पानी उद्योगमा काम गर्न सहज वातावरण बनेको छ


श्री कुमार श्रेष्ठ, प्रबन्ध निर्देशक, एक्वा वर्ल्ड प्रा.लि

पानी उद्योगमा शुरुको अनुभव 
पानी उद्योगमा संलग्न भएपश्चात्का शुरुका दिनमा यस क्षेत्रमा काम गर्न केही गाह्रो भएको श्रेष्ठको अनुभव छ । बजारलाई राम्रो तवरले बुझ्न नसक्दा र सम्बन्धित क्षेत्रका नीतिहरु समेत बुझ्न नसक्दा केही समस्या आउनु स्वभाविक नै मान्नुपर्छ । साथै राज्यबाट तय गरिएका केही अव्यावहारिक नीतिले गर्दा समेत समस्या सृजना भएको थियो । अहिले सम्म आइपुग्दा पानी उद्योगलाई व्यवस्थित गर्ने सम्बन्धमा निकै महत्वपूर्ण पहलहरु भएका छन् ।

पानी उद्योगलाई व्यवस्थित बनाउन पहल

खासगरी राज्य पक्ष र पानी उद्योगीहरुको छाता संगठन नेपाल बोटल वाटर उद्योग संघको अगुवाईमा पानी उद्योगलाई थप व्यवस्थित बनाउँदै नेपाली पानीलाई विश्वव्यापी बनाउनको निम्ति नेपाली उद्योगीहरुलाई सक्षम बनाउने सम्बन्धमा विभिन्न सरोकारवाला निकायहरु बीच निरन्तर छलफल र अन्तरक्रिया तथा प्रशिक्षणमूलक विभिन्न कार्यक्रमहरु आयोजना हुँदै आएका छन् । यसबाट एकातिर यस क्षेत्रका संस्थागत समस्याहरुलाई धेरै हद सम्म कमी गर्न सहज भएको छ भने अर्कोतिर व्यवसायीहरुको क्षमता अभिवृद्धिमा पनि सहयोग पुगेको छ । हाल यस संघको मुख्य नेतृत्व अध्यक्ष तथा जागरुक उद्यमी सुवास भण्डारीले गर्दै आउनुभएको छ । यस संघकै सक्रिय पहलमा नेपालका पानी उद्योगलाई लक्षित गरेर राज्यबाट ल्याइएको जिएमपीका मापदण्डमा केही परिवर्तन गरी नेपालको परिस्थिति र उद्योगीहरुको क्षमताले धान्न सक्ने नीतिगत व्यवस्था गरी कार्यान्वयन समेत भइरहेको छ भने पछिल्लो समय नेपालमा उत्पादित पानीलाई कोरिया निर्यातको लागि समेत विभिन्न प्रयाशहरु भइरहेका छन् । यसबाट अहिले पानी उद्योग क्षेत्रमा काम गर्न वातावरण सहज छ । जसले गर्दा यस क्षेत्रमा काम गर्ने व्यवसायीहरुले अहिले विगत जस्तो असुरक्षित महसुस गर्नुपर्ने अवस्था छैन ।

शुद्ध पानी प्रवाह गर्ने योजनामा छौं व्यवसायीहरु 
नेपालमा प्रशोधित पानी प्रयोग गर्ने प्रचलन बढेसँगै अहिले विगतमा अस्वस्थकर पानीको कारण देखिने झाडापखाला लगायतका विभिन्न समस्याहरु हटेका छन् । साथै उपभोक्ताको आवश्यकता बमोजिम सहज रुपमा सबैको पहुँचमा पुग्न सफल छ । यसो हुनुमा व्यवसायीहरुको निकै महत्वपूर्ण योगदान छ ।

जारकै पानीकाे पहुँच विस्तार
अहिले शहरी क्षेत्रमा पिउने पानीको रुपमा मुख्यतया जारको पानी नै प्रयोग गर्ने प्रचलन छ । यो पानी उद्योगीहरुको पहलकै कारण सर्वव्यापी बन्न सकेको हो । आगामी दिनमा समेत पानी उद्योगको क्षेत्र अझ फराकिलो बन्ने देखिएको छ । आरओ फिल्टरिङ सिष्टमबाट शुद्धिकरण गरी बजारमा उपलब्ध गराइने १ लिटरको बोतल र २० लिटरको जारमा प्याकिङ गर्ने पानीको माग उच्च हुनुमा यसरी शुद्धिकरण गरिएको पानीमा हानिकारक रासायनिक तत्वहरु नष्ट भई पानी स्वस्थकर हुनु नै मुख्य हो ।

 

श्री कुमार श्रेष्ठ वि.सं २०६४ देखि हाल सम्म पानी उद्योग सञ्चालन गर्दै आएका एक युवा उद्यमी हुनुहुन्छ । पछिल्लो समय बजारमा पिउने पानीको माग बढ्दै गइरहेको र व्यापार फस्टाइरहेको परिस्थितिमा पानी उद्योगको सम्भावना राम्रो देखेर आफू यस क्षेत्रमा प्रवेश गरेको श्रेष्ठले बताउनुभयो । विगतमा फर्निचर क्षेत्रमा संंलग्न श्रेष्ठ बजारमा राम्रो प्रतिफल प्राप्त हुने र प्रतिष्ठित व्यवसायको रुपमा रहेको क्षेत्रमा लगानी विस्तार गर्ने क्रममा आफू पानी उद्योग सञ्चालन गर्ने अवस्थामा पुगेको बताउनुभयो । नेपालमा पानीको माग उच्च रुपले बढ्दै जानु र बन्दहड्तालको समेत यस क्षेत्रमा प्रभाव पर्ने अवस्था नरहने लगायतका कारण आफूले यसै क्षेत्रलाई रोजाइमा पारेको श्रेष्ठले बताउनुभयो ।

 

Comment

Related News 

ताजा अपडेट

© 2016-2019 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site by : SobizTrend Technology

%d bloggers like this: