नेपालमा फस्टाउँदो इन्टेरियर क्षेत्र : सम्भावना र चुनौती


पुष्प बहादुर कुवँर (अभिषेक); प्रबन्ध निर्देशक, अभिषेक कन्स्ट्रक्सन एण्ड सप्लायर्स प्रा.लि

के हो इन्टेरियर ?
वस्तु र अवस्थिति अनुसार पहिले देखि नै भएकै चिज वा नयाँ चिजहरुलाई कसरी सजाएर आकर्षित तवरले प्रस्तुत गर्न सकिन्छ भन्ने सम्बन्धी सम्बन्धित क्षेत्रको ज्ञान, सीप र अनुभव भएका व्यक्तिहरुले प्रस्तुत गर्ने कलालाई इन्टेरियरको रुपमा बुझ्न सकिन्छ ।

नेपालमा इन्टेरियरको विकासक्रम
नेपालमा वि.सं २०६० भन्दा पछि इन्टेरियर फस्टाएको हो । विगतमा भारतबाट इन्टेरियर सम्बन्धी सामानहरु नेपालमा आइरहेका थिए । सिमेन्ट, सोफा, फर्म, काठ एवं फर्निचर, विद्युतीय क्षेत्र लगायत विभिन्न क्षेत्रहरु इन्टेरियरसँग जोडिन्छन् । खासगरी घर सजावटको अलावा कोठा एवं किचन सजावट प्रति आकर्षण बढ्दो छ । बजार सम्भावना पनि राम्रो छ । मोडुलर किचन तथा रुम डेकोरेसन लगायतका कुराहरु अब सामान्य बन्दै गएका छन् । हाते मेसिनले गर्दै आएका कामहरुमा अब मेसिनको प्रयोग हुन थालेको छ । डिजाइन कार्यमा थ्रिडि, फोरडिको प्रयोग हुन थालेको छ । फालेको सियो पनि काम लाग्छ भन्ने इन्टेरियर क्षेत्रमा स्थानीय सामाग्रीहरुको प्रयोग भने निकै कम मात्र हुँदै आएको छ ।

 

नेपालमा इन्टेरियरको बजार सम्भावना

पछिल्लो समय नेपालमा इन्टेरियर क्षेत्र फस्टाइरहेको छ । यस क्षेत्रको बजार सम्भावना निकै राम्रो हुँदै गएको छ । यद्यपि बजारमा केही समस्याहरु पनि देखिएका छन् । इन्टेरियर क्षेत्रमा राम्रो सीप र अनुभव हासिल गरेर प्रवेश गर्ने व्यक्तिहरुको सङ्ख्या कमी छ । बजारमा आवश्यकता बमोजिम दक्ष जनशक्तिको उपलब्धता छैन । यद्यपि बजारमा आफ्नो योग्यता र क्षमता बमोजिम काम लिन सकिने अवस्था भने छ । बजारमा अहिले २ किसिमका व्यक्तिहरुले यस क्षेत्रमा काम गरिरहेका छन् । एक किसिमका व्यक्तिहरु छिटो पैसा कमाउने मान्यताले यस क्षेत्रमा व्यावसायिक दृष्टिले मात्र काम गरिरहेका छन् । अर्काथरी प्राविधिक ज्ञान लिएर यस क्षेत्रमा प्रवेश गर्नेहरु छन् । उनीहरुले कामको गुणस्तरीयतालाई नै मुख्य आधार बनाउँदै आएका छन् ।

सीप र प्रविधिमा आधारित क्षेत्र 
इन्टेरियर सीप र प्रविधिमा आधारित क्षेत्र हो । यस क्षेत्रमा काम गर्न पुँजी भन्दा पनि सीप र विश्वास महत्वपुर्ण हुन्छ । ठूलो पुँजी लगानी गरेर मात्रै कामलाई गुणस्तरीय बनाउन सकिन्छ भन्ने अवस्था यस व्यवसायमा रहँदैन । यसकारण प्राविधिक पक्षको ज्ञान यस व्यवसायको लागि नितान्त आवश्यक रहन्छ । पछिल्लो समय नेपालमा औपचारिक शैक्षिक कार्यक्रमको रुपमा समेत केही शैक्षिक संस्थाहरुबाट इन्टेरियर कार्यक्रम समेटिएको छ । यसबाट इन्टेरियर क्षेत्रको सही पहिचान स्थापना गर्न र बजारमा आवश्यकता बमोजिमका जनशक्ति तयार पार्न निकै महत्वपूर्ण भूमिका निर्वाह गर्ने अपेक्षा गर्न सकिन्छ ।

नेपालमा इन्टेरियर व्यवसाय फस्टाएको धेरै भएको छैन । पछिल्लो करिब १ दशकमा नेपालमा इन्टेरियर व्यवसायले निकै नै गुणात्मक फड्को मारिसकेको छ । बदलिँदो परिवेश सँगै अबका दिनमा मानिसको अभिन्न अङ्गको रुपमा इन्टेरियर समेत विकास हुँदै गएको छ । यस क्षेत्रको काम गर्न सक्ने व्यक्तिहरु नेपालमा बेरोजगार बस्नुपर्ने अवस्था छैन । कामको लागि विदेश जानुपर्दा पनि कार्यगत सीप हासिल गरेर जाँदा राम्रो आर्थिक उपार्जन गर्न सकिने अवस्था छ ।

नेपालमा इन्टेरियरको प्रयोग 
हुनतः नेपालको निम्ति इन्टेरियर व्यवसाय नयाँ व्यवसाय हो । यद्यपि नेपालको सन्दर्भमा पनि सार्वजनिक महत्वका निजी कार्यालयहरुको निम्ति इन्टेरियर अनिवार्य आवश्यकताको वस्तु बनिसकेको छ । खासगरी बैंक, फाइनान्स, ट्राभल एजेन्सी, होटल, एयरलायन्स लगायतका थुप्रै कर्पोरेट कम्पनीहरु इन्टेरियरको प्रयोगमा निकै नै आकर्षित भइसकेका छन् । पछ्रिल्लो समय नेपालमा इन्टेरियर क्षेत्र प्र्रति निजी घरधनीहरु समेत आकर्षित बन्दै गएका भएपनि निजी घरहरुमा इन्टेरियरको प्रयोग अझै व्यापक भने बनिसकेको छैन । यस्तो अवस्थामा इन्टेरियर क्षेत्रको सम्भावनालाई लक्षित गरेर ठूलो सङ्ख्यामा इन्टेरियर डिजाइन सम्बन्धी छोटो अवधिका तालिमहरु सञ्चालन गरी जनशक्ति उत्पादन गर्नु आवश्यक देखिएको छ ।

नेपालमा इन्टेरियर प्रतिको बढ्दो आकर्षण 
नेपालमा पछिल्ला बर्षहरुमा इन्टेरियर प्रयोगकर्ताको आकर्षण निकै नै बढेको छ । जसले गर्दा अहिले यस क्षेत्रमा संलग्न व्यक्ति र कम्पनीलाई कामको अत्यधिक माग आउने गरेको छ । यसकारण नेपालमा राम्रो तवरले काम गर्न सक्ने र समयमा नै सेवा प्रवाह गर्ने कम्पनीहरुले एकैपटक थुप्रै कामको जिम्मेवारी लिईरहेका छन् । यद्यपि बजारमा राम्रो पहुँच स्थापनाको लागि आफूले जिम्मा लिएका कामलाई राम्रो तवरले सम्पन्न गरी सम्बन्धित व्यक्तिलाई प्रभावित पार्न पनि सक्नुपर्छ । यसबाट नै सम्बन्धित व्यक्तिको प्रतिष्ठा एवं पहिचान कायम हुनुको अलावा व्यवसाय र बजार विस्तारमा समेत सहज परिस्थिति सृजना हुन सक्छ ।

बजारका समस्याहरु 
नेपालमा अहिले काम लिने क्रममा यस क्षेत्रमा अस्वस्थकर प्रतिष्पर्धा र मूल्यमा एकरुपता कायम नहुनु पनि एक ठूलो समस्याको रुपमा रहेको छ । नेपालमा कतिपय व्यवसायी ४० लाख मूल्याङ्कन भएको काम २५ लाखमा नै जिम्मेवारी लिन तयार हुने अवस्था पनि छ । यसबाट कामको गुणस्तरीयतामा आउन सक्ने ह्रास सम्बन्धमा पहिले नै सचेत बन्नु जरुरी हुन्छ ।

इन्टेरियर क्षेत्रमा संलग्न जनशक्तिले नेपालमा नै राम्रो आर्थिक उपार्जन गर्न सक्ने अवस्था छ । यद्यपि नेपालमा अहिले सम्म यस क्षेत्रमा काम गर्न निकै कम मानिसहरु मात्र आकर्षित छन् । अधिकांश मानिसहरु रोजगारीको लागि विदेशिएको अवस्थामा नेपालमा जनशक्ति प्राप्त गर्नु निकै चुनौतीपूर्ण समेत छ । यसको अलावा बजार बिस्तार हुँदै र प्र्रतिष्पर्धि बन्दै जानु तर सोही बमोजिम गुणस्तरीयता कायम गर्नको लागि भने आवश्यक नीतिगत व्यवस्था गर्ने सम्बन्धमा पहल हुन नसक्दा व्यवसायमा आउन सक्ने समस्यालाई विचार गर्दै आगामी दिनमा यस क्षेत्रलाई व्यवस्थित गर्न आवश्यक नीतिगत व्यवस्था गर्नु जरुरी देखिन्छ ।

शैक्षिक कार्यक्रमको रुपमा समेटिँदै इन्टेरियर 
पछिल्लो समय नेपालमा पनि इन्टेरियर डिजाइन शैक्षिक कार्यक्रमको रुपमा नै अघी बढ्दै गइरहेको छ । अबको केही बर्षमा बजारमा आवश्यक जनशक्तिको आवश्यकता पुर्ति गर्ने र बजारलाई स्वस्थकर रुपमा प्रतिष्पर्धात्मक बनाउनको लागि समेत यसले महत्वपूर्ण भूमिका निर्वाह गर्नेमा आशावादी हुन सकिन्छ । साथै शैक्षिक कार्यक्रमको रुपमा समेटिएको इन्टेरियरलाई व्यावहारिक बनाउनको लागि प्रयोगात्मक पक्षलाई पनि विशेष रुपमा सम्बोधन गर्नुपर्छ । यसको लागि निजी क्षेत्रबाट काम गरिरहेका व्यावसायिक संस्थाहरुसँग सहकार्य गर्नुपर्ने आवश्यकता पनि रहन सक्छ । अहिले पनि कुनै–कुनै शैक्षिक संस्थाले इन्टर्नको रुपमा निजी व्यवसायीबाट सञ्चालित इन्टेरियर कम्पनीमा काम सिक्ने अवसर समेत प्रदान गरेका छन् । यसबाट व्यावहारिक जीवनोपयोगि सीप विकासमा सहयोग पुग्ने र सक्षम दक्ष जनशक्ति उत्पादनमा सहयोग पुग्न सक्छ ।

विगतमा इन्टेरियर 
विगत केही पहिले सम्म आफैंंले काम गरेर मात्रै इन्टेरियर सम्बन्धी कामहरु सिक्नुपर्ने अवस्था थियो । तर अहिले भने शैक्षिक कार्यक्रमको रुपमा समेत यस क्षेत्रलाई समेटिएसँगै यस कामका सैद्धान्तिक विषयवस्तुहरु बारे पहिले नै जानकारी हुने र यसबाट काममा सहजता आउने अवस्था सृजना भएको छ । साथै आउन सक्ने सम्भावित जोखिम एवं दुर्घटना न्यूनीकरणमा समेत छोटो अवधिका सैद्धान्तिक र व्यावहारिक ज्ञान एवं जीवनोपयोगी सीपले निकै महत्वपूर्ण भूमिका निर्वाह गरेको छ । यस क्षेत्रलाई छोटो अवधिमा नै व्यापक बनाउने कार्यमा सूचना र प्रविधिमा भएको विकासले समेत निकै नै महत्वपूर्ण भूमिका निर्वाह गरेको छ । यसबाट छिटो र कम लागतमा नै गुणस्तरीय काम गर्न सकिने अवस्था समेत सृजना भएको छ ।

सरकारी चासो भने बढेको छैन 
अहिले सम्म नेपालमा इन्टेरियरको प्रयोग अधिकांश निजी संस्थाहरुमा नै प्रयोग भइरहेको छ । राज्य पक्षका निकाय अन्तरगतका कार्यालयहरुमा इन्टेरियरको प्रयोग बढ्न सकेको छैन । आगामी दिनमा सरकारी संस्थाहरुमा समेत सजावट एवं इन्टेरियरलाई विशेष महत्वका साथ अघी बढाउनु जरुरी छ । अहिले सम्म सरकारी निकायमा काम लिनुपर्ने अवस्थामा जसले कम लागतमा उक्त प्रोजेक्ट निर्माण गर्न तयार हुन्छ, उसैलाई प्रोजेक्ट निर्माणको जिम्मेवारी दिने प्रचलन रहेको छ, यस्तो अवस्थालाई विचार गर्दै यसबाट गुणस्तरीय कार्यमा समस्या सृजना हुन सक्ने कुरालाई समेत विचार गर्दै गुणस्तरीयताको लागि पहल गर्नुपर्छ ।

Comment

Related News 

ताजा अपडेट

© 2016-2019 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site by : SobizTrend Technology

%d bloggers like this: