पानी उद्योगको गुणस्तरयीयता सम्बन्धमा विशेष अन्तरक्रिया सम्पन्न


खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय काठमाडौं र नेपाल बोटल वाटर उद्योग संघको संयुक्त आयोजनामा आज काठमाडौंमा पानी उद्योगहरुको क्षमता अभिवृद्धि, व्यावसायिक सुधार एवं गुणस्तर व्यवस्थापनको उद्धेश्य सहित एक सचेतनामूलक वृहद अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।


खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागकी उपमहानिर्देशक मतिना वैद्यको प्रमुख आतिथ्यतामा भएको उक्त कार्यक्रममा राष्ट्रिय उपभोक्ता मञ्चका अध्यक्ष प्रेमलाल महर्जन, नेपाल बोटल वाटर उद्योग संघका अध्यक्ष सुवास भण्डारी सहित संघका सदस्यहरु, सञ्चारकर्मीहरु एवं खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालयका प्र्रतिनिधिहरुको व्यापक उपस्थिति रहेको थियो ।

उक्त कार्यक्रममा खाद्य निरिक्षक योगेन्द्र ढुंगेलले कार्यपत्र प्रस्तुत गरेका हुन् । कार्यपत्रमा पानी उत्पादनको क्रममा अपनाउनुपर्ने सतर्कता सम्बन्धी विविध विषयवस्तुहरु समेटिएको थियो । पानी उद्योगीहरुले आफ्नो क्षमता बमोजिमको प्र्रयोगशाला आफैंले सञ्चालन गर्ने साथै नियमित रुपमा हरेक ३-३ महिनामा पानीको नमुना परीक्षण गराउनुपर्ने र हरेक बर्ष नेपाल सरकारको आधिकारिक प्रयोगशालाबाट नै पानीको गुणस्तर परीक्षण गराउनुपर्ने र उद्योगले गुणस्तरीयताको लागि अपनाउनुपर्ने न्यून सावधानीको बारे विषयवस्तुहरु समेटिएको थियो ।

कार्यक्रममा उपस्थित व्यवसायीहरुले पानी उत्पादनको क्रममा भोग्नुपरेका समस्या एवं राज्यको नीतिको कारण आफूहरुलाई परेका अप्ठ्याराको बारेमा प्रश्नहरु गरेका थिए । व्यवसायीका प्र्रश्नहरुको जवाफ खाद्य निरीक्षक योगेन्द्र ढुंगेल तथा खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागकी उपमहानिर्देशक मतिना जोशी वैद्यले दिनुभएको थियो ।

कार्यक्रम अवधिमा व्यवसायीहरुलाई सामान्य विषयहरुमा सावधानी नअपनाए आउन सक्ने कानुनी जटिलताहरुको बारेमा सचेत र जागरुक बनाउँदै आफूले गरेका सबै कार्यको अनिवार्य रेकर्ड राख्नुपर्ने बताइएको थियो । साथै पानी उत्पादनको क्रममा व्यवसायीहरुले पानीका हरेक ब्राण्डका पानी उत्पादन गर्नुपूर्व अनिवार्य रुपमा अनुज्ञापत्र लिनुपर्ने र भ्रम सृजना हुने गरी कुनै तस्वीरहरु नराख्न समेत आग्रह गरिएको छ ।

व्यवसायीहरुले नयाँ व्यवस्था बमोजिम कायम गरिएको जरिवाना र जेलको व्यवस्थाले नयाँ तथा पुराना व्यवसायीहरुलाई लगानी विस्तारको निम्ति आकर्षित नगरी निराश बनाउने तर्फ सङ्केत गर्दै सहज वातावरण बनाईदिन आग्रह गरेका थिए । साथै उद्योगमा केही समस्या आएको खण्डमा कम्पनीका सञ्चालक आफैं उपस्थित नभई सम्बन्धित विभागको जिम्मेवारी लिएका प्रतिनिधिहरुबाट समस्या समाधानको लागि उपस्थित भएपुग्ने व्यवस्था गर्नु जरुरी रहेको समेत व्यवसायीहरुले माग बताएका छन् ।

कार्यक्रममा बोल्ने क्रममा खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयकी मतिना वैद्यले अहिलेको व्यवस्था अनुसार दुषित र कम गुणस्तरीय खाद्य वस्तुलाई एउटै श्रेणीमा राखिनु राज्यको पक्षबाट भएको कमजोरीको रुपमा औंल्याएका यसलाई फरक–फरक रुपमा परिभाषित गर्नुपर्ने आवश्यकता रहेको बताउनुभयो ।

उपभोक्तावादी संस्थाका प्रतिनिधि प्रेमलाल महर्जनले पानी स्वस्थकर हुनुपर्ने कुरामा जोड दिँदै वि.सं २०६५ मा जाजरकोटमा दुषित पानीकै कारण ३ सय ७१ व्यक्तिहरुको मृत्यु भएको स्मरण गराएका थिए । उक्त समय पानीको कारण ४ जिल्लामा फैलिएको प्रकोप नियन्त्रण गर्न निकै कठिनाई भएको समेत उनले स्मरण गराए । पानी उत्पादकहरु अझै पनि राम्रो अभ्यासमा जान नसकेको बताउँदै सर्वप्रथम उनीहरुलाई जागरुक बनाउन राज्यको अलावा आफू पनि लागिपरेको समेत उनले बताए । बजारमा व्यवसायीहरु अस्वस्थकर प्रतिष्पर्धामा उत्रिरहेको बताउँदै अब स्वस्थ तवरले प्रतिष्पर्धामा जानुपर्ने साथै पानीको मूल्यमा एकरुपता आवश्यक रहेको समेत उनले बताउँदै छन् ।

यसैगरी कार्यक्रममा बोटल वाटर उद्योग संघका अध्यक्ष सुवास भण्डारीले राज्य सँग भएका सबै प्रतिवद्धताहरु पूर्ण रुपमा कार्यान्वयनमा नआएको र राज्यका कामकारवाहीहरु अझै पनि ढिलासुस्ती हुँदै आएको र यसबाट व्यवसायीहरु मर्कामा पर्ने अवस्था रहेको बताउँदै राज्य चुस्तदुरुस्त रुपमा अघी बढ्नुपर्ने साथै व्यवसायीले बिना घुस नै सहजै काम जाहेज काम गराउन सक्ने अवस्थाको पर्खाइमा आफूहरु रहेको समेत बताएका छन् ।

Comment

Related News 

ताजा अपडेट

© 2016-2019 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site by : SobizTrend Technology

%d bloggers like this: