नेपालमा जलविद्युत उत्पादन र यसकाे सम्भावना


गणेश कार्की कार्यकारी निर्देशक सिंगटी हाइड्रो इनर्जी प्रा.लि. सिंगटीखोला हाइड्रोपावरप्रोजेक्ट (२५ मे.वा)

विगत १५ बर्ष देखि हाइड्रोपावर क्षेत्रमा संलग्न रहँदै आउनुभएका र हाल २५ मेगावाट क्षमताको सिंगटीखोला हाइड्रोपावर प्रोजेक्टमा कार्यकारी निर्देशकको भूमिका निर्वाह गर्दै आउनुभएका गणेश कार्की हाल मिदिम खोला, सिंगटी, खानिखोला, सिन्धुपाल्चोकको अपर चाकु लगायतमा समेत नेतृत्वदायी भूमिकामा रही जलविद्युत उत्पादन कार्यमा सक्रिय रहँदै आउनुभएको छ । थुप्रै आयोजनाहरुको निर्माण कार्य सम्पन्न गरिसक्नुभएका कार्कीले हालै सोलुखुम्बुमा निर्माण गर्न लागिएको अपर सोलु जलविद्युत आयोजनामा प्रबन्ध निर्देशकको जिम्मेवारी सम्हाल्नुभएको छ ।आफू मातहत यस बर्ष ३ ओटा  प्राेजेक्टहरु सम्पन्न गरी बत्ति बाल्ने र आगामी बर्ष अन्य ४-५ ओटा प्रोजेक्टहरु सम्पन्न गर्ने योजना बमोजिम विभिन्न प्रोजेक्टहरुलाई तीव्रताको साथ अघी बढाइरहेको गणेश कार्की बताउनुहुन्छ।

नेपालमा जलविद्युतकाे अवस्था ः

ट्रान्समिसन लाइनको समस्या ः
नेपालमा अहिले सम्म ट्रान्समिसन लाइन उत्पादित जलविद्युत वितरणको लागि ठूलो समस्या बनेको छ । जलविद्युत आयोजना निर्माण भइसके पछि यसको वितरण अहिले ठूलो समस्या बनेको छ । नेपालमा जलविद्युत उत्पादन कार्य आफैंमा चुनौतीपूर्ण समेत छ । सरकार मातहतका निकायहरुले नेपालमा जलविद्युत उत्पादन कार्य मुलुकको विकासको निम्ति महत्वपूर्ण रहन्छ भन्ने सम्बन्धमा विभिन्न चर्चा एवं छलफल चलाउँदै आएको आएपनि जलविद्युत उत्पादनको निम्ति आवश्यक नीतिगत व्यवस्थाको अलावा राज्यले निर्वाह गर्नुपर्ने भूमिका भने पूरा हुन सकेको छैन । यसको प्रत्यक्ष मारमा नेपालका जलविद्युत प्रवद्र्धकहरु समेत पर्दै आएका छन् ।
स्वदेशी उत्पादकलाई प्रोत्साहन आवश्यक छ ः
नेपालमा अहिलेको अवस्थामा यस क्षेत्रमा काम गर्न चाहने उद्यमीहरुलाई प्रोत्साहन मिल्ने किसिमले विशेष हौसलामूलक गतिविधिहरु सञ्चालन गर्नु जरुरी देखिएको छ । नेपालमा कुनै आयोजना बन्ने क्रममा विदेशी कम्पनी आएर काम गर्न चासो राखेको खण्डमा नेपाल सरकारले ती कम्पनीहरुलाई जुन सुविधा उपलब्ध गराउँदै आएको छ, नेपाली कम्पनीहरुलाई भने त्यस्ता सुविधाहरु उपलब्ध गराएको अवस्था छैन । अघिल्लो महिना मात्रै लगानी सम्मेलन आयोजना गरेको सरकारले नेपालमा रहेर काम गरिरहेका कम्पनीहरुलाई सहयोग पुग्ने किसिमका नीतिगत पहल गर्न सकेको छैन । स्वदेशमा नै आयोजना सञ्चालन गर्न चाहने कम्पनीहरुलाई सहयोग पुग्ने किसिमका नीतिगत व्यवस्था गर्न सकेको खण्डमा मात्र नेपाली जलविद्युत आयोजनाहरु राम्रो तवरले अघी बढ्न सक्छन् ।

राज्य पक्षले सोच्नु जरुरी छ ः
नेपालीहरुले स्वदेशी पुँजीबाट निर्माण हुने आयोजनालाई सहयोग पूग्ने किसिमका नीतिगत व्यवस्था गर्न सकेमात्र मुलुकको आर्थिक समृद्धिमा जलविद्युत क्षेत्रले महत्वपूर्ण योगदान दिन सक्छ ।

जलविद्युत उत्पादनका समस्याहरु ः
जलविद्युत उत्पादन कार्यमा स्थानीय जनताको अवरोध, जग्गा प्राप्तिमा असहजता, लगानी व्यवस्थापनको कठिनाई, प्राकृतिक जोखिमता, नीतिगत कठिनाई, राज्य मातहतका अन्तर निकाय समन्वयनको अभाव लगायतका विभिन्न पक्षहरुबाट अवरोध सृजना हुने अवस्था रहेको कारण हामीले निकै जोखिमताको साथ यस क्षेत्रमा रहेर काम गरिरहेका छौं । यस्तो अवस्थामा हामी स्वदेशी जलविद्युत प्रवद्र्धकहरु आगामी दिनमा नेपालमा जलविद्युत क्षेत्रलाई राज्यले कसरी व्यवस्थित गर्छ भन्ने सम्बन्धमा पर्ख र हेरको अवस्थामा छौं ।

जलविद्युतको बजार ः
नेपालमा उत्पादन भएको जलविद्युतको आगामी बजार नेपालमा मात्र नभएर छिमेकी मुलुकहरु भारत र चीन लगायतका देशहरुमा समेत निकै राम्रो देखिएको छ । नेपालमा उत्पादन भएको जलविद्युत किन्नको लागि भारत, चीन, बङ्गलादेश लगायतका देशहरुले समेत चासो देखाइरहेको अहिलेको अवस्थामा हामीले ती देशहरुमा यहाँ उत्पादन भएको जलविद्युत विक्री गर्नको निमित्त सोही बमोजिम नीतिगत व्यवस्था सहित अघी बढ्नु जरुरी रहन्छ ।

छिमेकी मुलुकहरुले समेत नेपालमा उत्पादित जलविद्युत किन्न तयार भएको अवस्थालाई हेर्दा नेपालमा उत्पादित विद्युतको बजार राम्रो रहेको बुझ्न सकिन्छ । यद्यपि उत्पादित विद्युतलाई कहाँ र कसरी बजारीकरण गर्ने भन्ने सम्बन्धमा नेपाल सरकारले नै सोही बमोजिम व्यवस्थापन गर्नु जरुरी छ । यसो भएको खण्डमा मात्र निजी व्यवसायीहरु सहज रुपमा बिना हिच्किचावट लगानी विस्तारको निम्ति तयार हुने अवस्था रहन्छ ।

लगानी गर्न नेपाली नै सक्षम छन् ः
नेपाल सरकारले निजी क्षेत्रलाई जलविद्युत उत्पादन कार्यको निम्ति उपयुक्त वातावरण बनाइदिने र बजार खोजिदिने काम गर्नुुपर्छ । यसो भएको खण्डमा लगानी विस्तार गर्न त नेपालीहरु नै सक्षम र जागरुक छन् । विगतमा २–४ मेगावाटका जलविद्युत आयोजना समेत नेपाली कम्पनीहरुले निर्माण गर्न सक्ने अवस्था नरहेपनि अहिले भने स्वदेशी जलविद्युत प्रवद्र्धकहरु नै १ सय मेगावाट सम्मका आयोजना निर्माण गर्न सक्षम भइरहेका छन् । यो आफैंमा खुसीको कुरा हो । साथै कुनै आयोजना निर्माणको क्रममा विगतको भन्दा अहिले नेपालका बैंकहरुको समेत कर्जा उपलब्ध गराउन सहज तयार भइरहेका छन् । अहिले नेपाली बैंकहरुको क्षमता समेत निकै नै वृद्धि भएको छ । यदि सरकार नेपालमा प्रयाप्त जलविद्युत उत्पादनको आवश्यकता महहुस गर्दै अघी बढ्ने हो भने नेपालीहरु यस्ता आयोजनाहरु निर्माण गर्ने कार्यमा सहजै अघी बढ्न तयार छन् ।

अबको सम्भावना ः
नेपालमाअहिले ठूला जलविद्युत आयोजनाहरुधमाधम निर्माण भइरहेका छन् । साथै नेपालीहरुको उत्पादन क्षमता समेत बढ्दै गइरहेको छ । अहिले नेपालमा उत्पादित जलविद्युत आयोजनाको क्षमता करिब १ हजार मेगावाट रहेकोमा आगामी २ बर्षमा नै नेपालमा निर्माण भइरहेका जलविद्युत आयोजनाहरुबाट उत्पादित जलविद्युतको क्षमता बढेर ३ हजारको हाराहारीमा पुग्ने अवस्था देखिएको छ । अहिलेको अवस्थामा नेपाल सरकारले अहिले ५ हजार मेगावाटको लागि पिपिए गरेको छ । अबका दिनमा यस सीमालाई पुनर्विचार गर्दै नेपाल सरकारले निजी क्षेत्रलाई प्रयाप्त जलविद्युत उत्पादनको निम्ति बजार खुला गरिदिनुपर्छ । साथै नेपालमा भएको जलविद्युत क्षमतालाई पहिचान गरी त्यसलाई अन्तर्राष्ट्रिय बजारमा विक्री गर्नको निम्ति मुख्य भूमिका नेपाल सरकारको नै रहने भएको कारण नेपालमा सोही बमोजिमको व्यवस्था राज्य पक्षबाट हुनु जरुरी छ ।

सरकारले बजारको व्यवस्था गरेको खण्डमा नेपालमाजलविद्युत क्षेत्रको सम्भावना समेत निकै नै राम्रो छ । पछिल्लो समय नेपालीहरुले समेत आफ्ना दैनिक कार्यहरु अधिकांश जलविद्युतको प्रयोगबाट नै गर्न लागेका छन् । खाना पकाउने, लुगा धुने, फ्रिज चलाउने, सरसफाई, मोबाइल, कम्प्युटर लगायत थुप्रै काममा साधारण मानिसहरुले समेत विद्युतको उपयोग बढाउँदै गएको अवस्थामा नेपालमा भएको प्रयाप्त विद्युत उत्पादन क्षमतालाई बढाउँदै सोही बमोजिमको व्यवस्था नेपाल सरकारबाट हुनु जरुरी छ । 

अबका चुनौती ः
नेपालमा जलविद्युत क्षेत्रम काम गर्ने क्रममा निरन्तर रुपमा चुनौतीहरु सामना गर्दै आउनुपरेको छ । नेपालमा अहिले सम्म जलविद्युत आयोजना निर्माण भएपश्चात् त्यसको वितरणको निम्ति ट्रान्समिसन लाइन निर्माण नहुनु, सरकारी व्यवस्था अनुसार ७५ रोपनी भन्दा बढी जग्गा किन्ने सहज व्यवस्था नहुनु (जबकि एउटा हाइड्रो प्रोजेक्ट निर्माण गर्न करिब ३ सय रोपनी जग्गा आवश्यक पर्छ), सरकारी निकायबाट कुनै सिफारिस ल्याउन झण्झट व्यहोर्नुपर्ने अवस्था, अन्तरनिकाय समन्वयनको अभाव लगायतका थुप्रै चुनौतीहरु हामीले सामना गर्नुपरेको छ । नेपालमा अहिले राज्य मातहतका निकायहरुका आफ्ना–आफ्ना अलग–अलग नीतिहरु छन् । यसले पनि निजी जलविद्युत प्रवद्र्धकहरुलाई निकै ठूलो समस्या सृजना भएको छ ।

जलविद्युत क्षेत्रमा रहेको सम्भावना ः
अहिले नेपाल सरकारले जलविद्युत क्षेत्रको विकास नभई देश अघी बढ्न सक्दैन भन्ने कुरा बुझेको छ । जनताले पनि बुझेका छन् । कुनै पनि उद्योग स्थापना गर्नको लागि समेत जलविद्युत अनिवार्य पूर्वाधार हो । बैंकहरु समेत जलविद्युत क्षेत्रमा लगानी गर्न निकै सुरक्षित महसुस गरेका छन् । यसो हुनुमा जलविद्युत उत्पादन पश्चात् नेपाल विद्युत प्राधिकरण मार्फत बैंकले सहजै आफ्नो कर्जा असुल गर्न सक्ने अवस्था कायम रहनु पनि हो । बजार पूर्ण सुरक्षित समेत रहेको कारण बैंकहरुले यस क्षेत्रलाई रोजाइमा पारेका छन् । कुनै कारणले प्रोजेक्टको लागत बढेपनि अहिले सम्म कुनै पनि बैंकको रकम फसेको छैन । साथै जनता समेत जलविद्युत क्षेत्रमा लगानी गर्ने बारे सचेत बनिसकेका छन् ।

सिंगटी जलविद्युत आयोजनाको समस्या ः
सिंगटी हाइड्रोपावर सरकारसँग लिएको प्रोजेक्ट हो । शुरुमा सरकारले ३ महिनामा नै पिपिए गर्ने सहमति गरेपनि यसको पिपिए गर्न नै करिब ३ बर्ष लाग्यो । सरकारले आफ्ना सर्त अनुसार काम गर्न नसक्दा समेत समस्या सृजना भएको छ । साथै अहिले यस क्षेत्रमा निकै धेरै समस्याहरु छन् ।सरकारबाट करारमा लिएको प्रोजेक्टमा समेत वातावरण मन्त्रालयबाट समेत अवरोध रहनु लगायतका थुप्रै समस्याहरु यस आयोजनाले सामना गर्नुप¥यो ।

सफलताको आधार ः
आयोजनाका प्र्रमुख गणेश कार्की भन्नुहुन्छ, ‘हामीले काम गर्न सक्छौं भन्ने विश्वास जितेर पूर्ण सफलताको साथ काम गरिरहेका छौं । हामीले अघी बढाएका हरेक प्रोजेक्ट सफलताको साथ सम्पन्न भएका छन् । हामीले हरेक क्षेत्रको अनुभव समेटेका छौं । हामीले अहिले सम्म आइपुग्दा थुप्रै समस्या सामना गरेर कसरी ती समस्या समाधान गर्न सकिँदोरहेछ भन्ने सम्बन्धमा पनि राम्रो अनुभव समेटेका छौं ।’
यो कम्पनी आयोजनाको आइपिओ श्रावण÷भदौमा जारी गर्ने प्रक्रियामा अघी बढेको छ । १० प्रतिशत स्थानीय र २० प्रतिशत अन्य मानिसहरुलाई शेयर उपलब्ध गराउने योजना बमोजिम काम अघी बढ्नेछ ।

अन्त्यमा ः
स्थानीयलाई पनि कुनै आयोजना अघी बढाउँदा यिनीहरु हाम्रो विकासको लागि आएका हुन् भन्ने बुझ्न सक्नुपर्छ । सरकार पनि तपाईंहरुले आफ्नो क्षमता अनुसार जलविद्युत उत्पादन गर्नुस्, तपाईंहरुको पछाडि हामी छौं भन्ने किसिमले सहयोग गर्न तयार हुनुपर्छ ।

कस्तो आयोजना हो सिंगटी हाइड्रोपावर ?

सिंगटी हाइड्रोपावर २५ मेगावाटको जलविद्युत आयोजना हो । यस प्रोजेक्टमा साढे ४ अर्ब रकम लगानी भएको छ । यो आयोजना आगामी करिब ३ महिनामा नै सम्पन्न हुँदैछं । यस कम्पनीमा हाल करिब ३ सय लगानीकर्ताहरु संंलग्न छन् । यसको लागि आवश्यक लगानीसङ्कलनको नेतृत्व सिभिल बैंकले लिएको छ । यो आयोजना समयमा नै सक्नको लागि विशेष दबाबपूर्ण वातावरण बीच काम गर्नुपर्ने अवस्था छ । यद्यपि आयोजना सम्पन्न हुने समयमा नै ट्रान्समिसन लाइन निर्माण गरी सहज तवरले विद्युत वितरण गर्ने सम्बन्धमा नेपाल सरकारलाई पनि विशेष दबाब बीच काम गर्नुपर्ने आवश्यकता छ । 

Comment

Related News 

ताजा अपडेट

© 2016-2019 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site by : SobizTrend Technology

%d bloggers like this: