पर्यटन उद्योगको लागि दक्ष जनशक्ति उत्पादन गर्ने पायोनियर संस्था नाथम


 

‘नेपालको टुरिजम क्षेत्रलाइ विश्वमा नै चर्चित बनाउन सबै एकजुट भएर लाग्नुपर्छ, प्रत्येक क्षेत्रमा सम्बन्धित व्यक्तिले आ–आफ्नै किसिमको योगदान गर्न सके मात्र समग्र पर्यटन क्षेत्रको विकास हुन्छ र पर्यटन वर्ष सफल हुन्छ’, भन्नुहुने नाथमका दुर्गादत्त ढकालसँग पर्यटन क्षेत्रमा केन्द्रित भएर गरिएको कुराकानीमा अाधारित सामाग्रीः

दुर्गादत्त ढकाल, कार्यकारी निर्देशक, नाथम

नेपालको टुरिजम क्षेत्रः
नेपालको पर्यटन क्षेत्रको धेरै चर्चा परिचर्चा हुने गरेको छ । र, यो क्षेत्रमा केहि सुधारको कामहरु पनि नभएको चाहिँ होइन । भौतिक संरचना निर्माणका लागि अगाडि बढिरहेका छन् । जस्तैः राष्ट्रिय अन्तर्राष्ट्रिय विमानस्थलको विषयमा होस् अथवा क्षेत्रीय विमानस्थल भैरहवा वा पोखरा विमानस्थल होस् लगातार विमानस्थलको सुधार र नयाँ निर्माणका कामहरु भएका छन् । खासगरी टुरिष्टहरु नेपालमा आउँदा र फर्किंदा सजिलो होस् भन्ने कुरालाई हामीले प्राथमिकता दिनुपर्छ, जसका लागि सजिलो तरिकाले विमानस्थलमा आवतजावतको वातावरण बनाउनु पर्छ । त्यसपछि यहाँ आइसकेका टुरिष्टहरुलाई कसरी दक्ष जनशक्तिबाट सेवा दिने, कसरी हाम्रा पर्यटन उद्योगहरुलाई व्यवस्थित गर्ने अर्थात् कसरी पर्यटन उद्योगहरुले पर्यटकहरुको मन आकर्षित गर्न सक्षम हुन्छ आदि कुराहरुमा हामीले अझ बढि ध्यान दिनुपर्ने अवस्था नेपालमा छ । पर्यटन–पर्यटन भनेर मात्र पर्यटनको विकास हुँदैन । पर्यटनको विकास हुनको लागि निश्चित योजनाहरु चाहिन्छ । संस्कृति पर्यटन तथा नागरिक उडड्यन मन्त्रालयले आफ्नो कार्यक्रमहरु गरिरहेकै छ, तर जुन अपेक्षा गरिएको थियो, त्यो भएको छैन । जस्तोः अन्तर्राष्ट्रिय विमानस्थलको सन्दर्भमा वा अन्य विषयमा जनताको अपेक्षा अनुसारको कामहरु हुन बाँकी नै छ । त्यसमा अझ बढि मेहनत गर्नुपर्ने अवस्था देखिन्छ ।

टुरिजम क्षेत्रमा नाथमले पुर्याएको योगदानः
नेपाल एकेडेमि अफ टुरिजम एण्ड होटल म्यानेजमेन्ट (नाथम) दक्ष जनशक्ति उत्पादनको दुष्टिकोणले नेपालको पायोनियर इन्स्टिच्युट हो । गुणस्तरीय, कोर्ष कम्प्लिट र प्रशिक्षणको हिसाबले अरु इन्स्टिच्युट भन्दा नाथम धेरै राम्रो छ । अरु संस्थाहरुले दिएको तालिमहरुमा यस संस्था अग्र पंक्तिमा रहेको छ । सेवाग्राहीको सन्तुष्टि नै नाथमको सन्तुष्टि हो । गाउँदेखि शहरसम्म दिने तालिमहरुमा स्तरीय व्यवस्थापन गर्नुपर्छ, जुन नाथमले गरेको छ । अहिले विभिन्न तालिम दिने संस्थाहरु त छन् तर तिनीहरुले निश्चित मेन्टेन नगरेको अवस्था छ । कुनै व्यक्तिले चाहे नाथमबाट वा अन्य ठाउँबाट लिएको तालिम होस तालिममा एकरुपता हुनुपर्छ । त्यसैले तालिमको नेतृत्व मन्त्रालयले गर्नुपर्ने देखिन्छ । अघिल्लो वर्ष ट्रेकिङ्ग गाइडको विषयमा योग्यताको विवाद परेको थियो । हामीले ट्रेकिङ्ग गाइडको यति योग्यता हुनुपर्छ भनेपछि अहिले मन्त्रालयले सबैमा एकरुपता गर्यो । त्यस्तै कोर्स, ट्रेनिङ्ग आवरमा पनि एकरुपता हुनुपर्यो र ट्रेनिङ्ग रिसोर्स पर्सन पनि क्वालिटीका हुनुपर्यो । यि सबै कुराहरुको म्यानेजमेन्ट भयो भने मात्रै तालिम प्रभावकारी हुन्छ । त्यसमा हामी सबैले ध्यान दिनुपर्छ । खासमा देश बनाउने भनेको हामी सबै मिलेर हो, एउटा मन्त्री, पद, संस्था, सचिव, व्यक्तिले गरेर हुँदैन । टुरिजम व्यवसाय भनेको एउटाले गरेको गल्तिले अन्त पनि असर गर्छ है भन्ने हो । त्यसैले एक व्यक्ति वा संस्था कमजोर भयो भने त्यसले समग्र टुरिजममा असर गर्छ । भौतिक संरचना अन्य मन्त्रालयका विषयहरुले पनि टुरिजम व्यवसायलाई असर गर्छ । अर्को सुरक्षाको व्यवस्था राम्रो भयो भने मात्रै टुरिष्टहरु आएर बस्ने, घुमफिर गरेर जाने हो । त्यसैले सरकारलगायत सबैले देशलाई कसरी राम्रो बनाउने, टुरिजमलाई कसरी विकास गर्ने भन्ने सोच्नुपर्छ । धुवाँरहित उद्योगको रुपमा विश्वमा परिचित पर्यटन उद्योगको विकल्प छैन् । यो उद्योगबाट धेरै नेपालीहरु लाभान्वित भएका छन्, अझै पनि बढी नेपालीहरु यसबाट लाभान्वित हुने अवसर राज्यले सिर्जना गर्दै जानुपर्छ भन्ने मेरो व्यक्तिगत मान्यता पनि हो । नाथमले यि कुराहरुमा तालिम र शैक्षिक कार्यक्रममार्फत दक्ष जनशक्ति उत्पादन गरेर नेपालमा भित्रिएका पर्यटकहरुलाई गुणस्तरीय सेवा दिन सधैं प्रतिबद्ध रहेको छ, रहन्छ र भविष्यमा पनि नाथमले अझ बढी आफ्ना क्रियाकलापहरुलाई सुधारेर लैजान्छ । नेपालमा पर्यटन उद्योगको लागि दक्ष जनशक्ति उत्पादन गर्ने पायोनियर संगठन हुने क्रममा नाथम अगाडि बढ्छ । हाम्रो त्यहि अनुसारको नीति, कार्यक्रम, योजनाहरु भएका छन्, यो भयो भने अरु संस्थाहरुले पनि नाथमकै स्तरमा अथवा नाथमभन्दा अझ राम्रो स्तरमा गर्नुभयो भने त्यसमा मेरो शुभकामना छ । तर तालिममा एकरुपता हुनुपर्छ, शैक्षिक कार्यक्रम त्रिभुवन विश्वविद्यालयबाट स्वीकृत कार्यक्रम पाठ्यक्रम भएको हुनाले सबैले त्यसलाई नै पढाउने हो । त्यसलाई धेरैभन्दा धेरै व्यवहारिकतामा लैजानु पर्छ ।

पर्यटन विकासको लागि शैक्षिक कार्यक्रमहरु
कतिपय कलेजहरुमा विद्यार्थीहरुको कमजोरी भनेको उनीहरुको प्राक्टिकल कमजोरी हो । विद्यार्थीहरुलाई प्राक्टिकलमा सहभागी गराउनु पर्छ । अहिले नेपाल अधिराज्यभरि करिब सयभन्दा बढी टुरिजमसँग सम्बन्धित कलेजहरु स्थापना भइसकेका छन् । प्राक्टिकल फिल्डमा सबै विद्यार्थीहरुको सहभागिता हुनुपर्छ, यसलाई धेरै भन्दा धेरै प्राक्टिकलमा लानुपर्यो । जसले गर्दा विद्यार्थीहरुले राम्रोसँग सिक्छन् र भविष्यमा नेपालमा आउने टुरिष्टहरुले दक्ष जनशक्तिबाट सेवा पाउँछन् । पर्यटन क्षेत्र हस्पिटालिटी व्यवसाय पनि हो । हामी कुनै न कुनै रुपमा घरमा आएका पाहुनाहरुलाई सत्कार गर्नुपर्ने, आफ्नै घरका मान्यजनहरुलाई पनि सत्कार गर्नुपर्ने संस्कृतिमा हुर्केकाले त झन यो हस्पिटालिटी व्यवसाय भनेको असाध्यै महत्वपूर्ण व्यवसाय हो । त्यसमा पनि जानेर हाइजेनिक मेन्टेन गर्ने गर्यो भने त झनै राम्रो हुन्छ । यसै सिलसिलालाई मध्यनजर गर्दै नाथम यो वर्षदेखि थप १० वटा, पुरानो १२ वटा गरी २२ किसिमको तालिमहरु संचालन गर्ने योजनामा छ । यसमा हाउसमेड तालिम पनि छ । निजामति सेवाका महिला कर्मचारीहरुलाई लक्षित गरेर यो तालिम राखेको हो । उहाँहरुले घर हेर्नुपर्ने, अफिस जानुपर्ने आदिलाई मध्यनजर गर्दै उहाँहरुको थोरै समयमा कसरी व्यवस्थित रुपले काम गर्ने भन्ने हामी सिकाउँछौं, जुन तालिम हामीले यो वर्ष गरायौं । सबै किसिमका नागरिकहरुलाई हामीले तालिम दिने गर्छाैं, पत्रकारहरुलाई पनि तालिममा सहभागी गराउने योजना बनाएका छौं ।

नेपालमा टुरिजम क्षेत्रमा गर्नुपर्ने पहलहरू
टुरिजम व्यवसायको एउटा मूलभूत नारा भनेको आफ्नै लागि असल बन्ने भन्ने हो । यो महामन्त्रलाई नेपालले लागू गर्नुपर्छ । सबै नेपालीले सोचेर आ–आफ्नो क्षेत्रमा लागू गर्ने हो भने नेपालको टुरिजमको भविष्य एकदम उज्ज्वल छ । टुरिजम क्षेत्रको विकासले नै देशले समृद्धिको फड्को मार्न सक्छ । अझै पनि गाउँठाउँमा पर्यटकहरु पुर्याउन सकिएको छैन, त्यसको लागि टुरिजम डेस्टिनेशनको लागि पनि विस्तृतिकरण,
विविधिकरण गर्नुपर्यो, त्यसका साथसाथै नेपाल आएका टुरिष्टले नेपालमै उत्पादन भएका खाना खुवाउने भन्ने सोच नाथमले पनि लिन्छ, अरुले पनि लिनुपर्यो । नेपाल आएको टुरिष्टलाई अमेरिकाबाट खानेकुरा यहाँ ल्याएर खुवाउने होइन । हाम्रो यहाँको खानालाई मोडिफिकेशन गरेर मिठो बनाएर मार्केटमा लाने नाथमले सोच राखेको छ, त्यसैगरी अरु निजि क्षेत्रका संस्थाहरुले पनि यसमा सोच राख्नुभएको छ । उहाँहरुसँग सहकार्य गरेर कसरी नेपाली खानालाई मोडिफिकेशन गर्ने, त्यसलाई मिठो बनाउने, स्वस्थकर बनाउने र टुरिष्टहरुलाई सप्लाई गर्ने भन्ने सोच हामीले गरेका छौं, जसलाई टुरिजम क्षेत्रमा लागेका प्रत्येकले लागू गर्नुपर्छ । युनिक तरिकाको विदेशीलाई मनपर्ने लोकल खाना नेपालमा छ भन्ने सन्देश हामीले दिनुपर्ने हुन्छ । नेपालमा घुम्ने फिर्ने मात्रै होइन कि खाना पनि त्यस्तै किसिमको बनाउनु पर्यो । आन्तरिक टुरिष्टहरु पनि हाइजेनिक खानालाई नै रुचाइएको अवस्था छ । अबका दिनमा हामीले नेपाली खानालाई विकास गर्ने प्रयास पनि गर्छौ । नेपाली खानालाई कसरी विकसित गर्ने भन्ने तिर नाथमले सोच बनाएको छ । जस्तोः सोल्टीलगायतका होटलमा नेपाली खाना भनेपछि दिनसक्ने हैसियत हुनुपर्यो । त्यसैले टुरिजममा एउटा कुराको मात्रै नभएर समग्रको विकास हुनुपर्यो ।

त्यस्तै, एकपटक एयरपोर्टमा ट्याक्सी ड्राइभरले राम्रोसँग पिकअप नगरेका कारणले नेपालमा आएका टुरिष्टहरु अबदेखि नेपालमा नआउने भनेर फर्किए भन्ने खालका कुराहरु सुनियो । तिनलाई पनि हस्पिटालिटी सम्बन्धी तालिम दिनुपर्ने देखिन्छ । एयरपोर्टमा सिधैं टुरिष्टसँग सम्बन्धित ट्याक्सी ड्राइभरहरुलाई तालिम दिने, टुरिष्ट बस ड्राइभरहरुलाई तालिम दिने सोच हामीले राखेका छौं । यसमा खासगरी ट्याक्सी संघलगायतले पनि चासो दिनुपर्छ । विभिन्न संघ संस्थालगायतले अफू दक्ष बन्न वा आफ्नो हितको लागि नाथमसँग सहकार्य गरेर तालिमहरु लिनुपर्छ । अर्कोतिर टुरिजमको विकास गर्ने हो भने सबै मन्त्रालयले सहकार्य गरेर निजि क्षेत्रका संस्थाहरुले पनि सहकार्य गरेर अगाडि बढ्नुको विकल्प छैन् ।

पर्यटकलाइ सुरक्षित वातावरण दिनुपर्छ
सबैतिर आ–आफ्ना विभाग छन् । पछिल्लो चरण पर्यटन मन्त्रालयले केहि विद्यार्थीहरुलाई इन्टर्नसिपको रुपमा एयरपोर्टमा राखेर टुरिष्टलाई सहयोग गर्ने हेल्प डेक्स स्थापना गरेको छ । हाम्रो नाथमबाट पनि विद्यार्थीहरु त्यहाँ गइसकेको अवस्था छ । अहिले भिजिट नेपालको लागि पनि थप विद्यार्थीहरु पठाउने योजना सरकारको छ । त्यसलाई समयमै व्यवस्थित गर्नुपर्यो । पर्यटनसँग सम्बन्धित सबैलाई व्यवस्थित गर्न सम्बन्धित मन्त्रालयले हामीसँग अथवा पर्यटन मन्त्रालयसँग सहकार्य गरेर तालिमलगायतका कार्य गर्नुपर्छ । त्यसो गरेको खण्डमा पर्यटन व्यवसाय प्रभावकारी हुन्छ । एउटा टुरिष्टले नेपालमा भोगेका नराम्रो गतिविधिले गर्दा उ नेपाल फेरि कहिल्यै आउँदैन र अर्कोतिर उसका सर्कलका नेपाल आउन लागेका मान्छेलाई पनि नेपाल खराब देश हो भन्ने सन्देश दिन्छ । त्यसैले यसमा सम्बन्धित मन्त्रालयले पनि सहकार्य गर्नु पर्यो । सेकुरिटीका कुरा गृह मन्त्रालयसँग जोडिएको हुनाले जोसुकै पर्यटकले समयमै सुरक्षा पाउनु पर्यो, त्यसकारण यसलाई सम्बन्धित मन्त्रालयले गल्ती गर्नेलाई कारवाही लगायतका सिस्टम बसाल्नु पर्छ । कतिपयले नजानेर पनि गल्ती गरिरहेका छन्, त्यो गल्ती गर्दाको परिणाम के हुन्छ भन्ने कुरा थाहा हुँदैन । नजान्नेलाई सिकाउनु पर्यो । यि सब सम्बन्धित मन्त्रालयले पर्यटन मन्त्रालयसँग सहकार्य गरिनुपर्छ । एउटा मान्छे जहाँ पनि फिट हुन्छ भन्ने कुरा सही होइन । जसले जुन काम राम्रोसँग गर्न सक्छ, त्यहि कामको जिम्मेवारी त्यसलाई दिनु पर्छ ।

Comment

Related News 

ताजा अपडेट

© 2016-2019 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site by : SobizTrend Technology

%d bloggers like this: