भने नेपालको निम्ति चाहिने करिब ७५ प्रतिशत औषधी नेपालमा नै उत्पादन हुन सक्छ ।

अन्त्यमा,
नेपालमा उत्पादन हुने औषधीहरु पनि गुणस्तरीय छन् । नेपाली औषधीको प्रयोग सम्बन्धमा उपभोक्ताहरुले पनि कुनै शङ्का नलिई ढुक्कले प्रयोग गरौं । राज्यले पनि स्वदेशी उत्पादनलाई विशेष प्राथमिकता दिनेमा ध्यान केन्द्रित गरोस् । अहिले नेपालमा पनि उच्च प्रविधियुक्त औषधीहरु उत्पादन हुने अवस्था रहँदारहँदै पनि अधिकांशले नेपाली औषधीलाई विश्वास गर्न नसकेको अवस्था छ । अबका दिनमा यस बारेमा सबैलाई सचेत बनाउँदै औषधीको सही प्रयोगलाई जोड दिनको निम्ति अन्य विभिन्न गतिविधिहरु समेत सञ्चालन गर्नुपर्ने जरुरी देखिन्छ ।

Comment

Related News 

ताजा अपडेट

© 2016-2019 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site by : SobizTrend Technology

%d bloggers like this: