इन्जिनियरिङ क्षेत्रमा गुणस्तरीयताको महत्व


ज्योतिमणि भट्टराई प्रबन्ध निर्देशक स्मार्ट इन्जिनियरिङ एण्ड डिजाइन सोलुसन प्रा.लि

कुनै पनि विकास कार्य अघी बढाउने क्रममा इन्जिनियरको भूमिका निकै महत्वपूर्ण रहन्छ । नेपालमा पनि परामर्शदाता इन्जिनियरहरुको सङ्ख्या अहिले सम्म आइपुग्दा निकै नै बढेको छ । परामर्श क्षेत्रमा काम गर्ने कम्पनीहरु निकै धेरै सङ्ख्यामा खुलिसकेका भएपनि सबै कम्पनीले स्तरीय सेवा दिन सकिरहेका छन्÷छैनन् भन्ने सम्बन्धमा राज्य मातहतका आधिकारिक निकायबाट कुनै पनि किसिमको नियमन भने हुन सकेको छैन । जसले गर्दा केही सीमित कम्पनीहरुले उपलब्ध गराउने सेवालाई छोडेर अधिकांशमा विभिन्न किसिमका समस्याहरु सृजना हुने गरेको पाइन्छ । इन्जिनियरिङ तथा परामर्श क्षेत्रमा संलग्न कम्पनीहरुले कुनै आयोजना अघी बढाउने क्रममा राम्रो तवरले अध्ययन गर्ने हो भने ती आयोजनाहरु सहज तवरले सम्पन्न गर्न सकिने अवस्था रहन्छ ।

इन्जिनियरिङ क्षेत्रका समस्याहरु 
अहिले पनि नेपालमा राज्य पक्षबाट अघी बढाइने आयोजनाहरुमा झण्झटिला र कतिपय अव्यवहारिक नीतिहरु लगायतको कारण कुनै आयोजना अघी बढाउँदा विभिन्न झण्झटहरु व्यहोर्नुपर्ने अवस्था छ । सरकारी प्रोजेक्टहरुमा कामको जिम्मेवारी विडिङमा लिनुपर्छ । यस क्रममा निकै लामो समय लाग्ने गर्छ । साथै झण्झटिला प्रक्रियाहरु पार गर्नुपर्ने र सदावहार रुपमा काम समेत नहुने, सहजै पहुँच विस्तार गर्न नसकिने साथै राज्यका नीतिहरु समेत आपसमा बाझिने किसिमका रहेका र अन्तर निकाय समन्वयनको अभाव लगायतका विभिन्न समस्याहरु कुनै आयोजना अघी बढाउने क्रममा इन्जिनियरहरुले व्यहोर्नुपर्ने अवस्था छ ।
राज्य मातहत अघी बढ्ने अधिकांश विकास कार्य अहिले सम्म आर्थिक बर्षको अन्त्यमा मात्र अघी बढाउने प्रचलन रहेको साथै ती आयोजनाको गुणस्तरीयतामा समेत विचार नगरिने प्रचलन रहेकोमा आगामी दिनमा यस्तो परिपाटी परिवर्तन गर्दै समयमा नै सहज रुपमा विकास कार्यलाई गति दिनु आवश्यक देखिन्छ ।

अध्ययन पश्चात् आयोजना निर्माणको अवस्था 
अहिले सम्म नेपालमा अध्ययन भएका मध्ये धेरैजसो आयोजनाहरु कार्यान्वयनमा जान सकेका छैनन् । यसो हुनुमा विभिन्न पक्षहरु जिम्मेवार छन् । राज्यका नीतिहरु समेत यस कार्यमा बाधक बन्दै आएका पाउन सकिन्छ । अध्ययन भएका आयोजनाहरु सफल नहुनुमा नेपाल सरकारले आयोजनाको अध्ययनको लागि बजेट छुट्याउनु तर ती आयोजना सम्पन्न गर्नको लागि बजेट विनियोजन गर्ने व्यवस्था नहुनु पनि एक पक्षको रुपमा रहेको छ । पछिल्लो समय स्थानीय तह मातहत अधिकांश साना आयोजनाहरु अघी बढिरहेको अवस्थामा भने अध्ययन भएका आयोजनाहरु तुलनात्मक रुपमा छिटो कार्यान्वयनमा गइरहेको अवस्था छ ।

स्थानीय निकायमा इन्जिनियरको आवश्यकता

नेपालका स्थानीय निकायहरु भर्खर मात्रै स्थापना गरिएका हुन् । साथै ती निकायहरु अझै पनि सिष्टमेटिक समेत बनिनसकेका छैनन् । साथै ती निकायका उच्च पदस्थ अधिकृतहरुलाई समेत यसको आवश्यकता महसुस हुन सकेको छैन । दिगो र गुणस्तरीय विकासको लागि इन्जिनियर सँगको परामर्शमा अघी बढाएका आयोजना कसरी दिगो महत्वका हुन सक्छन् भन्ने सम्बन्धमा स्थानीय निकायका जनप्रतिनिधिहरुलाई समेत छलफल, अन्तरक्रिया, वर्कशप एवं कार्यपत्र लगायतबाट जागरुक बनाउनुपर्ने आवश्यकता छ ।

अबको आवश्यकता 
अबको विकास जनताको चाहना र आवश्यकतालाई विचार गरी दिगो विकास अवधारणा बमोजिम हुनु जरुरी छ । अहिलेको समय टेक्नोलोजीको समय भएको र आधुनिक स्मार्ट टेक्नोलोजीको विकास तीव्र रुपमा भइरहेको अवस्थामा उपयुक्त प्रविधिको अबलम्बन गरेमा कम लागत र छोटो अवधिमा नै आकर्षित र गुणस्तरीय तवरले इन्जिनियरिङ सम्बन्धी काम सम्पन्न गर्न सकिने अवस्था रहन्छ ।
अबको विकास स्मार्ट तवरले हुनुपर्छ । परम्परागत तवरले मात्र विकास कार्य अघी बढाउँदा विकास कार्यले राम्रो गति लिन नसक्ने र त्यसबाट प्राप्त हुने प्रतिफल समेत आकांङ्क्षा बमोजिम हुन नसक्ने कुरालाई विचार गर्दै छोटो समयमा बढी लाभ प्राप्त गर्न सकिने किसिमले विकास कार्यहरुमा जोड दिनु आवश्यक छ । पछिल्लो समय सूचना प्रविधि समेत हरेक कार्यको निम्ति अभिन्न मित्र बनिसकेको छ । सबैजसो कामहरु प्रविधिमा आधारित भई अघी बढेको अवस्थामा इन्जिनियरिङ क्षेत्रको प्रत्यक्ष सम्बन्ध सूचना प्रविधिमा पर्दै आ्एको छ ।

प्रशासनिक जनशक्ति र प्राविधिक जनशक्ति बीच तालमेल कायम गर्दै विकास कार्यलाई अघी बढाउनुपर्ने आवश्यकता अहिले छ । नेपालका प्रशासनिक निकायहरुमा अहिले सम्म प्राविधिक जनशक्तिलाई राम्रो तवरले सम्बोधन हुन सकेको छैन । सरकारी कार्यालयहरुमा प्राविधिक जनशक्ति र प्रशासनिक जनशक्ति बीच स्पष्ट तवरले कार्य विभाजन गरी सोही बमोजिम प्राविधिक तथा इन्जिनियरले निश्चित भूमिकामा पूर्ण अधिकार सहित काम गर्नुपर्ने आवश्यकता छ । साथै पछिका समस्याहरुलाई पहिले नै पहिचान गरी समाधान गर्न सकिने अवस्था रहन्छ ।
जुनसुकै निकायले पनि दिगो विकास योजना बमोजिम कामहरु अघी बढाउने कार्यमा प्राविधिक जनशक्तिको नै महत्वपूर्ण भूमिका रहने गर्छ । कुनै योजना अघी बढाउने क्रममा त्यसलाई राम्रो तवरले सम्पन्न गर्न राम्र्रो इन्जिनियरिङ आवश्यक रहने कुरालाई विचार गर्दै सोही बमोजिम जनशक्ति परिचालन गर्नु निकै नै महत्वपूर्ण हुन्छ ।

विकास कार्यमा आर्थिक पारदर्शिता 
नेपालमा कुनै आयोजना अघी बढाउँदा त्यसमा पूर्ण पारदर्शितामा अहिले अघी बढेका आयोजनाहरुका प्रगति विवरण अझै पनि पूर्ण रुपमा पारदर्शि बनिसकेका छैनन् । आगामी दिनमा पारदर्शिता र उपलब्धिलाई नै आधार मान्दै नयाँ विकास आयोजनाहरु अघी बढाउनुपर्छ । यसको साथै विकासको लागि कसरी अघी बढ्ने, कुन क्षेत्रलाई बढी प्राथमिकताको साथ अघी बढाउने, यसको लागि कस्ता कार्यक्रमहरु सञ्चालन गर्ने लगायतमा विशेष योजनाको साथ अघी बढ्नु जरुरी छ । सबै पक्ष इमान्दार र जिम्मेवार बन्न सकेको खण्डमा मात्र हामीले चाहे बमोजिमको विकास कार्य सफल हुन सक्छ । यसको लागि राज्यले समेत इन्जिनियरिङ क्षेत्रमा काम गर्ने व्यक्तिलाई प्रोत्साहनमूलक कार्यक्रम सञ्चालन गर्नुपर्ने जरुरी छ भने विज्ञताको पहिचान गरी सोही बमोजिम क्षमतावान् व्यक्तिले नै जिम्मेवारीहरु प्राप्त गर्ने सहज वातावरण सृजना हुनुपर्छ ।

 

अबको विकास जनताको चाहना र आवश्यकतालाई विचार गरी दिगो विकास अवधारणा बमोजिम हुनु जरुरी छ । अहिलेको समय टेक्नोलोजीको समय भएको र आधुनिक स्मार्ट टेक्नोलोजीको विकास तीव्र रुपमा भइरहेको अवस्थामा उपयुक्त प्रविधिको अबलम्बन गरेमा कम लागत र छोटो अवधिमा नै आकर्षित र गुणस्तरीय तवरले इन्जिनियरिङ सम्बन्धी काम सम्पन्न गर्न सकिने अवस्था रहन्छ ।

अन्त्यमा
विगत २-४ बर्ष पहिले सम्म कुल जिडिपीमा सरकारी क्षेत्रको योगदान बढी रहेकोमा छोटो अवधिमा नै गुणात्मक फड्को मार्दै अहिले जिडिपीमा निजी क्षेत्रको योगदान र सरकारी योगदान लगभग बढाढर छ । यसलाई हेर्दा समेत नेपालमा राम्रो तवरले निजी क्षेत्रबाट कामहरु अघी बढेका छन् । साथै इन्जिनियरिङ नै मुलुकको विकासको संवाहक भएको कुरालाई विचार गर्दै सोही बमोजि सबै पक्षसँगको सहकार्यमा अबका विकास, निर्माण एवं पूर्वाधार विस्तारका कामहरु अघी बढाउनु जरुरी छ । नेपालमा इन्जिनियरहरुले राम्रो सेवा दिन सकेको खण्डमा मात्र विकास कार्यले राम्रो गति लिन सक्ने अवस्था रहन्छ ।

(भट्टराइ नेपाल इन्जिनियर्स एसोसिएसनका कार्यसमिति सदस्य पनि हुन्)

Comment

Related News 

© 2016-2019 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site by : SobizTrend Technology

%d bloggers like this: