दिगो विकास अवधारणामा गोर्खा इकोप्यानलः सिइओ दुवालका याेजना, अनुभव र सन्देश


कृष्णभक्त दुवाल* प्रमुख कार्यकारी अधिकृत / गोर्खा इको प्यानल (इन्टरनेशनल ग्रिन डेभलपर्स नेपाल प्रा.लि)

कस्तो कम्पनी हो गोर्खा इको प्यानल ?
गोर्खा इकोप्यानल नेपालको वहराइनको अल्खाजा कम्पनी सँगको जोइन्ट भेन्चरको रुपमा स्थापना भएको कम्पनी हो । वातावरणीय हिसाबले उपयुक्त ब्लकहरुको उत्पादन गर्ने कार्यमा संलग्न रहँदै आएको यो कम्पनी नेपालमा इको प्यानल उत्पादन गर्ने पहिलो कम्पनी समेत हो । सस्टेनेवल ग्रिन टेक्नोलोजीमा कम्प्लिट प्याकेज उपलब्ध गराउने ठूलो योजना सहित अघी बढेको इन्टरनेशनल ग्रिन डेभलपर्स नेपाल सोही बमोजिम विशेष योजना सहित प्रत्येक एक एक प्रडक्ट थप्दै वाल, विन्डोज, वेसिक स्ट्रक्चर, फ्लोर, पेवल लगायतका सोलुसनहरु नेपालमा नै उत्पादन गरी उपलब्ध गराउँदै आएको छ । हाल यस कम्पनी अन्तरगत काठमाडौं उपत्यकामा उत्पादन कार्यमा १ सय जना, बजारीकरणमा करिब ३० जना र देशभरका सबै गरी करिब २ सय जनशक्तिले रोजगारी पाइरहेका छन् ।


‘ग्रिन रिभोलुसन इन कन्स्ट्रक्सन टेक्नोलोजी’ नाराको साथ इको प्यानल निर्माण कार्यमा निरन्तर रुपमा लागिरहने योजनाको साथ आफूहरु अघी बढेको सिइओ दुवाल बताउनुहुन्छ । दिगो विकास प्रविधि नीति बमोजिम काम गर्नुपर्छ भन्ने मान्यता सहित अघी बढ्ने क्रममा नेपालमा हरेक बर्ष एक–एक ओटा नयाँ उत्पादन बजारमा ल्याउने योजनाको साथ हाल यो कम्पनी अघी बढिरहेको छ ।
सिइओ दुवाल भन्नुहुन्छ, ‘हामीले सन् २०१६ मा युपिभिसीका झ्यालढोका निर्माण गर्यौं । गोर्खा विन्डोजको नाममा ती उत्पादनहरु बजारमा आए । नेपालका परम्परागत घरहरुमा काठका झ्यालढोकाहरु प्रयोग गरिन्छ । तर ती काठ समेत दिगो विकासको माध्यम हुन सक्दैनन् भन्ने मान्यताले हामीले नेपालमै युपिभिसी उत्पादन शुरु गरेका हौं । हामीले घर निर्माणको क्रममा प्रयोग गर्ने आरसिसि सम्बन्धमा समेत यो दिगो विकासको माध्यम हुन सक्छ कि सक्दैन भन्ने अध्ययन गर्यौं । हामीले पायौं कि यो दिगो छैन । वरु परम्परागत इट्टा, ढुंगा, काठ, माटो लगायतबाट बनेका घरहरु बढी दिगो हुने देखिए । ५० बर्ष पछि परम्परागत प्रविधिका घर भत्काउँदा समेत ती घरहरुमा प्रयोग भएका सामाग्रीहरु अर्को घरको लागि पुःन प्रयोगमा ल्याउन सकिन्छ । तर आरसिसिका घरहरुमा प्रयोग भएका वस्तुहरु भने पुःन प्रयोगमा ल्याउन सकिने अवस्था रहँदैन ।’

सिमेन्ट र क्रंक्रिटका घरहरु पनि वातावरणमैत्री र दिगो हुँदैनन्ः सिइअाे दुलाल
नेपालमा अहिले कंक्रिटर सिमेन्टबाट घरहरु निर्माण गर्ने प्रचलन छ । यी घरहरु कत्तिको दिगोपन रहलान् भन्ने बारे हामीले विचार गर्नुपर्छ ? वास्तवमा यी घरहरु पनि दिगो छैनन् । सिमेन्टको प्रयोगबाट निर्माण गरिएका घरहरु पनि निश्चित समय पश्चात् भत्काउनुपर्ने हुन्छ, त्यस समयमा ती घरहरुबाट निस्किने पुरानो घरका अधिकांश वस्तुहरु प्रयोगमा ल्याउन सकिने अवस्था रहँदैन । यसले वातावरणमा नराम्रो असर पार्न सक्छ ।


जापानमा निर्माण भएका घरहरु हेर्ने हो भने त्यहाँ स्टिल स्ट्रक्चरको प्रयोग भएको पाइन्छ । ती घरहरु २०–२५ तला सम्म नै बनाए पनि एकातिर तत्कालको लागि सुरक्षित हुन्छन् भने अर्कोतिर ती घरहरु भत्काउने क्रममा पनि अधिकांश वस्तुहरु पुःन प्रयोग योग्य नै हुन्छन् । त्यहाँ प्रयोग भएका इकोप्यानलयुक्त वाल, युपिभिसी लगायतका वस्तुहरु पुःन प्रयोगमा ल्याउन सकिन्छ ।

कम्पनीको आगामी योजनाबारे सिइओ दुवाल भन्नुहुन्छ 
हामी सन् २०१८ मा पानी छिर्ने (पर्मेबल ब्लक) ल्याउँदैछौं । यो ब्लक राखिएको भुईंबाट आकाशको पानी सहजै जमीन भित्र छिर्न सक्छ । जसले गर्दा जमीनमा पानी रिचार्ज हुनेगर्छ । गोर्खा प्रिकास्ट एण्ड विन्डोजबाट उत्पादित यस ब्लकको प्रयोग गर्ने हो भने अहिले काठमाडौंको जमल लगायत थुप्रै ठाउँहरुमा आकाशबाट पानी परेको खण्डमा पानी जमेर बाटो नै अवरुद्ध हुने समस्या हल हुन सक्छ ।

नेपालमा गोर्खा इकोप्यानल र बजार 
अल्खाजा कम्पनी लिमिटेड सँगको जोइन्ट भेन्चरको रुपमा रहेको गोर्खा इको प्यानलको व्यवस्थापन समूहमा ५ जना व्यक्तिहरु संलग्न हुनुहुन्छ । यस कम्पनीले हाल नेपालका १७ जिल्लामा डिलरहरु सञ्चालन गरेको छ । साथै कम्पनीका उत्पादनहरु नेपालका करिब ४५ जिल्लामा पुगेका छन् । अहिले यस कम्पनीका उत्पादनको उपयोगबाट विभिन्न ठाउँमा घर, अस्पताल, गाउँपालिका तथा वडा कार्यालयहरु निर्माण भएका छन् । नेपालमा सुगम मात्र नभई दुर्गम क्षेत्रमा समेत कम्पनीले सेवा उपलब्ध गराएको छ । मनाङमा कोल्ड स्टोरेज, संखुवासभामा आर्मी क्याम्प, चितवनमा हेल्थपोष्ट निर्माण लगायतका कामहरु समेत यस कम्पनीले गरिसकेको छ ।

इकोप्यानल उत्पादनमा जनशक्तिको समस्या 
अहिले नेपालमा काम गर्ने दक्ष तथा अदक्ष जनशक्ति प्राप्त गर्न निकै नै गाह्रो छ । यद्यपि नेपालमा काम नभएको कारण देखाउँद्रै विदेशिने नेपालीहरुको सङ्ख्या पनि दिनानुदिन बढ्दो छ । यो नेपाली उद्योगहरुको लागि ठूलो च्यालेन्जको विषय बनेको छ । साथै विदेशिने नेपालीहरुलाई उनीहरुले विदेशमा कमाउने बराबरको तलब रकम नेपालमा नै दिन तयार हुँदा पनि उनीहरु नेपालमा रहेर काम गर्न तयार हुँदैनन् । यो अझ दुःखको कुरा हो । साथै नेपालमा उच्च तहमा रहेर काम गर्ने दक्ष इन्जिनियरहरु पाउन समेत गाह्रो छ । नेपालमा विज्ञहरु उपलब्ध हुन नसकेको कारण नेदरल्याण्ड, वहराइन लगायतबाट विज्ञ ल्याई उत्पादित वस्तुहरुको चेकजाँच गराउनुपर्ने अवस्था छ । यद्यपि नेपालको आवश्यकता बमोजिम विदेशी प्रविधि अनुकुल आवश्यक वस्तुहरु नेपालमा नै उत्पादन गर्ने मान्यता सहित कम्पनीले काम समेत गरिरहेको छ ।

अन्य संस्थासँगको सहकार्य 
नेपालमा टेक्नोलोजी ट्रान्सफरको समेत योजनामा रहेको यो कम्पनीले नेपालका पुल्चोक इन्जिनियरिङ कलेज, ख्वप इन्जिनियरिङ लगायतसँग समेत सहकार्य गरी विदेशको प्रविधि हस्तान्तरण तथा प्रशिक्षणमूलक कार्यक्रम सञ्चालनको निम्ति समेत काम गर्दै आइरहेको छ । यसबाट कम्पनीको दिगो विकास योजनालाई सार्थक बनाउन अझ सहज हुने कम्पनीको विश्वास छ । साथै राज्य पनि हरित उत्पादनलाई प्राथमिकता दिँदैे उचित नीति तय गर्नु जरुरी छ ।

पछिल्ला बर्षहरुमा नेपालीहरु समेत इकोप्यानल प्रति जागरुक हुँदै गएका छन् । विगतमा नेपालीहरु यसको उपयोगिता र फाइदा सम्बन्धमा जागरुक थिएनन् । ईंटाको विकल्पको रुपमा इकोप्यानल रहेको र काठको विकल्प युपिभिसी रहेको भन्ने कुरा सेवाग्राहीहरुले बुझ्दै गएका छन् ।

लागतको हिसाबले समेत सुलभ 
अहिले यस कम्पनीबाट उत्पादित प्रडक्टहरु तुलनात्मक रुपमा निकै सुलभ दरले प्राप्त गर्न सकिने अवस्था छ । खासगरी तौल कम हुने गरेको कारण उच्च हिमाली र विकट क्षेत्रको निम्ति समेत यी उत्पादनहरु उपयुक्त छन् । विकट क्षेत्रहरुमा टाढाबाट ईंटाँ पुर्याउनु भन्दा युपिभिसी निकै सुलभ पर्न जान्छ । साथै युपिभिसी लगायतका उत्पादन प्रयोग गर्दा भित्तो पातलो हने र थोरै ठाउँमा पनि प्रयोग गर्न सकिने, थर्मल इन्सुलेसन राम्रो हुने हुँदा बाहिरको तातोचिसोले असर नपर्ने हुँदा साथै विद्युतीय शुल्क घटाउन सकिने अवस्था समेत रहन्छ । साथै यो प्रविधि प्रयोग गर्दा स्ट्रक्चरल लागत कम पर्ने साथै यस्ता घर थोरै समयमा नै निर्माण गर्न सकिने भएको कारण यो प्रविधिको प्रयोगबाट सेवाग्राहीहरुले तुलनात्मक रुपमा बढी फाइदा पाउन सक्छन् ।

स्वदेशमा उपलब्ध प्राकृतिक स्रोतः विदेशबाट सिकेकाे मेराे अनुभव
नेपालमा नै सम्भव भएसम्म यहीँ उपलब्ध प्राकृतिक स्रोतलाई उपयोग गरेर सोही बमोजिम प्रडक्टहरु निर्माण गर्ने कम्पनीको योजना छ । जसरी विगतमा मिडल इस्ट कन्ट्रिहरुले आफूसँग रहेको तेलको महत्व थाहा पाएका थिएनन्, त्यति बेलासम्मउनीहरुको अवस्था कमजोर थियो तर जब उनीहरुलाई आफूसँग भएको तेलको महत्व थाहा भयो, त्यस पछि ती देशको अवस्था समृद्ध बन्दै गयो । चीन पनि उपलब्ध स्रोतको उपयोग गरी प्राप्त रकमलाई एकीकृत गर्दै औद्योगिकीकरणमा गएको कारण नै अहिलको अवस्थामा आउन सकेको हो । जसरी यान्जी रिभर (लम्बाई ८ हजार ३ सय कि.मि) बाट २१ हजार ५ सय मेगावाटको हाइड्रोपावर बनाइएको छ । त्यहाँ नदीको किनारमा रहेका पहाड फोरेर क्रसरबाट ढुंगा टाढाको शहरमा लैजाने अभ्यास भएको पाइन्छ । त्यसरी नै नेपालमा पनि हामीसँग उपलब्ध ठूला पहाडहरुका ढुंगा गिटी प्रयोगमा ल्याउनु जरुरी रहन्छ ।

पछिल्लो समय चीन र नेपाल बीचको कनेक्सन बारे निकै नै चर्चा चलिरहेको छ । यस्तो अवस्थामा नेपालबाट चीनलाइ के पठाउने भन्ने सम्बन्धमा भने चासो राखिएको पाईंदैन । नेपालका पश्चिमी नारायणी नदी, सप्तकोशी लगायतका विभिन्न क्षेत्रमा क्रसर नेपालका ठूला पहाडहरु फोरेर त्यहाँका ढुंगा गिटी लगायतका उत्पादन गरी वातावरण पक्षलाई असर नपार्ने गरी उत्खनन् गर्ने र विक्री गर्ने हो भने राम्रो आर्थिक उपार्जन गर्न सकिने अवस्था छ । हामीले यस बारे पनि सोच्नु जरुरी रहन्छ । यसो हुन सकेको खण्डमा नेपालले छोटो अवधिमा नै विकासको दिशामा फड्को मार्न सक्छ ।
यसरी नै नेपालमा उपलब्ध अन्य स्रोतसाधनको समेत पहिचान गरी जल यातायातबाट सुलभ दरमा ती सामानहरु बाहिर निर्यात गर्ने अवस्था सृजना गरिने हो भने यसबाट नेपाल आफ्नै उपलब्ध स्रोत र साधनबाट नै विकासित र समृद्ध बन्न सक्छ । हामी सोही बमोजिम दिगो विकास अवधारणामा अघी बढ्नु जरुरी छ ।

 

इकाे प्यानल निर्माणमा प्राेत्साहनः
दुवालको आफ्नो पारिवारिक व्यवसाय ईंटा भट्टा हो । आफ्नो पारिवारिक व्यवसायको रुपमा उत्पादन हुँदै आएको ईट्टालाई कसरी नयाँ तवरले सञ्चालन गर्न सकिन्छ ? परम्परागत रुपमा उत्पादित ईंटा भट्टाको विकल्प के हुन सक्छ भनेर खोज्ने क्रममा ऊहाँ विभिन्न क्षेत्रमा अध्ययनमा लाग्नुभयो । यसै क्रममा गोर्खा इको प्यानलमा संलग्न केही व्यक्तिहरु सन् २०११ मा जापान, वहराइन, कोरिया, चीन, भारत लगायतमा भ्रमण गरी नेपालको बजारलाई उपयुक्त हुने विकल्प खोज्नु सफल हुनुभयो । त्यही उपलब्धि हो गोर्खा इको प्यानल । सन् २०१४ मा अन्तराष्ट्रिय प्रविधिमा आधारित र नेपालको लागि उपयुक्त गोर्खा इकोप्यानल निर्माण कार्य सफल भएको हो ।

माष्टर डिग्री तहको अध्ययन पश्चात् दुवालको मनमा आफूले अध्ययन गरेको क्षेत्रमा नै रहेर काम गर्नुपर्छ भन्ने मान्यता विकास भयो । सोही बमोजिम ऊहाँले व्यावहारिक तवरले कसरी काम गर्नुपर्ने मान्यताले अघी बढ्दा केही समय शिक्षण क्षेत्रमा संलग्न भएपनि त्यसबाट मात्र सन्तुष्ट हुन सक्नुभएन । साेही बमाेजिम दुवाल इकाे प्यानल निर्माण कार्यमा हाेमिनुभयाे ।

 

को हुनुनुहुन्छ कृष्णभक्त दुवाल ?
हाल चीनको उभन युनिभर्सिटी अफ टेक्नोलोजीमा रिसोर्सेज एण्ड इन्भाइरोमेन्टमा पि.एच.डी गरिरहनुभएका कृष्ण भक्त दुवाल इन्टरनेशनल ग्रिन डेभलपर्स नेपाल प्रा.लि.का प्रमुख कार्यकारी अधिकृत हुनुहुन्छ । ऊहाँले मास्टर डिग्री तहको अध्ययन सन् २००९ मा नवीकरणीय ऊर्जा सम्बन्धी पुल्चोक इन्जिनियरिङ कलेजबाट पूरा गर्नुभएको हो । सन् २००६ मा इन्जिनियरिङ अध्ययन पूरा गरेपश्चात् नेपाल इन्जिनियरिङ कलेजमा एसिस्टेन्ट प्रोफेसरको रुपमा काम गर्नुभयो ।

Comment

Related News 

ताजा अपडेट

© 2016-2019 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site by : SobizTrend Technology

%d bloggers like this: