माउन्टेनरिङ ट्रेनिङ प्रति आकर्षण बढ्दाे

  • सीप भए राम्राे अवसर

  • लाक्पा शेर्पा-अध्यक्ष*  नेपाल माउन्टेनियरिङ इन्स्ट्रक्टर एसोसिएसन

    नेपाल माउन्टेनियरिङ इन्स्ट्रक्टर एसोसिएसनले पर्वतारोहणको आकाङ्क्षा भएका व्यक्तिहरुलाई प्रशिक्षणमूलक कार्यक्रमहरु सञ्चालन गर्दै आएको छ । नेपालमा आरोहण सम्बन्धी तालिमहरु सञ्चालन गर्ने यस संस्थाले नेपालमा आरोहणको क्रममा अपनाउनुपर्ने सुरक्षात्मक तरिकाहरुको बारेमा सिकाउने कार्य गर्दै आएको छ ।नेपालमा सन् २००२ मा स्थापना भएको यस संस्थाले हाल करिब २ हजारको सङ्ख्यामा तालिमहरु प्रदान गरिरहेको छ ।

    नेपालमा माउन्टेनरिङ तालिम विभिन्न तहगत रुपमा वर्गिकरण गरी उपलब्ध गराउने कार्य हुँदै आएको छ । वेसिक माउन्टेनरिङ तथा एड्भान्स तालिमहरु हाल नेपालमा सञ्चालन हुँदै आएका छन् । यी तालिमहरु प्रकृति अनुसार समयको हिसाबले छोटो देखि लामो अवधि समेतका हुने गरेका छन् । एक हप्ते, २ हप्ते, १ महिने, ४० दिन लगायत विभिन्न तालिमहरु अन्तराष्ट्रिय स्तरका नै हुन् ।

    शारीरिक रुपमा र मानसिक रुपमा सशक्त मानिसहरुले यी तालिमहरु लिन सक्छन् । यसको साथै यो तालिम जोखिमपूर्ण कार्यको निम्ति लिइने हुनाले सबैभन्दा पहिले उक्त तालिम लिनको निम्ति सम्बन्धित व्यक्ति मानसिक रुपमा समेत तयार हुनुपर्छ ।
    उच्च हिमाली क्षेत्रमा आरोहणको क्रममा आउन सक्ने समस्यालाई लक्षित गरिएको यस तालिमलाई हाल नेपाल माउन्टेनरिङ एसोसिएसनले समेत सहयोग प्रदान गर्दै आएको छ । सबै तहका तालिम लिने क्रममा करिब ४ बर्ष लाग्ने यस तालिमको निम्ति सबै रकम हिसाब गर्दा प्रति व्यक्ति २०-२५ लाख रकम खर्च हुन आउने भएपनि माउन्टेनरिङ एसोसिएसनको सहयोगको कारण तालिम लिन चाहनेलाई विशेष सुविधा उपलब्ध छ । साथै तालिम लिएका व्यक्तिहरुले नेपालमा मात्र नभई विश्वका विभिन्न ठाऊँमा यस सम्बन्धी कामको अवसर पाउन सक्छन् ।

    नेपालमा करिब १५ बर्ष देखि म यस क्षेत्रमा संलग्न भएको हुँ । त्यस समयमा यो तालिम नेपालमा उपलब्ध नभएको कारण मैले आवश्यक सबै तालिमहरु फ्रान्सबाट लिएको हुँ । नेपालको निम्ति कस्तो तालिम आवश्यक पर्छ भन्ने सम्बन्धमा अध्ययन गरेर नेपालमा तालिमको पाठ्यक्रम हामीले नै तयार गरेका हौं । नेपालमा हामीले तालिम दिएका व्यक्तिहरुले अहिले निकै राम्रो तवरले काम गरिरहेका छन् । साथै पछिल्लो समय यो क्षेत्रलाई मर्यादित र व्यावसायिक बनाउनको निम्ति समेत हामीले विशेष कामहरु गरिरहेका छौं ।
    काम गर्नको निम्ति आफू शारीरिक रुपमा स्वस्थ, मानसिक रुपमा तयार र सम्बन्धित कामको बारेमा सीप छ भने कोही पनि वेरोजगार बस्नुपर्दैन । नेपालमा हामीले सञ्चालन गरेको यस तालिम पश्चात् निकै राम्रो आर्थिक उपार्जन गर्न सकिन्छ । दैनिक १० हजार रुपियाँ सम्म कमाइ गर्न सकिने यसक्षेत्रमा मानिसहरुको अहिले आकर्षण निकै बढेको छ ।

    नेपालका गाइडहरु उच्च हिमाली क्षेत्रमा पुग्न सक्षम छन् । उच्च क्षेत्रमा आरोहण गर्ने क्रममा दुर्घटना हुने सम्भावना उच्च रहन्छ ।
    नेपालको हिमाल आरोहणको निम्ति नेपाली मात्र नभई बाहिरबाट समेत मानिसहरु यहाँ आइरहेका छन् ।

    नेपालमा अहिले गाइडहरुको क्षमता निकै राम्रो छ । हामीले तालिम दिने क्रममा जिपिएस नक्सा, उद्धार, मौसमी अवस्था, भौगोलिक अवस्थिति लगायतका कुराहरुमा समेत सक्षम बनाउने भएको कारण उनीहरु कस्तो अवस्थामा कसरी सुरक्षित हुन सकिन्छ भन्नेमा सजिलै जानकारी प्राप्त गर्न सक्छन् ।

    अहिले हामीले सञ्चालन गरेको यो तालिम सिटिइभिटि अन्तरगत विभिन्न ४ तहमा यो तालिम सञ्चालनको कार्य गर्दै आएका छौं । यस क्रममा हामीले सञ्चालन गर्ने तालिम लिनको निम्ति उक्त तालिम लिनको निम्ति पहिले नै न्यूनतम आधारभूत ज्ञान भने भएको । ती मानिसहरुलाई हामीले लिने छनौट र परीक्षा पश्चात् यस क्षेत्रमा जोडिन सक्छन् ।

    हिमाली क्षेत्रको नजिक रहेर काम गर्ने सोच बनाएका शेर्पा सानै देखि नै यस क्षेत्रमा रहेर काम गर्ने चाहनामा थिए । जीवन आफैंमा यात्रा भएको र देशविदेशका थुप्रै मानिसहरुसँग सम्पर्कमा रहन समेत पहिले देखि नै चाहना राख्ने उनी यस क्षेत्रमा रहेर काम गर्न पाएकोमा सन्तुष्ट छन् । हुनतः हिमाल आरोहणको क्रममा थुप्रै समस्याहरु नआउने होइनन् । तर ती सबै समस्याहरुलाई आफू अनुकुल बनाएर अहिलेको अवस्थामा आउन सफल शेर्पालाई यस क्षेत्रमा आउनको निम्ति आर्थिक अभाव लगायत कुनै पनि समस्या थिएन । तर पनि जोखिमपूर्ण काममा रमाउने चाहनाकै कारण अहिले उनी नेपालमा मात्र नभई विदेशी भूमीहरुमा समेत चिरपरिचित छन् । थुप्रै मानिसहरुलाई प्रशिक्षित गर्न सफल भएकोमा आफूलाई थप गौरवान्वित महसुस गर्ने उनी जहाँ जोखिम त्यहीँ अवसर भन्ने मान्यता बमोजिम आफ्नो जीवन यात्रामा निरन्तर अघी बढिरहेका छन् ।

    पर्यटनका विभिन्न आयामहरु मध्ये नेपाल यसै पनि आकर्षणको केन्द्रको रुपमा त पहिले देखि नै रहँदै आएको छ । त्यसमा पनि आरोहणको क्षेत्रमा तालिमहरु सञ्चालन भई दक्ष जनशक्ति उत्पादन भइरहेको परिस्थितिमा पर्यटकहरुले समेत थप सुरक्षाको महसुस गर्न सक्ने कारणले गर्दा नेपालमा यो सङ्ख्या अझ बढाउन सकिने सम्भावना छ । नेपालको हिमाल आरोहणको क्रममा एक पर्यटकले १२–१३ लाख रकम राजस्व बुझाउने अवस्था छ । जुन नेपालको निम्ति बिना लगानीको प्रतिफल भएको हुँदा यस क्षेत्रमा राम्रो सम्भावना छ । यद्यपि प्रयाप्त दक्ष जनशक्ति भने उपलब्ध हुन नसकेको कुरालाई लक्षित गरी नेपाल सरकारले समेत यस क्षेत्रमा प्रयाप्त लगानी गर्नुपर्ने आवश्यकता छ ।

    नेपाल पर्यटन बोर्ड तथा पर्वतारोहण संघले अहिले पनि सहयोग गरिरहेको अवस्थामा आगामी दिनमा थप प्रभावकारी तवरले आफ्ना कार्यक्रमहरु सञ्चालन गर्नुपर्ने जरुरी समेत देखिएको छ ।

    नेपालमा पर्यट क्षेत्रको थप प्रवद्र्धनको निम्ति पर्वतारोहण राम्रो माध्यम हुन सकेको कुरालाई ख्याल गर्दै त्यस किसिमका कार्यक्रमहरुमा पर्यटन बोर्डले थप प्रभावकारी भूमीका निर्वाह गर्नु जरुरी छ । साथै राज्यले राम्रो तवरले नियमन समेत गर्नु जरुरी छ ।

    नेपालमा आगामी दिनमा पर्यटन क्षेत्रको भविष्य निकै नै राम्रो रहेको कुरालाई समेत ख्याल गर्दै नेपालमा पर्यटन क्षेत्रलाई विभिन्न हिसाबले क्याटागोराइज्ड गरी सोही अनुसार विभिन्न कार्यक्रमहरु सञ्चालन गर्नुपर्छ । प्रयाप्त जनशक्ति उत्पादन गर्न सकेको खण्डमा यस क्षेत्रमा राम्रो भविष्य छ । मुलुक द्वन्द्व, भूकम्प, नाकाबन्दी लगायतका थुप्रै राजनीतिक परिवर्तनबाट अघी बढिसकेको अवस्थामा अबको प्राथमिकता भनेको सबै क्षेत्रबाट आर्थिक विकासमा नै केन्द्रित हुनेछ ।

    Comment

    Related News 

    ताजा अपडेट

    © 2016-2019 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site by : SobizTrend Technology

    %d bloggers like this: