राम्रो स्वास्थ्यको लागि शुद्ध पानी आवश्यक


सुवास भण्डारी, अध्यक्ष, नेपाल बोटल वाटर उद्योग संघ

पानीको मुहानबाट प्राप्त हुने पानीमा तुलनात्मक रुपमा बढी खनिज पदार्थहरु उपलब्ध हुुन्छन् । यद्यपि ती खनिज पदार्थहरु सबै मानवीय स्वास्थ्य अनुकुल मात्रै पनि हुँदैनन् । यसकारण कतिपय खनिज पदार्थहरुले मानिसको स्वास्थ्यमा पार्न सक्ने प्रतिकुलताबाट स्वास्थ्यलाई बचाउन पानी शुद्धिकरण गरेर मात्र प्रयोग गर्नु जरुरी रहन्छ ।

नेपालमा अहिले प्रयोग गरिएको आरओ प्रविधिको पानी पिउनको लागि राम्रो छ । नेपालका अधिकांश पानीका स्रोतहरुमा कुनै न कुनै किसिमका दुषित पदार्थहरु मिसिएको पाइन्छ । कुनैमा क्लोरिफर्म, ब्याक्टेरिया, उच्च मात्रामा क्याल्सियम लगायत भएको कारण हामीले यी कुराहरुलाई कसरी न्यूनीकरण गर्ने भन्ने सम्बन्धमा विशेष विचार गर्नुपर्ने हुन्छ ।
नेपालमा अहिले प्रयोगमा आएको आरओ सिष्टम नेपालको लागि आयातित प्रणाली हो । जुन विश्वमा बढी प्रचलनमा रहेको पानी शुद्धिकरण गर्ने राम्रो प्रविधि हो ।

पानी शुद्दिकरणमा घरायसी उपकरण 
नेपालमा अहिले कतिपय कम्पनीहरुले घरायसी प्रयोजनको लागि भन्दै सानो क्षमताका मेसिनहरु समेत बजारमा विक्री गरिरहेका छन् । तर वास्तवमा यसरी विक्री गरिने मेसिनले राम्रो तवरले निरन्तर शुद्ध पानी उपलब्ध गराउन सक्छन् वा सक्दैनन् भन्नेमा भने कसैको पनि ध्यान जान सकेको छैन । खासगरी कम क्षमताका घरायसी प्रयोजनको लागि पानी शुद्धिकरण गर्ने भन्दै बजारमा विक्री भइरहेका यस्ता मेसिनहरुले प्रयाप्त चाप प्रवाह गर्न नसक्ने साथै आवधिक रुपमा यस्ता मेसिनको सरसफाई समेत हुन नसक्ने लगायतका कारण शुद्ध पानी प्रवाह नहुन सक्छ । जसले गर्दा उक्त मेसिनको प्रयोगले निस्केको पानीले प्रतिकुल प्रभाव पनि देखाउन सक्छ ।
उपभोक्ता पनि सचेत बन्नु जरुरी छ 
नेपालमा कतिपय अवस्थामा व्यापारीबाट धाराबाटै आएको पानी भरेर बजारबाट आफैंले जारको बिर्को खरिद गरेर ल्याई बिर्को लगाएर बिक्री गरिने प्रचलन समेत भेटिएको छ । जुन सम्बन्धित व्यापारीको नियतवश निम्तिएको समस्या हो । यसले उपभोक्ताको स्वास्थ्य र उद्योगी दुवैलाई प्रतिकुल असर पर्न जान्छ । यस सम्बन्धमा सचेत बन्दै पानीको गुणस्तरमा कुनै शङ्का लागे तत्कालै सम्बन्धित पानी उद्योग वा बोटल वाटर उद्योग संघ वा जुनसुकै आधिकारिक निकायमा पनि खबर गर्नु जरुरी रहन्छ । बजारलाई व्यवस्थित बनाउन उपभोक्ताको समेत महत्वपूर्ण भूमिका रहने गर्छ ।

Comment

Related News 

ताजा अपडेट

© 2016-2019 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site by : SobizTrend Technology

%d bloggers like this: