नेपालमा परामर्शदाता इन्जिनियरिङ क्षेत्रका सम्भावना र चुनौती


ठाकुर प्रसाद शर्मा, प्रबन्ध निर्देशक, फुल ब्राइट कन्सल्टेन्सी प्रा.लि.

फुल ब्राइट कन्सल्टेन्सी प्रा.लि.का प्रबन्ध निर्देशक ठाकुर प्रसाद शर्मा हाल स्केफको प्र्रोफेसनल डेभलपमेन्ट सब–कमिटीका अध्यक्ष पनि हुनुहुन्छ । सन् १९८५मा सिभिल इन्जिनियरिङमा स्नातक तहको अध्ययन पुरा गर्नुभएका ठाकुर प्रसाद शर्माले सन् २००३ मा जलस्रोत इन्जिनियरिङमा स्नातकोत्तरको अध्ययन पुरा गर्नुभएको छ ।हाल ऊहाँको नेतृत्वमा सन् १९८६ देखि सञ्चालनमा आएको यस कन्सल्टेन्सीले नेपालमा, पुर्वाधार डिजाइन तथा इन्जिनियरिङ साथै सामाजिक विकास क्षेत्रमा प्रशस्त मात्रामा महत्वपूर्ण परामर्श सेवा सम्बन्धी कामहरु सम्पन्न गरेको छ । खासगरी यस संस्थाले यातायात पूर्वाधार क्षेत्रलाई लक्षित गरी प्राथमिकताको साथ विभिन्न कामहरु गर्दै आएको छ भने जलस्रोत तथा भौतिक पूर्वाधारको क्षेत्रमा समेत कामहरु अघी बढाइरहेको छ ।

 

नेपालमा परामर्श व्यवसाय 
नेपालमा हुने ठुला विकास कार्यहरुमा विदेशी दातृ निकायहरुबाट सहयोग उपलब्ध हुने अवस्था सृजना भएसँगै नेपालमासञ्चालन गरिने इन्जिनियरिङ गतिविधिलाई सुव्यवस्थित, दिगो र भरपर्दो बनाउने आवश्यकता महसुश हुन गयो । त्यस पश्चात् मात्र इन्जिनियरिङ परामर्श क्षेत्र समेत व्यावसायिक स्वरुप ग्रहण गर्दै अघी बढेको हो । विदेशी लगानीबाट नेपालमा पुर्वाधार निर्माण सम्बन्धी कामले गति लिनु भन्दा पहिले नेपालमा हुने पूर्वाधार तथा निर्माण क्षेत्रमा परामर्शदाता इन्जिनियरिङ संस्थाको सहयोग लिने परिपाटी विकास भएको थिएन ।


शुरुका दिनमा विदेशी परामर्शदातामा नै निर्भर 
नेपालमाविकास तथा पुर्वाधार निर्माण सम्बन्धी गतिविधिहरु वृद्धि हुँदै गएपनि शुरुवातका दिनहरुमा नेपालमा रहेका परामर्शदाता इन्जिनियरहरुमा आवश्यक दक्षता, अनुभव र प्रविधियुक्त ज्ञानको अभावको कारण विदेशी इन्जिनियरहरुबाट इन्जिनियरिङ परामर्श सम्बन्धी काम गर्नुपर्ने अवस्था थियो । अहिले सम्म आइपुग्दा भने नेपालमा हुने विकास कार्यहरु अधिकांश नेपाली परामर्शदाता संस्थाहरुबाट नै हुँदै आएका छन् । यद्यपि नेपालमा विकासनिर्माणको निम्ति नयाँ क्षेत्रको रुपमा शुरु हुने कामहरु अर्थात रेलवेको सम्भावना अध्ययन, ठूला जलविद्युत आयोजनाको अध्ययन लगायतका कार्यहरुमाभने नेपाली कम्पनीहरुको अनुभवले नपुग्ने भएको कारण विदेशी परामर्शदाताकै सहयोग लिनुपर्ने अवस्था छ ।

विदेशीको सहयोग सँगै परामर्शदाता समेत विदेशबाट 
नेपालमा निर्माणार्थ अघी बढाईने अधिकांश विकास आयोजनाहरु सम्पन्न गर्न अहिले नेपाली कम्पनीहरु नै सक्षम भएपनि दातृ निकायको रुपमा आर्थिक सहयोग उपलब्ध गराउने जापान, भारत, चीन, बेलायत लगायतका देशहरुले भने परामर्शदाता समेत आफ्नै देशबाट ल्याउन चाहन्छन् । यद्यपि मल्टिलेटरल प्रोजेक्टहरु अर्थात वल्र्ड बैंक, एडिबी लगायतमा भने नेपाली कम्पनीले नै परामर्शदाताको रुपमा काम गर्न सक्ने अवस्था सृजना भएको छ ।

खासगरी सडक, खानेपानी, सिँचाई लगायतका आयोजनाहरुमा भने नेपाली जनशक्तिबाट काम गर्ने प्रवृत्ति बढ्दो छ । विगतमा निकै कम मात्र नेपालीहरु संलग्न रहने यस्ता आयोजनाहरुमा अहिले नेपालीहरुको संलग्नता बढ्नु नेपालको लागि निकै नै राम्रो कुरा हो । नेपाली परामर्शदाता तथा जनशक्तिको प्रयोगबाट काम गर्दा कामलाई तुलनात्मक रुपमा कम लागतमा नैसम्पन्न गर्न सकिने अवस्था समेत रहन्छ । साथै आर्थिक सहयोग गर्ने दातृ निकायलाई नै परामर्श कार्यको लागि अनुमति दिँदा परामर्श शुल्क अत्याधिक उच्च पर्ने कुरालाई समेत विचार गर्दै स्वदेशी कम्पनीबाट काम गर्न सकेको खण्डमा आयोजनाको लागत समेत घटाउन निकै सहयोग पुग्छ ।अहिलेको अवस्थामा आइपुग्दा १ सय मेगावाट क्षमता सम्मका जलविद्युत आयोजनाहरु निर्माणको लागि अध्ययन गर्न नेपाली परामर्शदाता कम्पनीहरु नै सक्षम रहेका हुनाले यस्ता काममा पहिलो प्राथमिकता नेपाली कम्पनीलाई नै दिनु जरुरी रहन्छ । नेपाली कम्पनीबाट काम हुन सक्ने अवस्था नरहे मात्रै त्यस्ता कामको लागिविदेशी कम्पनीको सहयोग लिनु आवश्यक रहन्छ ।

कस्ता कार्यमा विदेशी कम्पनी भित्र्याउने ?
नेपालको निम्ति रेल क्षेत्र नयाँ क्षेत्र हो । यस क्षेत्रको अभ्यास नेपाली परामर्शदातासँग छैन । यस कार्यको लागि विदेशी कम्पनीलाई कामको जिम्मेवारी दिनु आवश्यक रहने भएपनि २ लेन देखि ६ लेन सम्ममा सडकहरु निर्माण गर्न भने विदेशी कम्पनीलाई गुहार्नु पर्दैन । नेपाली कम्पनीहरुबाट नै अहिले नेपालमा ६ लेन सम्मका सडकको डिजाइन कार्य सम्भव भएको छ । यसैगरी फरक डिजाइनका पुलहरु डिजाइन गर्ने कार्यमा समेत नेपाली कम्पनीहरु सक्षम बन्दै गएका छन् । यद्यपि कर्णाली पुल जस्ता ठुला पुलहरु निर्माण गर्ने कार्यमा समेत नेपाली कम्पनीहरु सक्षम नबनिसकेका कारण त्यस्ता आयोजनाहरुमा भने विदेशी परामर्शदातालाई नै भित्र्याउनुपर्ने आवश्यकता छ ।

नेपालीहरु सक्षम छन् 
नेपालीहरु वास्तवमा असक्षम छैनन् । विदेशमा बसेका नेपालीहरुले उच्च क्षमताका विभिन्न आयोजनाहरुको अध्ययन तथा निर्माणका कामहरुको अनुभव हासिल गरिसकेका छन् । यद्यपि नेपालमा नै रहेर काम गरिरहेका कम्पनीहरुको क्षमता पनि अहिले तुलनात्मक रुपमा वृद्धि भएको छ । यसलाई हेर्दा नेपालीहरुले आगामी दिनमा यस क्षेत्र मार्फत निकै राम्रो तवरले विभिन्न विकासमुलक काम गर्न सक्ने अवस्था देखिएको छ । यसको लागि आवश्यकता बमोजिम विदेशी कम्पनीहरुबाट समेत सहयोग लिँदै सोही बमोजिम हाम्रा गतिविधिहरु अघी बढाउनु जरुरी देखिन्छ । यद्यपि नेपालमा पछिल्लो समय नेपाली कम्पनीहरुको क्षमता बढिरहेको र यस क्षेत्रमा काम गर्ने कम्पनीहरु सक्षम बनिसकेको अवस्था रहेपनि नेपाल सरकारले नेपाली कम्पनीहरुलाई अझै पनि पूर्ण रुपमा विश्वास गर्न भने सकेको छैन ।

आयोजना डिजाइनमा कमजोरी भएकै हो त ?
नेपालमा कुनै आयोजना अघी बढाउने क्रममा निर्माण सम्पन्न भएपश्चात् त्यसमा कुनै समस्या देखिए त्यसमा परामर्शदाता कम्पनीहरुलाई राम्रो तवरले अध्ययन र डिजाइन नगरेको भन्ने आरोप लगाइँदै आएको अवस्था छ । यद्यपि उक्त आयोजना अघी बढाउने क्रममा उक्त आयोजनाको डिजाइन कति रकम लगानीमा र कस्तो प्रकारले गर्ने भन्ने कुरा निकै महत्वपुर्ण रहन्छ । कामको प्रकृति र विनियोजित बजेट बमोजिम नै डिजाइन कार्य पनि निर्भर हुनुलाई स्वभाविक नै मान्न सकिन्छ । यद्यपि नेपाल सरकार मातहत अघी बढाउने आयोजनामा अध्ययनको लागि कम लगानीमा उच्च गुणस्तरीय डिजाइनको अपेक्षा गरिने र यसबाट चाहेबमोजिमको गुणस्तर प्राप्त हुन नसक्ने कुरामा समेत विचार गर्नु जरुरी रहन्छ । साथै समय र परिस्थिति बमोजिम हाम्रो आवश्यकतामा पनि परिवर्तन आउन सक्छ । हामीले अघी बढाएको आयोजना कहिले कुन समयमा कस्ता व्यक्तिहरुबाट डिजाइन गरिएको हो भन्ने कुराले पनि त्यसको डिजाइनमा प्रभाव पार्ने गर्छ ।

निर्माण क्षेत्रबाट भएका कमजोरी
कुनै आयोजना निर्माण गर्ने क्रममा डिजाइनको अलावा निर्माण क्षेत्र समेत एक महत्वपूर्ण पक्षको रुपमा रहने गर्छ । परामर्शदाताले आवश्यक अध्ययन गरी डिजाइन गरेको आयोजनामा निर्माणको क्रममा कुनै त्रुटि हुन गएको खण्डमा पनि उक्त आयोजना सफल हुँदैन । राम्रो तवरले डिजाइन भएको आयोजनालाई पनि कसरी सही तवरले सम्पन्न गर्ने हो, त्यसमा सम्बन्धित कामको निर्माणको जिम्मा लिएका व्यवसायी पनि जिम्मेवार बन्नुपर्छ ।

समयक्रमले पनि आवश्यकतामा परिवर्तन आउन सक्छ 
परामर्शदाताले अध्ययन गरेको आयोजना तत्काल कार्यान्वयनमा लैजाँदा उक्त आयोजना जति प्रभावकारी बन्ने गर्छ, त्यति प्रभावकारी १ दशक पछि निर्माण गर्दा नहुन सक्छ । प्रविधि र आवश्यकतामा आएको परिवर्तनले इन्जिनियरिङ क्षेत्र पनि परिवर्तन हुने कुरालाई विचार गर्दै सोही बमोजिम हाम्रा कामहरु तत्काल अघी बढाउनु जरुरी रहन्छ ।

अधिकांश आयोजना सफल नै छन् 
नेपालमा डिजाइन तथा निर्माण भएका सबै आयोजनाहरु असफल भएका छैनन् । निर्माणको निम्ति अघी बढाएका आयोजनाहरु कति सफल भएका छन् र कति असफल भएका छन् भन्ने सम्बन्धमा पनि हामीले विशेष अध्ययन गर्नुपर्ने हुन्छ । यसको साथै निर्माणार्थ अघी बढेका सबै आयोजनाहरु डिजाइनकै कारणले असफल भएका छैनन् ।नेपालमा सम्पन्न आयोजना मध्ये करिब ९० प्रतिशत भन्दा बढी आयोजनाहरु त राम्रो तवरले नै सम्पन्न भएका छन् । यद्यपि एक–दुइटा आयोजनामा कुनै समस्या देखिएको खण्डमा त्यसलाई नै बढाइचढाई गरेर प्रस्तुत गरिने कारणले निर्माणाधिन आयोजनालाई थप अप्ठ्यारो पर्ने अवस्था सृजना हुने गरेको छ ।

दीर्घकालिन आवश्यकतामा केन्द्रित हुनुपर्छ 
हामीले विकास कार्य अघी बढाउँदा तत्कालको लागि मात्र नभई दीर्घकालिन अवधारणा बमोजिम विकास कार्य अघी बढाउनुपर्ने हुन्छ ।

राज्यका नीतिले पारेको प्रभाव 
विकासको लागि पूर्वाधार नै मुख्य आधार हुन् । अहिलेको समयमा पूर्वाधार निर्माण मुख्य आधार भएको कुरालाई विचार गर्दै राज्यले पूर्वाधार क्षेत्रमा नीतिहरु निर्माण गर्ने क्रममा सहजीकरणको भूमिका निर्वाह गर्नुपर्छ । राज्यको मुख्य आर्थिक नीति के हुने भन्ने कुरालाई स्पष्ट गर्दै सोही बमोजिम अघी बढ्न सकेको खण्डमा मात्र हामीले राम्रो उपलब्धि हासिल गर्न सक्छौं । सोही बमोजिम निजी क्षेत्रबाट पूर्वाधार निर्माण तथा परामर्श क्षेत्रमा काम गरिरहेका कम्पनीहरुलाई यी कम्पनी पनि पुर्वाधार निर्माणको निम्ति महत्वपूर्ण अङ्ग हुन् र यिनीहरुलाई पनि सहुलियत दिनुपर्छ भन्ने कुरालाई विचार गर्दै सोही बमोजिम व्यवस्था गर्नुपर्छ । सोही बमोजिम यसको लागि राम्रो वातावरण बन्न सकेको खण्डमा मात्र निजी कम्पनीहरुको क्षमता पनि अभिवृद्धि हुने र अन्ततोगत्वा यसको फाइदा मुलुकलाई नै पुग्ने कुरालाई विचार गर्दै सोही बमोजिम हाम्रा गतिविधि अघी बढाउनु जरुरी छ ।

सार्वजनिक खरिद ऐनले पारेको प्रभाव 
राज्यले संशोधन मार्फत ल्याएको सार्वजनिक खरिद ऐनले नेपालमा काम गर्ने कम्पनीहरुबाट कुनै कमजोरी भएको खण्डमा व्यवसायीहरु निरुत्साहित नै हुनेगरी कारवाही अघी बढाउने अवस्था छ । साथै नेपाल सरकार समेत अहिले आफैंले परामर्श सम्बन्धी विभिन्न कम्पनीहरु सञ्चालन गर्ने मान्यता सहित अघी बढेको समेत देखिन्छ । नेपाल सरकारले पूर्वाधार निर्माण कम्पनीको समेत दर्ता प्रक्रिया पूरा गरिसकेको छ । नेपाल विद्युत प्राधिकरणले पनि आफ्नै एनईए इन्जिनियरिङ सर्भिसेस प्रा.लि. सञ्चालन गरेको छ । यसलाई हेर्दा अब राज्य नै विस्तारै सबै काम आफैं गर्ने, ठेक्का पनि आफैंले लिने किसिमले अघी बढ्न लागेको हो की भन्ने कुरा हामीले महसुस गरेका छौं । यस्तो अवस्थामा निजी परामर्श व्यवसायीको आवश्यकता र भुमिका समेत स्पष्ट हुनुपर्ने देखिन्छ ।

सक्षम छन् नेपाली कम्पनी 
नेपाली कम्पनीहरु पनि सक्षम र क्षमतावान् छन् । नेपालमा विदेशी कम्पनी आएर मात्र राम्रो तवरले काम हुन्छ भन्ने पनि हुँदैन । प्रज्ञा प्रतिष्ठान, राष्ट्रिय सभागृह, शहिदगेट लगायतका सम्पदाहरु नेपाली आर्किटेक्टले नै डिजाइन गरेका हुन् । यस्ता उदाहरण हेर्दा पनि वास्तवमा नेपाली इन्जिनियर कमजोर नभएको जानकारी हुन्छ ।

उत्पादित जनशक्तिको उचित व्यवस्थापन आवश्यक 
नेपालमा इन्जिनियरिङ कलेजबाट उत्पादन भएका जनशक्तिलाई कसरी रोजगारमा लगाउने भन्नेमा अहिले राज्य पक्ष समेत मौन छ । नेपालमा काम गर्नको लागि राम्रो वातावरण राज्यले नबनाइदिने हो भने नेपाली नयाँ इन्जिनियरहरु अहिलेको वातावरणमा नेपालमा रहन सक्दैनन् । यस्तो अवस्थामा हामीले चाहे बमोजिम ठूला पूर्वाधार निर्माण कार्यको निम्ति हामीलाई आवश्यकता बमोजिम दक्ष जनशक्ति उपलब्ध हुन नसक्ने र मुलुकको विकास कार्यले राम्रो गति लिन नसक्ने अवस्था पनि रहन सक्छ । यसमा पनि हामीले अहिले नै विशेष ध्यान दिनु जरुरी रहन्छ ।

Comment

Related News 

ताजा अपडेट

© 2016-2019 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site by : SobizTrend Technology

%d bloggers like this: