भूकम्पीय जोखिम न्यूनीकरणको दिशामा एनसेटः कार्यकारी निर्देशक डा‍‍‍ दीक्षितका अनुभव र सल्लाह


डा. आमोद मणि दीक्षित – कार्यकारी निर्देशक* भूकम्प प्रविधि राष्ट्रिय समाज नेपाल (एनसेट)

भूगर्भशास्त्र एवं भूप्राविधिक शास्त्रमा स्नातकोेत्तर तहको अध्ययन गर्नुको अलावा भूकम्प इन्जिनियरिङमा विद्यावारिधि अध्ययन गर्नुभएका डा.आमोदमणि दीक्षित लामो समय देखि नेपालमा भूकम्पीय प्रकोप न्यूनीकरणको क्षेत्रमा संलग्न रही काम गर्दै आउनुभएका अनुभवी व्यक्ति हुनुहुन्छ । नेपाल सरकार अन्तरगतको खानी तथा भू–गर्भ विभागमा करिब २ दशक रही कार्यअनुभव बटुल्नुभएका दीक्षितकै नेतृत्वमा स्थापना भएको भूकम्प प्रविधि राष्ट्रिय समाज नेपाललाई अहिलेको अवस्थामा ल्याउन र देशभर भूकम्पीय जोखिमको अवस्थाको बारेमा अध्ययन, खोजबिन, चेतना जागरण र राज्यलाई समेत जागरुक बनाउने कार्यमा दीक्षितको योगदान निकै नै महत्वपूर्ण छ ।
नेपालमा पछिल्लो समय वि.सं २०७२ मा गोर्खालाई केन्द्रबिन्दु बनाएर आएको महाभूकम्प पश्चात् छोटो अवधिमा नै परिस्थितिलाई नियन्त्रणमा लिई उद्धारमा लाग्न सक्नुमा यसबारे धेरैजसो नेपालीहरुलाई पहिले नै चेतना जागरण गराइसक्नुले निकै महत्वपूर्ण भूमिका निर्वाह गरेको दीक्षितको धारणा छ ।

भूकम्प प्रविधि राष्ट्रिय समाज नेपाल स्थापनाको पृष्ठभूमि 
वि.सं २०४५ को भूकम्पलाई नजिकबाट अध्ययन गर्नुभएका दीक्षित इन्जिनियरिङ क्षेत्रका एक अनुभवी व्यक्ति हुनुहुन्छ । नेपालमा भूकम्पीय प्रकोपको बारेमा अध्ययनको लागि कुनै पनि संस्थागत पहल हुन नसकेको अवस्थामा विभिन्न जोखिमता बीच आफ्नै अग्रसरतामा प्रकोप नियन्त्रण सम्बन्धी काम अघी बढाउनुभएका दीक्षित विभिन्न आरोहअवरोह सहँदै अहिले अन्तराष्ट्रिय जगतमा समेत प्रकोप नियन्त्रण क्षेत्रमा विशेष पहिचान बनाउन सफल हुनुभएको छ ।

वि.सं २०४५ को भूकम्पबाट पीडित एवं प्रभावित नेपाली जनताहरुको पीडामुक्त हुने चाहनालाई दिगो रुपमा सम्बोधन गर्ने उद्धेश्यले स्थापना गरिएको यो संस्था नेपाल सरकारका उच्च पदस्थ व्यक्तिहरु, सचिव, उच्चस्तरीय प्राविधिक तथा इन्जिनियर लगायत विभिन्न क्षेत्रका प्रतिष्ठित एवं अनुभवी व्यक्तिहरुको ठूलो संलग्नता र सहयोगमा निश्चित कार्ययोजना सहित अघी बढेको हो । नेपालका अधिकांश गैरसरकारी संस्थाले प्रभावकारी रुपमा काम गर्न नसकेको अवस्थामा यो संस्था स्थापनाको निम्ति समेत अन्य बाटो नभएको कारण संघसंस्था दर्ता ऐन (एनजिओ) अन्तरगत नै दर्ता भएको यस संस्थाले सामाजिक शशक्तिकरण एवं चेतना जागरणको क्षेत्रमा उल्लेख्य उपलब्धि हासिल गरेको छ ।

भूकम्प प्रविधि राष्ट्रिय समाज नेपालका कार्यहरु 
नेपाली युवाहरुलाई भूकम्पीय जोखिम न्यूनीकरणको लागि तालिम प्रदान गर्ने, सचेतना विकास गर्ने, राज्यलाई नीतिनिर्धारण तहमा सहयोग गर्ने, प्राकृतिक प्रकोप न्यूनीकरणको लागि विश्वमा विकास भएका नयाँ प्रविधिहरु नेपालमा भित्र्याई नेपालीकरण गर्ने, विभिन्न अनुसन्धानमूलक कार्यहरु गर्ने लगायतका गतिविधिहरुमा भूकम्प प्रविधि राष्ट्रिय समाज नेपाल (एनसेट) सक्रिय रहँदै आएको छ । साथै प्राकृतिक प्रकोपको समयमा हुन सक्ने मानवीय क्षति र भौतिक नोक्सानीलाई क्रमशः न्यूनीकरण गर्दै लैजाने कार्यमा यस संस्थाको भूमिका उल्लेख्य छ । साथै तय गरिएका नीतिहरुको स्थलगत कार्यान्वयनमा यस संस्थाले विशेष सक्रिय भूमिका निर्वाह गर्दै आएको छ । कुनै क्षेत्रमा आउन सक्ने सम्भावित जोखिम न्यूनीकरणको निम्ति चेतना जागरणको भूमिका निकै नै महत्वपूर्ण रहने कुरामा जोड दिँदै विश्वविद्यालय, सुरक्षा क्षेत्र, बौद्धिक वर्ग लगायतसँग हातेमालो गर्दै यस संस्थाले आफ्ना गतिविधिहरु अघी बढाइरहेको छ ।

भुकम्पलाई मुख्य कार्यक्षेत्रको रुपमा अपनाउँदै आएको यस संस्थाले जनताहरुमा भूकम्प आफैंले मानिसहरु मार्दैन, बरु मानिसले बनाएका असुरक्षित संरचनाहरु भत्किँदा मानिसहरुको मृत्यु हुने हो भन्ने मुख्य विषयमा नै मानिसहरुलाई सचेत बनाउँदै आएको छ । जसले गर्दा निर्माण गरिने मानवीय भौतिक संरचना सुरक्षित र बलियो बनाउन सकेको खण्डमा भूकम्पीय जोखिमबाट बच्न सकिन्छ भन्ने विषयलाई नै विशेष केन्द्रित गर्दै आएको छ ।

नेपालमा भूकम्पको अलावा बाढी, पहिरो, अतिवृष्टि, अनावृष्टि, भूक्षय, शीतलहर, हिमपात लगायतबाट बर्षेनी ठूलो परिमाणमा मानिसहरुको मृत्यु हुने गरेको छ । यी र यस्ता भवितव्यहरु कहिले र कसरी आउँछन् भन्ने यकिन गर्न सकिँदैन । यद्यपि यस्ता सम्भावित प्रकोपहरुको बारेमा पहिले नै सचेत रहने हो भने त्यसबाट हुन सक्ने ठूलो क्षतिलाई कम गर्न भने अवश्य सकिन्छ । जसरी नेपालमा आउन सक्ने भूकम्पीय प्रकोपलाई लक्षित गरेर निकै लामो समय देखि काम गर्ने क्रममा २०७२ को भूकम्प पश्चात् परिस्थिति सहज बनाउँदै राहत उपलब्ध गराउन जुन सहजता प्राप्त भयो, यसबाट पनि सिक्नु जरुरी छ कि अन्य सम्भावित प्रकोपहरुमा पनि हामी पहिले देखि नै सचेत बन्नु जरुरी छ ।

सचेतना विस्तारको भूमिका 
सचेतना विस्तार कार्य देख्दा खासै प्रभावकारी नलाग्न पनि सक्छ, तर त्यसको उपयोग एवं मूल्याङ्कन समेत जोखिमपूर्ण अवस्थामा नै हुने कुरामा केन्द्रित रहँदै सचेतनामूलक कार्यले विगतमा खेलेको प्रभावकारी भूमिकालाई समेत आधार मानी सोहीबमोजिम अघी बढ्नुपर्ने आवश्यकता रहन्छ । प्राकृतिक प्रकोपबाट हुन सक्ने जोखिम न्यूनीकरणको लागि मानवीय प्रयाशको महत्वपूर्ण भूमिका रहन सक्ने कुरालाई गम्भीर रुपमा लिनुपर्छ ।

भूकम्प प्रविधि राष्ट्रिय समाज नेपाल (एनसेट)को सञ्जाल 
भूकम्प प्रविधि राष्ट्रिय समाज नेपालले नेपालमा आउन सक्ने भूकम्पीय जोखिम एवं न्यूनीकरण पहल सम्बन्धमा हाल नेपालका ४० नगरपालिकामा प्रभावकारी रुपमा काम गरिरहेको छ ।

घर एवं बस्तिलाई सुरक्षित बनाउने सम्बन्धमा संघीय विकास मन्त्रालय, शहरी विकास मन्त्रालय एवं नेपाल सरकार अन्तरगतका विभिन्न विभागहरु, नेपाल विद्युत प्राधिकरण, विभिन्न अस्पताल, विश्वविद्यालय, सुरक्षा निकाय लगायतसँग समेत सहकार्य गर्दै आएको छ । यसको साथै भारत, अमेरिका, बेलायत एवं जापानका विश्वविद्यालयहरु मिलेर नेपालको लागि आवश्यक विभिन्न गतिविधिहरु सञ्चालन गरिरहेको छ । यसैगरी यस संस्थाले हाल नेपालको अलावा वङ्गलादेश, पाकिस्तान, भुटान, अफगानिस्तान, श्रृलङ्का लगायतका देशहरुको निम्ति समेत समेत यस संस्थाले विशेष प्रभावकारी भूमिका निर्वाह गर्दै आएको छ । साथै यस्ता विभिन्न गतिविधि एवं अनुसन्धानबाट प्राप्त ज्ञान एवं उपलब्धिबाट सिक्दै जोखिम न्यूनीकरणको लागि कसरी प्रभावकारी भूमिका निर्वाह गर्न सकिन्छ भन्ने बारे सीमान्तकृत समुदाय सम्म यसको लाभ पु¥याउन कार्यमा संस्था निरन्तर चिन्तनशिल रहँदै आएको छ ।

संस्थाको जोड 
भूकम्प पश्चात् जनतालाई उपलब्ध गराउनुपर्ने सुविधा अन्तरगतका राहत, पुनर्लाभ, पुनस्थापना र पुनर्निमाणलाई अलग–अलग तवरले हेर्नुहुँदैन भन्नेमा यस संस्थाले विशेष जोड दिँदै आएको छ । यदि हामीले जोखिम न्यूनीकरणमा हामी घटना हुनु भन्दा पहिले कुनै तयारी गरेनौं भने हामी घटना पश्चात् अवश्य पनि निरीह बन्नुपर्छ भन्ने सम्बन्धमा सरकारलाई समेत ध्यानाकर्षण गराउँदै आएको यस संस्थाले गोरखा केन्द्रबिन्दु बनाएर गएको भुईंचालो पश्चात् नेपालीहरु छोटो अवधिमा नै राम्रो तवरले सन्तुलनमा आउन सक्न कुनै एक व्यक्तिको मात्र नभई नेपालको सुरक्षा निकाय, सरकारी पहल, विभिन्न संघसंस्थाबाट जनचेतना अभिवृद्धिको लागि भएको पहल, दूरसञ्चार एवं प्रविधिको क्षेत्रमा कार्यरत संस्थाहरु लगायतको संयुक्त प्रयाश भएको यस संस्थाका कार्यकारी निर्देशक आमोदमणि दिक्षित बताउनुहुन्छ ।

भूकम्प पश्चात् हामीले परिस्थितिलाई नियन्यणमा लिन नसकेको भए हुन सक्ने घटनाहरु बारे बताउँदै दिक्षित भन्नुहुन्छ, ‘आपसी ठूला झै–झगडा, लुटपाट, चोरी, रोगव्याधि, खानाको हाहाकार लगायतका घटनाबाट हामीले मुलुकलाई बचाउन सक्यौं, यो निकै नै महत्वपूर्ण विषय हो । हामीले विगत २० बर्ष देखि पोष्ट डिजास्टर निड्स एसेसमेन्ट लगायतका कामहरु गर्दै आएको कारणले नै यो उपलब्धि सम्भव भएको हो । यसमा हामीले जे–जति गर्न सकेका छौं, त्यसमा हामीले पनि सन्तुष्टि महसुस गरेका छौं । यसरी नै नेपालले भूकम्पलाई जुन किसिमले सामना गर्न सक्यो, साथै अहिले जुन किसिमले भूकम्प पछिको पूनर्निमाण कार्य अघी बढिरहेको छ, यसमा हाम्रो शिर ठाडो छ । नेपालका आर्थिक, सामाजिक एवं राजनीतिक प्रतिकूल परिस्थितिको वावजुद नेपालले भूकम्पीय जोखिम न्यूनीकरणको लागि अहिलेको अवस्था सम्म जति काम गर्न सफल भएको छ, त्यो निकै महत्वपूर्ण कार्य हो । यद्यपि आगामी दिनमा पनि नेपालमा यस क्षेत्रमा प्रशस्तै कामहरु गर्नुपर्नेछ ।’

शिक्षामा समेत समेट्नुपर्नेमा दीक्षितकाे जाेड
नेपालका विश्वविद्यालयहरुले अझै पनि हाम्रो संस्कार, परिवेश, सामाजिक परिस्थिति र हाम्रा आवश्यकता बमोजिमका विषयवस्तुहरु शैक्षिक पाठ्यक्रममा समेट्न सकेका छैनन् । यसैकारण अहिलेको शिक्षा प्रणालीले व्यावहारिक ज्ञान दिन सकेको छैन । अझै पनि इन्जिनियरिङ कलेजहरुमा हाम्रो धरातललाई आधार मानेर सोहीबमोजिमका संरचना, भौगोलिक परिस्थिति, खोलानालामा आधारित शिक्षा प्रदान गर्ने प्रचलन हामीमा विकास भएको छैन । हाम्रो आवश्यकता बमोजिम सोही अनुकुलको शिक्षा प्रदान गर्ने कार्य नेपाल हुन नसकेको कारणले समेत अहिले शैक्षिक जनशक्ति अप्ठ्यारो अवस्थामा तत्काल कुनै निर्णय लिने अवस्थामा पुग्न सकेका पाईंदैनन् । यस्तो अवस्थामा हामीलाई हाम्रो परिवेश बमोजिमको शिक्षा प्रदान गर्न सकेको खण्डमा मात्र त्यसले चेतना अभिवृद्धिमा प्रभावकारी भूमिका निर्वाह गर्न सक्ने कुरामा सजग रहँदै सोहीबमोजिम अघी बढ्नु जरुरी छ ।

Comment

Related News 

ताजा अपडेट

© 2016-2019 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site by : SobizTrend Technology

%d bloggers like this: