पर्यटन क्षेत्र गुणस्तरीयता थप बढाउन जरूरी


विश्वेश श्रेष्ठ, प्रबन्ध निर्देशक, सि एण्ड के ट्राभल्स

पर्यटन क्षेत्रमा हुने गतिविधि र कारोबार अहिले निकै नै बढेका छन् । यद्यपि यस क्षेत्रमा लगानी र कारोबार बढेपनि गुणस्तरीयतामा भने सुधार हुन सकेको छैन । पर्यटन क्षेत्रको गुणस्तरीयता वृद्धिको लागि हामीले अझै राम्रो तवरले काम गर्नु जरुरी छ । यद्यपि अहिले पर्यटन क्षेत्रको दायरा निकै नै विस्तार भइसकेको कारण यसबाट ठूलो समुदाय लाभान्वित भएको छ ।

नयाँ गञ्तव्य पहिचान गरिएको छैन
नेपालमा मैले करिब ४ दशक पर्यटन क्षेत्रमा संलग्न रही काम गर्ने क्रममा यस क्षेत्रलाई मैले नजिकबाट बुझ्ने अवसर पाएको छु । विगतमा झण्डै ५ दशक पहिले पनि नेपालमा आउने पर्यटकहरु हिमाल चढ्ने र पदयात्रा गर्ने उद्धेश्यले नै नेपालमा आउने गर्थे । अहिले पनि त्यही अवस्था छ । तर सबै पर्यटकहरुको उद्धेश्य पदयात्रा र हिमाल नै चढ्ने नहुने भएको कुरालाई लक्षित गरी अन्य उद्धेश्यले नेपालमा पर्यटक आकर्षित गर्न जोड दिनुपर्छ । नेपालमा पर्यटन उद्योग शुरु भएको निकै लामो समय भइसक्दा पनि हामीले पर्यटन उद्योगलाई नयाँ तवरले अघी बढाउन सकिएको छैन । आगामी दिनमा यस क्षेत्रमा नयाँ प्रविधि भित्र्याउन र हाम्रा गञ्तव्यहरु बढाउने कार्यमा समेत हामीबाट प्रयाप्त पहल हुन जरुरी छ ।

नयाँ गव्यव्य नाममै सीमित 
हामीले पोखरा, चितवन, काठमाडौं र लुम्बिनीमा सीमित रहेको पर्यटन क्षेत्रलाई विकास गरेर अन्य क्षेत्रमा पर्यटन विकास गर्न सकेका छैनौं । बाहिर जुन किसिमले नेपालमा पर्यटन क्षेत्रलाई प्रवद्र्धन गर्नुपर्छ भन्ने किसिमले कुरा हुँदै आएको छ, भित्र भने सोही बमोजिम त्यसको लागि पहल हुन नसक्दा भनाई र गराईमा तालमेल हुन सकेको छैन ।

थप पूर्वाधार विकास आवश्यक छ
अब हामीले नेपालमा पर्यटन क्षेत्रलाई राम्रो तवरले अघी बढाउनको लागि हाम्रा पूर्वाधारहरु विकास गर्ने कार्यमा विशेष जोड दिनुपर्छ । साथै यस कार्यको निम्ति नयाँ गञ्तव्य पहिचान गरी सोही बमोजिम हाम्रा पर्यटकीय गतिविधिहरु अघी बढाउनु जरुरी छ । यसबाट मात्र हामीले चाहे बमोजिम पर्यटन क्षेत्रले राम्रो गति लिन सक्छ । ३०–४० बर्षको अवधिमा बन्दिपुर लगायतका केही साना क्षेत्रहरु पर्यटकीय गञ्तव्यको हिसाबले अघी आएका भएपनि पोखरा, चितवन, धुलिखेल, नगरकोट जस्ता ठूला डेस्टिनेसन भने अहिले सम्म हामीले पहिचान गर्न सकेका छैनौं । जुन दुखद छ । यसको प्रभाव नेपालमा एकपटक आएको पर्यटक पुःन नेपालमा फर्कने अवस्था निकै न्यून छ ।

यस्ताे चाहन्छन् विदेशी पर्यटक
एकपटक आएको पर्यटक पुःन दोहोरिएर नेपालम आउने क्रममा नेपालमा केही नयाँपन चाहन्छ । यद्यपि नेपालले नयाँपन दिन नसक्दा पुःन दोहोरिएर नेपालमा नआउनुलाई अन्यथा मान्न सकिँदैन । नेपालमा आउने पर्यटक पुःन दोहोरिएर नेपालमा आउने वातावरण निर्माण गर्नको लागि हामीले पनि सोही बमोजिमका पूर्वाधार निर्माण गर्नु जरुरी रहन्छ ।

अबको विकल्प 
राज्य पक्षले अब पर्यटन क्षेत्रलाई कसरी अघी बढाउने भन्ने सम्बन्धमा नयाँ तवरले सोच्नु जरुरी छ । नेपालमा पर्यटन क्षेत्रलाई अब अङ्क गणितीय हिसाबले मात्र वृद्धि गरेर हुँदैन । ज्यामितीय हिसाबले वृद्धि गर्ने हो र सोही बमोजिम हाम्रो तर्फबाट हामीले पनि सेवा दिनु जरुरी हुन्छ । अहिलेको अवस्थामा नेपालमा शान्ति आएको छ । नेपालमा राजनीतिक स्थिरता छ । सबै परिस्थितिहरु मिलेका छन् । यस्तो अवस्थामा नेपालमा रहेर नयाँ क्षेत्रको पहिचान गरी पर्यटन प्रवद्र्धन गर्न चाहने व्यक्तिलाई निश्चित सुविधा समेत उपलब्ध गराउनुपर्छ । यसको लागि कर छुट, प्रोत्साहन एवं अन्य आकर्षित कार्यक्रम ल्याउनु जरुरी छ ।

अहिले नेपालमा विस्तार भएका होटल तथा अन्य गतिविधिहरु काठमाडौं, पोखरा र चितवनमा मात्रै केन्द्रित छन् । जसले गर्दा जहाँ पहिले नै विकास भएको छ, त्यही क्षेत्रमा नै होटलहरुको सङ्ख्या बढिरहँदा आन्तरिक पर्यटन व्यवसायीहरु बीच अस्वस्थकर प्रतिष्पर्धा बढेको छ । यसको प्रभाव हाम्रो आय, उत्पादन र राजस्व सङ्कलनमा परेको छ । यस कुरालाई विचार गर्दै राज्यले खप्तड वा नेपालगञ्ज लगायतका बाह्य क्षेत्रमा होटल निर्माण गर्ने कम्पनीलाई १० बर्ष कर छुट भन्ने किसिमका योजना ल्याउन सक्नुपर्छ । यदि बाह्य क्षेत्रमा स्तरीय ५ ओटा होटल निर्माण भए भने त्यसले अन्य होटल, एयरलायन्स, ट्राभल एजेन्सी लगायतलाई समेत आकर्षण केन्द्रको रुपमा त्यो क्षेत्र विकास हुन सक्छ ।

नेपालका पर्यटकीय हबको रुपमा विकास गर्न सकिने ठाऊँहरु
कन्याम नेपालको एक राम्रो ठाऊँ हो । यद्यपि अहिले सम्म त्यस क्षेत्रमा नेपाली तथा अन्य विदेशी पर्यटकहरुलाई हामीले आकर्षित गर्न सकेका छैनौं । यसरी नै नेपालमा अन्य थुप्रै पर्यटकीय सम्भावना भएका क्षेत्रहरु छन् । जहाँ हामीले थोरै पहलबाट नै धेरै उपलब्धि हासिल गर्न सक्छौं । बर्दिया, रारा लगायतका क्षेत्रहरुलाई समेत यसरी राम्रो सम्भावना भएका क्षेत्रको रुपमा विकास गर्न सकिन्छ । जनकपुरको प्रवद्र्धन गर्ने कुरा निकै पहिले देखि चर्चामा रहेपनि त्यस बमोजिम अहिले सम्म कुनै काम हुन सकेको छैन । यी क्षेत्रको विकास हुन नसक्नुमा हामीले पूर्वाधार विकास गर्न नसक्नु नै मुख्य चुनौती हों । हामीले यसको लागि निश्चित नीति सहित हाम्रा गतिविधिहरु अघी बढाउनुपर्छ । साथै ठूलो लगानी सहित आउन चाहने व्यवसायीलाई सोही बमोजिमको सुविधा दिन सक्नुपर्छ ।

लगानी विस्तारमा सरकारको दायित्व 
राज्यले लगानीकर्तालाई कुन ठाऊँमा कसरी लगानी विस्तार गर्ने भन्ने सम्बन्धमा निश्चित योजना सहित आउन आह्वान गर्ने र त्यस कार्यको निम्ति नयाँपन चाहने व्यक्तिलाई प्रोत्साहित गर्ने हो भने मात्र नेपालमा लगानी विस्तार भई पर्यटकीय नयाँ गञ्तव्यहरु अघी बढ्न सक्छन् । यसको लागि नेपाल पर्यटन बोर्ड लगायतका निकायले समेत पहल गर्नुपर्छ । यसो हुनसके २ बर्ष (साना पर्यटकीय गञ्तव्य) देखि ५ बर्ष (ठूला पर्यटकीय गञ्तव्य)मा निकै धेरै लगानीकर्ता आकर्षित गर्न सक्छौं । साथै यसबाट नेपालमा अबको ५÷७ बर्षमा थप ८–१० लाख पर्यटक भित्र्याउन सक्ने वातावरण सृजना गर्न सकिन्छ ।

पर्यटन क्षेत्रमा आउन न्यूनतम ज्ञान आवश्यक छ
पर्यटन क्षेत्र भनेको राष्ट्रको गौरव सँग जोडिने क्षेत्र समेत हो । यसकारण यस क्षेत्रमा आउने व्यक्तिमा पर्यटन क्षेत्रको राम्रो ज्ञान हुनु जरुरी छ । यसकारण यस क्षेत्रमा आउने व्यक्तिको लागि छोटो अवधिका तालिमहरु समेत उपलब्ध गराइनुपर्छ । साथै पर्यटनमा आउने व्यक्तिलाई विशेष क्षमतावान् बनाउनुपर्छ । यद्यपि बजारमा राम्रो तवरले काम गर्ने हो भने त्यसले बजारमा आउन सक्ने समस्या र विकृतिलाई विचार गर्दै कसरी यस क्षेत्रलाई राम्रो बनाउन सकिन्छ, सोही बमोजिम हाम्रा गतिविधिहरु अघी बढाउनु जरुरी छ । अबको दिनमा पर्यटन क्षेत्रमा आउन चाहने व्यक्तिले एक दुईटा कुरा मात्र बुझेर हुँदैन । अहिले पर्यटन व्यापक क्षेत्रको रुपमा विस्तार भइसकेको छ ।

आकर्षित छन् लगानीकर्ता 
यस क्षेत्रमा लगानी गर्न पछिल्लो समय लगानीकर्ताहरु समेत आकर्षित छन् । यद्यपि यस क्षेत्रमा लगानीको निम्ति आएका लगानीकर्ता समेत काठमाडौं, चितवन र पोखरा भन्दा बाहिर जान सकेका छैनन् । ती क्षेत्र भन्दा बाहिर गएर पर्यटन क्षेत्रमा गरेको लगानी जोखिमयुक्त समेत हुने गर्छ । जसले गर्दा बाह्य क्षेत्रमा लगानी विस्तारको निम्ति कोही पनि तत्पर भएका छैनन् । अब काठमाडौंका केही बर्षमा होटलको शुल्कमा निकै नै प्रतिष्पर्धा हुने देखिएको छ । अहिले सञ्चालनमा रहेका होटलले काठमाडौं आएका पर्यटकको चाप लगभग थेगिरहेको छ । तैपनि काठमाडौंमा ठूलो क्षमताका ८–१० ओटा होटलहरु सञ्चालनमा आउने क्रममा छन् । त्रिभुवन विमानस्थलको क्षमता बढाउन सकिने अवस्था छैन । यस्तो अवस्थामा नेपालमा पर्यटकको आगमन बढाउन सकिने अवस्था छैन । यस्तो अवस्थामा भइरहेका गञ्तव्यमा मात्र लगानी विस्तार गर्ने नभई नयाँ गञ्तव्यमा जोड दिनु आवश्यक छ

। विगतको २० बर्षमा थाइल्याण्डमा आधा दर्जन भन्दा बढि गञ्तव्यहरु पहिचान गरिए । नेपालमा पनि सोही बमोजिम काम गर्न चाहेको खण्डमा त्यो सम्भव छ । नयाँ लगानीकर्ता नयाँ क्षेत्रमा आकर्षित हुनेछन् । यस्तो अवस्थामा अब नेपालमा आउन चाहने व्यवसायीलाई स्वागत गर्ने, व्यवसाय कसरी चलेको छ भन्नेमा अनुगमन गर्ने साथै निश्चित नैतिकता र अनुशासन भित्र रहेर व्यवसायमा संलग्न हुने अभ्यासमा व्यवसायी पनि लाग्नुपर्छ । पैसाको पछि लाग्दा आफ्ना न्यूनतम मूल्य र मान्यता कहिल्यै पनि बिर्सनु हुँदैन ।

Comment

Related News 

ताजा अपडेट

© 2016-2019 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site by : SobizTrend Technology

%d bloggers like this: