नेपाल उद्योग वाणिज्य संघ काठमाडौंको साधारणसभा सम्पन्न


नेपाल उद्योग वाणिज्य संघ काठमाडौंको औपचारिक उद्घाटन तथा बार्षिक साधारणसभा आइतबार काठमाडौंको होटल र्याडिसनमा सम्पन्न भएको छ । साथै उक्त सभाले नयाँ कार्यसमिति समेत निर्वाचित गरेको छ ।

नयाँ कार्यसमितिको अध्यक्षको जिम्मेवारीमा उद्यमी दिनेश श्रेष्ठ हुनुहुन्छ । यसैगरी उपाध्यक्षहरुमा हेमराज ढकाल जय प्रकाश शिवाकोटी तथा राजेन्द्र शेरचन हुनुहुन्छ । संस्थाको महासचिवमा रमानाथ श्रेष्ठ, सचिवको जिम्मेवारीमा लोकनाथ गैरे, कोषाध्यक्ष सुष्मा महरा तथा सहकोषाध्यक्षमा व्यवसायी दुर्गाराज श्रेष्ठ रहनुभएको छ ।

यसैगरी कार्यसमिति सदस्यहरुमा नानीराज घिमिरे, प्रदीपमान प्रधान, गोविन्द बराल, अमुलकाजी तुलाधर सतिस श्रेष्ठ दीपक भण्डारी, महेन्द्र कुमार गोयल, राजेन्द्र सङ्ग्रौला, भरतराज घिमिरे, खेम बहादुर स्वार लगायतका व्यक्तिहरु रहनुभएको छ ।

अर्थमन्त्री तथा पूर्व गभर्नर डा.युवराज खतिवडाको प्रमुख आतिथ्यतामा सम्पन्न भएको उक्त समारोहमा संघका अध्यक्ष दिनेश श्रेष्ठ, हेमराज ढकाल, भवानी राणा, चण्डिराज ढकाल लगायतका व्यक्तिहरुले धारणा राख्दै निजी क्षेत्रको औचित्यता, योगदान र समस्या एवं चुनौतीका बारेमा बताउनुभएको थियो ।

व्यवसायीहरुले निजी क्षेत्रको लागि राज्यले सहज वातावरण बनाइदिनुपर्ने, कर छुट दिनुपर्ने, स्वदेशी लगानी वृद्धिको लागि प्रोत्साहनमूलक वातावरण तयार गर्नुको अलावा विदेशी पुँजी र प्रविधि भित्र्याउनको लागि समेत विशेष नीति गर्नुपर्ने लगायतका कुराहरु राखेका थिए ।

कार्यक्रममा बाेल्दै संघका अध्यक्ष दिनेश श्रेष्ठले अब बन्ने नीतिनियमहरु निजी क्षेत्रकाे समेत छलफल र सहकार्यमा निर्माण गरिनुपर्ने बताएका छन् । साथै अबका दिनमा मुलुककाे नेतृत्व लिने व्यक्ति अध्ययनशिल विज्ञ र राम्राे निर्णय लिन सक्ने व्यक्ति अावश्यक रहेकाे बताए । सम्बन्धित क्षेत्रकाे विज्ञता नभएका र सराेकारवालासँग छलफल नगरी ल्याइएका नियमहरु कार्यान्वयन हुन नसक्ने कुरामा समेत विचार गर्दै राज्य साेही बमाेजिम अघी बढ्नुपर्ने कुरामा उनले जाेड दिए ।

नेपाल उद्योग वाणिज्य महासंघकी अध्यक्ष भवानी राणाले राजनीतिक परिवर्तन पश्चात् अब आर्थिक विकासमा अघी बढ्नुपर्ने र त्यसको लागि निजी क्षेत्र सोही बमोजिम अघी बढिरहेको बढाइन् । उनले मुलुकका ग्रामीण भेगहरुमा समेत लगानी र उद्यमशिलता विस्तारको लागि वातावरण बनिरहेको भएपनि व्यवसायीहरुमा चेतना, व्यावसायिक अनुभव र पूर्वाधार तथा प्रविधिको सबै ठाऊँमा पहुँच नपुगेको र सबै क्षेत्रका व्यवसायीहरु परिपक्व समेत नभइसकेको कारण विभिन्न समस्याहरु सृजना भइरहेको बताउँदै सकारात्मक सोच र सरकारी निजी सहकार्यबाट व्यावसायिक स्वच्छता कायम गर्न आवश्यक रहेको र यसको लागि राज्य पक्षबाट उपयुक्त व्यवस्था गरिनुपर्नेमा जोड दिइन् । साथै नेपाल विकासशिल अवस्थामा नै रहेको कारण पूर्वाधार विकास, पर्यटन, जलस्रोत लगायतका क्षेत्रमा राम्रो सम्भावना रहेको समेत स्मरण गराइन् ।

कार्यक्रममा बोल्दै चण्डीराज ढकालले मुलुकमा व्यापारघाटा बढ्दै गएको, व्यवसायीहरुले शान्तिपूर्ण वातावरणमा काम गर्ने अवस्था नरहेको र निजी क्षेत्र विभिन्न समस्याहरुमा जुध्नुपर्ने अवस्था रहेको बारे सतर्क गराउँदै अर्थमन्त्रीले यस बारे भूमिका निर्वाह गर्नुपर्नेमा आफूहरु आशावादी रहेको बताए ।

कार्यक्रममा हेमराज ढकालले मुलुक लामो समय देखि विभिन्न सङ्क्रमण पार गर्दै अहिलेको अवस्थामा आएको र कठिन परिस्थितिका वावजुद व्यवसायमा टिक्न सक्नु नै ठूलाे उपलब्धि रहेकाे बताउँदै आगामी दिनमा स्वच्छ प्रतिष्पर्धात्मक तवरले लगानी विस्तारको वातावरण बन्नेमा आफूहरु आशावादी रहेको बताए ।

कार्यक्रममा प्रमुख अतिथि अर्थमन्त्री डा. युवराज खतिवडाले मुलुकको राजधानी र आर्थिक क्रियाकलापको मुटुको रुपमा रहेको काठमाडौं नै सम्पूर्ण नेपालको एक तिहाइ भन्दा बढी व्यापार हुने क्षेत्रको रुपमा रहेको बताउँदै आफू व्यवसायीहरुलाई उपयुक्त वातावरण बनाइदिन निरन्तर रुपमा लागिरहेको र यसमा व्यवसायीहरुको भूमिका समेत महत्वपूर्ण रहेको समेत बताए ।

साथै व्यवसायीहरुले अभिव्यक्त गरेका अधिकांश कुराहरु र अर्थ मन्त्रालयका योजना एकै किसिमका भएको बताउँदै सरकार र व्यवसायीहरुको दूरी निकै निकट रहेको बताए । साथै उनले व्यवसायीहरुका प्रश्नको बुँदागत रुपमा जवाफ दिएका छन् ।

व्यवसायीहरुले लगानीकर्ता व्यवसायी हुने अथवा बैंक हुने भन्ने प्रश्नको जवाफमा लगानीकर्ता बैंक नभइ व्यवसायी नै भएको स्पष्ट पारे ।

साथै बजारमा २ किसिमका व्यवसायीहरु रहेको र एकथरी व्यवसायीहरु राज्यलाई कर दिरिरहँदा आफूहरु व्यवसायबाट नै विस्थापित हुनुपर्ने अवस्था आउन सक्ने भन्दै व्यवसायीहरुले राखेका अभिव्यक्तिको जवाफमा खतिवडाले आफूहरुको योजना सबैलाई स्वच्छ तवरले व्यवसाय गर्ने वातावरण तयार गर्ने रहेको समेत बताएका छन् ।

अबका दिनमा मुलुकमा उपलब्ध स्रोतकै प्रयोग गरेर सामानहरु उत्पादन गर्नुपर्ने र निर्यातमूलक उद्योगलाई बलियो बनाउनुपर्नेमा समेत खतिवडाले जोड दिएका छन् ।

सरकार यसै बर्षलाई समृद्धि आधारको बर्षको रुपमा अघी बढ्न लागेको समेत बताउँदै आफूहरु निजी क्षेत्रलाई नै आर्थिक समृद्धिको संवाहकको रुपमा लिँदै स्वच्छ तवरले सुशासनयुक्त वातावरणमा निजी क्षेत्रलाई काम गर्ने वातावरण बनाइदिन लागिपरेको र यसको लागि औद्योगिक व्यवसाय ऐनमा धेरै छुटहरु प्रदान गरेको समेत उनले बताए । साथै औद्योगिक व्यवसाय ऐनलाई आर्थिक ऐनले कुनै बाधा नपुर्याउने समेत स्पष्ट पारेका छन् ।

व्यवसायीहरुको बैंक व्याज उच्च भएको भन्ने प्रश्नको जवाफमा आफूले बैंकको व्याजदर घटाउन पहल गर्ने समेत बताएका छन् ।

Comment

Related News 

ताजा अपडेट

© 2016-2019 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site by : SobizTrend Technology

%d bloggers like this: