नेपालमा पनि बिल्डिङ काउन्सिल स्थापना हुनु आवश्यक छ : थापा


पाेषण थापा, प्रबन्ध निर्देशक, डिजाइनर्स प्याभिलियन प्रा.लि

१७ बर्ष देखि निरन्तर परामर्शदाता इन्जिनियरको रुपमा काम गर्दै आउनुभएका पोषण थापा हाल सोसाइटी अफ कन्सल्टिङ, आर्किटेक्चरल एण्ड इन्जिनियरिङ फार्म (स्केफ)का कार्यसमिति सदस्य हुनुहुन्छ । सोसाइटी अफ नेप्लिज आर्किटेक्ट्स (सोना)मा पूर्व महासचिवको भूमिका समेत निर्वाह गरिसक्नुभएका थापाले नेपालका थुप्रै महत्वपूर्ण भौतिक संरचनाहरुको डिजाइन तथा निर्माण सम्बन्धी कामहरु गर्नुभएको छ । भद्रकाली स्थित आर्मी हेडक्वाटर, वीर अस्पतालको नयाँ सर्जिकल ब्लक, विभिन्न अञ्चल अस्पताल लगायत जनकपुर क्षेत्र अर्थात धनुषा र महोत्तरीका ८० ओटा गा.वि.स, ४ नगरपालिका र १ उपमहानगरपालिकाको व्यवस्थित डिजाइनिङ (गुरुयोजना) लगायतको काम गर्नुभएका थापाले देशका विभिन्न क्षेत्रमा पूर्वाधार डिजाइन लगायतको क्षेत्रमा महत्वपूर्ण योगदान पुर्याउनुभएको छ ।

विगतमा इन्जिनियरिङ परामर्श क्षेत्रककाे अवस्था 
नेपालमा इन्जिनियरिङ परामर्श सेवा शुरुवात भएको निकै लामो समय भइसकेको छ । यद्यपि केही दशक पहिले सम्म परामर्श सेवा निजी क्षेत्रबाट नभई राज्य पक्षबाटै हुँदै आएको थियो । राज्यले खुला नीति अबलम्बन गरेपश्चात् भने नेपालमा इन्जिनियरिङ परामर्श क्षेत्रमा निजी क्षेत्र समेत संलग्न रहँदै आएको छ । अहिले परामर्श सेवामा निजी क्षेत्रको योगदान निकै महत्वपूर्ण रहँदै आएको छ । हामी यस क्षेत्रमा प्रवेश गर्दा घर निर्माण लगायत कामको लागि परामर्श दिँदा पैसा लिने व्यवस्था थिएन । यद्यपि अहिले भने यो क्षेत्र नेपालमा छोटो अवधिमा नै व्यावसायिक क्षेत्रको रुपमा फड्को मार्न सफल भएको छ ।

नेपालमा आर्किटेक्टः
नेपालमा आर्किटेक्ट विधाको विस्तार भएको धेरै भएको छैन । यसको पहुँच विस्तार भएको करिब १ दशक मात्र भएको छ । यद्यपि अझै पनि अधिकांशलाई इन्जिनियर र आर्किटेक्ट बीचको पृथकता महसुस हुन सकेको छैन । यसकारण आर्किटेक्टलाई समेत सामान्य इन्जिनियरको रुपमा नै हेरिँदै आएको पाउन सकिन्छ ।

मापदण्ड बमोजिमका घरहरुको निर्माण बढ्दो 
नेपालमा इन्जिनियरिङ क्षेत्रमा रहेर काम गर्ने क्रममा विभिन्न किसिमका समस्या समेत आउँदै गरेका छन् । पछिल्लो समय साना घरायसी प्रयोजनका संरचना निर्माण गर्नको निम्ति समेत इन्जिनियरिङ डिजाइन बमोजिम नै भवनहरु निर्माण गर्ने प्रचलन शुरु भएको छ । नेपाल सरकारले समेत अनिवार्य रुपमा इन्जिनियरिङ मापदण्ड बमोजिम नै भवनहरु निर्माण गर्नुपर्ने व्यवस्था गरेको कारण भवन निर्माण कार्यमा गुणस्तरीयता बढेको छ ।

परामर्श क्षेत्रका समस्या 
नेपालमा पछिल्लो समय परामर्श क्षेत्रको दायरा निकै नै विस्तार भएको छ । यद्यपि अहिले पनि यस क्षेत्रमा विभिन्न किसिमका विकृति र विसङ्गति भने कायमै छन् । कुनै कामको जिम्मेवारी लिने क्रममा सम्बन्धित कम्पनीको क्षमता र अनुभवलाई आधार नबनाई सम्बन्धित निकायका उच्च पदस्थ व्यक्तिसँगको पहुँचलाई आधार मानेर सोही बमोजिम कामको जिम्मेवारी सुम्पिने प्रचलन समेत छ ।
अहिले निर्माण कार्यको टेण्डर आह्वान गर्दा गुणस्तरीयता भन्दा पनि न्यूनतम लागतलाई नै मुख्य आधार बनाउँदै आइएको छ । यद्यपि न्यूनतम लागतलाई मात्र आधार मानेर विकास कार्य अघी बढाउँदा गुणस्तरीयता पक्ष भने कमजोर बनेको छ । आगामी दिनमा यस कुरालाई सम्बोधन हुने गरी व्यवस्था गर्नुपर्छ ।

आर्किटेक्ट काउन्सिल आवश्यक छैन, बिल्डिङ काउन्सिल अावश्यक छ 
नेपालमा अहिले अस्तित्वमा रहेको नेपाल इन्जिनियरिङ काउन्सिल लामो समय देखि सक्रिय रहँदै आएको संस्था हो । पछिल्लो समय आर्किटेक्ट क्षेत्रमा काम गर्ने कतिपय व्यक्तिहरुले आर्किटेक्ट काउन्सिल आवश्यक रहेको धारणा राख्दै आएका छन् । कुनै घर निर्माण गर्ने क्रममा शुरुमा त्यसको नक्साङ्कन गर्ने काम आर्किटेक्टको हुने गर्छ । त्यस पश्चात् स्ट्रक्चरल, इलेक्ट्रिकल, सेनिटरी, मेकानिकल, सिभिल लगायतको क्षेत्रमा विशेषज्ञता भएका इन्जिनियरहरुको पनि आफ्नो–आफ्नो महत्वपूर्ण भूमिका हुने गर्छ । यी सबै क्षेत्रका इन्जिनियरहरुको संयुक्त पहलबाट नै एउटा सुव्यवस्थित भवन निर्माण हुने गर्छ ।

भारतमा बिल्डिङ काउन्सिल छ । नेपालमा पनि भवन निर्माणमा काम गर्ने सबै इन्जिनियरहरुलाई समेटेर एउटा काउन्सिल निर्माण गर्ने र त्यसमा भवन क्षेत्रमा काम गर्ने सबै इन्जिनियरहरु समेटिन सक्ने व्यवस्था गर्ने हो भने यसबाट बिल्डिङको क्षेत्रमा काम गर्ने सबैलाई राम्रो तवरले
समेट्न सक्नुको अलावा काममा एकरुपता ल्याउन सकिन्छ । म सोनाको महासचिव रहेकाे समयमा पनि हामीले यस कार्यको लागि विशेष गरेका थियौं । आर्किटेक्टले फर्म दर्ता गरी फर्मको नामबाट काम गर्न पाउने साथै विशेषज्ञले व्यक्तिगत प्यान नम्बर लिएर सोहीबमोजिम सेवा प्रदान गर्न पाउने किसिमको व्यवस्था समेत हाम्रो पहलमा नै भएको हो ।

राज्यले विशेष स्थान दिनुपर्छ 
अहिले नेपालमा प्राविधिक क्षेत्रमा जस–जसले काम गरिरहेका छन्, उनीहरुले आफ्नो लागि मात्र नभएर राज्यको लागि समेत काम गरिरहेका छन् । नेपालमा अहिलेको अवस्थामा हामी प्राविधिकहरुले तयार गरेको खाकाको आधारमा जुन संरचना निर्माण गरिन्छ, त्यो एक व्यक्तिको मात्र नभई राज्य एवं सम्बन्धित क्षेत्रको लागि विशेष पहिचान र गर्वको विषय हुने गर्छ । यसकारण जुनसुकै क्षेत्रमा काम गरिरहेका सक्षम व्यक्तिहरुलाई सहयोग गर्ने किसिमको व्यवस्था हुनु नितान्त जरुरी छ ।

प्रयोगात्मक र प्राविधिक शिक्षामा जोड दिनु आवश्यकः
नेपालमा अहिले पनि यस क्षेत्रमा आवश्यक प्रयाप्त नीतिहरु बन्न सकेका छैनन् । राम्रो र दिगो नीति निर्माण गर्नको लागि शिक्षा क्षेत्रको पनि महत्वपूर्ण भूमिका रहने गर्छ । मैले विभिन्न कलेजहरुमा समय–समयमा गएर विद्यार्थीहरुको क्षमता जाँच गर्ने क्रममा प्राविधिक शिक्षा कार्यक्रममा पनि व्यावहारिक पक्षको अलावा आधुनिक विकसित प्रविधिको उपयोगमा खासै जोड दिन सकेको पाएको छैन । अहिले प्राविधिक शिक्षा प्रदायक कलेजहरुमा जो अध्यापन कार्यमा संलग्न हुँदै आउनुभएको छ, ऊहाँहरुले अहिले पनि केही दशक पहिलेको प्रविधिमा आधारित ज्ञान नै विद्यार्थीहरुलाई प्रदान गर्दै आउनुभएको छ । अहिले प्र्रविधिको तीव्र विकास भइरहेको समयमा हामी हाइटेक प्रविधिमा आधारित रही काम गर्नुपर्छ । यस्ता कुराहरु अहिले अध्ययनरत विद्यार्थीहरुले जान्न पाउनु पर्छ । यसको लागि प्रयोगमा सिधै जोडिनुभएका ख्यातिप्राप्त व्यक्तिहरु समेत सैद्धान्तिक ज्ञान प्रदान गर्ने कार्यमा अघी आउनु जरुरी हुन्छ । जसरी मेडिकल क्षेत्रका भगवान कोइराला, उपेन्द्र देवकोटा लगायतका चर्चित डाक्टरहरुले आफैं विद्यार्थीलाई अध्ययन गराउनुभयो, आर्किटेक्ट र इन्जिनियरिङ क्षेत्रमा पनि यस क्षेत्रका दिग्गज व्यक्तिहरुबाट अध्यापन हुनु निकै आवश्यक छ । जसले गर्दा विद्यार्थीलाई क्षमतावान् बनाउन निकै सहज हुन्छ ।

विद्यार्थीहरुको क्षमता विकास र आगामी बजारलाई ख्याल गर्दै सोहीबमोजिमको शिक्षा प्रदान गर्नु नितान्त जरुरी छ । यसबाट उनीहरुको क्षमता विकासमा निकै महत्वपूर्ण सहयोग पुग्न सक्छ । एकेडेमिक ज्ञानको अलावा व्यावहारिकतामा जोड दिन सकेको खण्डमा मात्र हामीले चाहेबमोजिमको भौतिक विकासमा योगदान दिन सकिन्छ ।

संघीयता पश्चात् विकास कार्य 
अहिले नेपालमा केन्द्रीय सरकार, प्रदेश र स्थानीय तहबाट गरी ३ किसिमले कामहरु भइरहेका छन् । फरक–फरक निकायहरुको नेतृत्वमा काम भइरहेको अहिलेको अवस्थामा कतिपय कामहरु देखावटी जस्तो मात्र पनि भइरहेका छन् । अहिले भवन निर्माण क्षेत्रमा काम गर्न ‘प्रोजेक्ट डेभलपमेन्ट युनियन’ नामक निकाय समेत स्थापना गरिएको छ । यस निकायले कुन–कुन काम गर्ने भन्ने समेत स्पष्ट भइसकेको छैन ।
अहिलेको सन्दर्भमा कुरा गर्ने हो भने एउटै काम अघी बढाउने क्रममा पनि प्रदेश सरकार र संघीय सरकार बीच अधिकार विनियोजन सम्बन्धमा विवाद समेत देखिएको छ । यसलाई समाधान गर्न ३ ओटै तहबीच कार्यक्षेत्र विभाजन सम्बन्धमा स्पष्ट व्यवस्थापन गरी सोहीबमोजिम नीतिगत व्यवस्था गर्ने र आपसी समन्वयन समेत प्रभावकारी हुनु जरुरी छ । सरकारबाट निर्माण गरिने सभाहल, पार्क शहर लगायतको गुरुयोजना निर्माण गर्दा सोही बमोजिम अघी बढ्नु जरुरी छ ।

गुणस्तरीयताको लागि सबै पक्ष जिम्मेवार रहन्छन्ः
नेपालमा अहिले थ्रिसि (क्लाइन्ट, कन्ट्रयाक्टर र कन्सल्ट्यान्ट) गरी ३ पक्षको समन्वयमा निर्माण कार्य हुँदै आएको छ । नेपालमा अहिलेका अधिकांश दिगो महत्वका आयोजना जुन निकायबाट सञ्चालनमा रहेपनि त्यसमा सरकार नै मुख्य क्लाइन्ट रहने गर्छ । यद्यपि अहिले पनि राज्य पक्षका कामहरु समेत अधिकांश कामहरु लो विडिङमा हुने गरेका छन् । यसबाट कामको गुणस्तरीयतामा सुधार हुन नसक्ने कुरालाई ध्यान दिँदै सोही बमोजिम यस समस्याको उपयुक्त समाधान निकाल्नु जरुरी छ ।

Comment

Related News 

ताजा अपडेट

© 2016-2019 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site by : SobizTrend Technology

%d bloggers like this: