मनोरोग : यसको अवस्था र उपचारका विधिहरु


आदर्श प्रधान, मनोविद

पछिल्ला बर्षहरुमा मानसिक समस्या विश्वभर नै एक गम्भीर समस्याको रुपमा विकास हुँदै गएको छ । विज्ञान र प्रविधिको विकासले थुप्रै आधुनिक भौतिक प्राप्ति हासिल गरिएपनि मानिसहरुमा मानसिक पीडा भने निकै बढ्दो छ । बदलिँदो परिवेश र जीवनशैली सँगै अहिले मानिसहरुको दिनचर्या बदलिएको छ । मानिसहरु सुविधाभोगी बन्दै त गएका छन् । तैपनि व्यस्तता अत्याधिक बढेको छ । बाह्य काममा मानिसहरु निरन्तर व्यस्त भइरहँदा आफ्नै बारेमा सोच्न भने बेफुर्सदी छन् । जसले गर्दा परिवारमा झै–झगडा, कलह, मानसिक चिन्ता, डर लगायतका समस्या देखिन थालेका छन् भने विभिन्न कारणहरुले मानिसहरु डिप्रेसनमा पुग्ने अवस्था समेत छ । विश्व स्वास्थ्य संगठनले गरेको अध्ययनमा समेत पछिल्ला बर्षहरुमा डाइबिटिज, मुटुरोग लगायतका घातक मानिएका रोगहरुको तुलनामा मानसिक समस्या निकै नै डरलाग्दो रुपमा बढिरहेको देखिएको छ । यसलाई समयमा नै नियन्त्रण गर्नको लागि पहल गर्न नसके अबका केही दशकमा मानिसको सबैभन्दा ठूलो समस्या नै मानसिक समस्या बन्ने अवस्था सृजना हुँदैछ ।

के हो मानसिक समस्या ?
मानसिक समस्या आफैंमा रोग होइन । मनमा उत्पन्न हुने सोच, विचार व्यवस्थित र नियन्त्रित हुन नसक्दा मनमा सृजना हुने भावबाट नै मानसिक समस्या सृजना हुने गर्छ । मानसिक पीडा हरेक व्यक्तिमा विकास हुने गर्छ । यद्यपि यसको मात्रा भने व्यक्ति अनुसार फरक हुन सक्छ ।

जरुरी छ दृष्टिकोणमा परिवर्तन 
मानसिक असन्तुलनमा रहेका व्यक्तिलाई समाजले हेर्ने दृष्टिकोण अझै पनि सकारात्मक बनिसकेको छैन । यद्यपि दृष्टिकोण बदल्न सकेको खण्डमा मानसिक समस्यालाई तुलनात्मक रुपमा कम गर्न सकिन्छ । परिवार र आफन्त एवं छिमेकीहरुबाट मानसिक समस्यामा रहेका व्यक्तिहरुलाई माया, प्रेम, आदर र सम्मान एवं राम्रो हेरचाह हुने हो भने यस्तो समस्यामा रहेका व्यक्तिहरु पनि छिटै सामान्य अवस्थामा आउन सक्छन् । मानसिक समस्या हुने व्यक्तिहरुको निम्ति औषधी भन्दा परामर्श निकै नै प्रभावकारी मानिन्छ । राम्रो मनोचिकित्सकले मानसिक समस्यामा औषधी सेवनमा नभई बानीव्यवहार, सोचविचार र खानपिन लगायतमा परिवर्तन ल्याउन परामर्श दिने गर्छन् ।

यसकारण महत्वपूर्ण रहन्छ मानसिक स्वास्थ्य 
शारीरिक र मानसिक रुपमा स्वस्थ हुनसके मात्र मानिसले चाहे बमोजिमको प्रगति हासिल गर्न सक्छ । मानसिक रुपमा कुनै समस्या आए त्यसले प्रत्यक्ष रुपमा शारीरिक समस्या समेत निम्त्याउन सक्छ । अर्थात समस्या बढ्दै जाँदा त्यसबाट उब्जिएका समस्याहरु शारीरिक समस्याको रुपमा समेत देखिन सक्छन् । यद्यपि अहिले सम्मका अधिकांश रोग वा समस्यामा शारीरिक समस्याको मात्र उपचार हुँदै आएको छ । कतिपय शारीरिक समस्या मानसिक कारणबाट उत्पन्न भएपनि समाधान शारीरिक रुपमा नै खोजिने र समस्याको खास कारण नै पत्ता नलगाइ केवल लक्षणको आधारमा मात्र उपचार गरिने प्रचलनले रोग अल्पकालको लागि ठीक भएजस्तो देखिएपनि सम्बन्धित समस्याका झन् बल्झिने र अझ गम्भीर समस्या समेत देखिने अवस्था समेत छ । यसलाई विचार गर्दै उपचारको क्रममा मानसिक पक्षलाई समेत विशेष प्राथमिकता दिनु जरुरी देखिन्छ ।

मानसिक समस्या न्यूनीकरणका विधिहरु 
पछिल्लो समय विश्वभर मानसिक समस्याहरुको अध्ययन एवं अनुसन्धानको क्षेत्रमा क्रियाशिल संस्था अमेरिकन साइकोलोजिकल एसोसिएसन (एपिए)को अध्ययनलाई विशेष प्रभावकारी मानिँदै आइएको छ । मष्तिष्क (माइन्ड), शरीर (वोडी) र आत्मा (सोल)को सन्तुलन हुनुपर्ने कुरामा पछिल्लो समय पश्चिमी मुलुकहरु पनि सक्रिय बन्दै गएका छन् । मनोविज्ञानमा आधारित रही उपचार गर्ने अन्य विषयवस्तुहरु पनि विकास भएका छन् । मानसिक विकृतिको कारण उत्पन्न भएका समस्याको गहिराईमा पुगेर कारण पत्ता लगाई उपचार गर्ने परामर्शजन्य ज्ञानमा आधारित एनएलपि लगायतका प्रविधिहरु पनि विकास भएका छन् । खासगरी लागु पदार्थको सेवन तथा खराब बानीको परिवर्तन लगायतको अलावा लक्ष्य निर्धारण गरी ठूलो उपलब्धि हासिल गर्नका लागि पनि यस्ता प्रविधिहरु प्रभावकारी मानिन्छन् ।

 कतिपय शारीरिक समस्या मानसिक कारणबाट उत्पन्न भएपनि समाधान शारीरिक रुपमा नै खोजिने र समस्याको खास कारण नै पत्ता नलगाइ केवल लक्षणको आधारमा मात्र उपचार गरिने प्रचलनले रोग अल्पकालको लागि ठीक भएजस्तो देखिएपनि सम्बन्धित समस्याका झन् बल्झिने र अझ गम्भीर समस्या समेत देखिने अवस्था समेत छ ।

पूर्वीय दर्शनमा मानसिक स्थिति 
पूर्वीय दर्शनले समेत मानसिक समस्यालाई विशेष स्थान दिएको छ । यसका लागि विभिन्न विधिहरु प्राचीन काल देखि नै विकास तथा प्रयोग हुँदै आएका छन् । योग, ध्यान, प्रणायाम, रेकी, ज्योतिषीय एवं वास्तु परामर्श, आयुर्वेद, सम्मोहन, पुजाआजा, तन्त्र विद्या लगायतका विधाहरुले समेत विभिन्न तवरले अदृष्य रुपमा मनोवैज्ञानिक समस्या निराकरणको निम्ति काम गर्दै आएका छन् । यद्यपि यी विधिहरु एकातिर सर्वव्यापक बन्न सकेका छैनन् भने अर्कोतिर सही प्रयोग समेत हुन सकेको पाईंदैन । जसले हाम्रो मौलिक पहिचान बोकेका यी रहस्यमूलक विषयवस्तुहरुको बारेमा भने अहिले अधिकांश अनविज्ञ छौं । पूर्वीय दर्शनको वैज्ञानिक प्रयोग र अनुसन्धान हुन नसक्दा हाम्रा महत्वपूर्ण ज्ञानबाट समेत हामी टाढिन पुगेका छौं । यस्ता विभिन्न पद्धतिहरुलाई प्रवद्र्धन गर्ने कार्यमा राज्य पक्ष समेत सक्रिय बन्न सकेको छैन । जसले गर्दा हाम्रा महत्वपूर्ण जीवनोपयोगी र व्यावहारिक ज्ञान अहिले पूर्वीय समाजकै लागि अन्धविश्वास र कुरीतिको रुपमा परिचित हुन पुगेका छन् ।

 

योग, ध्यान, प्रणायाम, रेकी, ज्योतिषीय एवं वास्तु परामर्श, आयुर्वेद, सम्मोहन, पुजाआजा, तन्त्र विद्या लगायतका विधाहरुले समेत विभिन्न तवरले अदृष्य रुपमा मनोवैज्ञानिक समस्या निराकरणको निम्ति काम गर्दै आएका छन् ।

बालबालिकामा आधुनिक प्रविधिको प्रयोग र प्रभाव 
पछिल्लो समय प्रविधिको अत्यधिक प्रयोगले बालबालिकाहरुमा पनि विभिन्न मानसिक समस्याहरु सृजना भइरहेका छन् । आधुनिक प्रविधिको रुपमा विकास भएका मोबाइल, इन्टरनेट, अनलाइन गेम, टेलिभिजन लगायतका साधनहरुको प्रयोगमा सानो उमेरका बालबालिकाहरुले समेत अधिक समय बिताउने परिस्थिति सृजना हुँदा उनीहरुको जीवनशैली नै यस्तै साधनहरु प्रति आकर्षित बन्दै गएको छ । जसले गर्दा यस्ता आधुनिक प्रविधिहरु मानसिक समस्याका कारण र मन्द विषको रुपमा विकास हुँदैछन् । यसबाट पर्न सक्ने मानसिक स्वास्थ्यको परिणाम निकै नै घातक हुने गर्छ । यद्यपि अहिले सम्म यस्ता विषयवस्तुमा भने कसैको पनि चासो हुन सकेको छैन ।

राज्यले के गर्नुपर्छ ?
नेपालमा अहिले सम्म वैज्ञानिक प्रयोगमा आधारित एलोप्याथिक उपचार पद्धतिलाई मात्रै उपचारको प्रभावकारी विधिको रुपमा स्वीकार गरी वैधानिकता प्रदान गरिएको छ । यद्यपि उपचारका अन्य विधिहरु समेत निकै नै प्रभावकारी भएकोमा भने खासै चासो बढेको छैन । साथै एलोप्याथिक उपचार विधिबाट एउटा समस्याको उपचार पश्चात् पुःन अर्को समस्या सृजना हुन सक्ने (साइड इफेक्ट) अवस्था समेत रहने भएपनि अन्य वैकल्पिक उपचार विधिहरुको कुनै हानी नहुने र स्वस्थ समाज निर्माण निर्माणको निम्ति महत्वपूर्ण भूमिका निर्वाह गर्न सक्ने कुरालाई पनि विचार गर्दै अघी बढ्नुपर्ने जरुरी देखिएको छ ।

अन्त्यमा,
नेपाल लगायतका पूर्वीय देशबाट विकसित उपचार र आचरण शुद्धिकरणका प्रभावकारी विधिहरु अन्तरगत रहेका योग, ध्यान, प्रणायाम, आयुर्वेद लगायतमा अहिले विश्वव्यापी रुपमा आकर्षण बढ्दै गएको छ । साथै विभिन्न वैज्ञानिक प्रयोग र परीक्षण समेत भइरहेका छन् । यस्तो परिप्रेक्ष्यमा नेपालमा पनि यसको अध्ययन गरी प्रभावकारी देखिएका विधिहरुलाई सर्वव्यापक हुनेगरी प्रवद्र्धन गर्नसके मात्र हामीले चाहे जस्तो शारीरिक, मानसिक र चारीत्रिक रुपमा स्वस्थ, दक्ष, क्षमतावान्, जागरुक, नेतृत्वदायी, शिक्षित जनशक्ति उत्पादन हुन सक्छ ।
यस कुरालाई विचार गर्दै प्रभावकारी, मौलिक पहिचान बोकेको, आर्थिक रुपमा सुलभ र सहज एवं सर्वाङ्गीण विकासको लागि समेत निकै महत्वपूर्ण पूर्वीय विधिहरुलाई समेत अवलम्बन गर्नु जरुरी रहन्छ । यस्ता विविध विषयवस्तुहरुको ज्ञान विद्यालय तहको शैक्षिक कार्यक्रममा समेत समेट्नु जरुरी देखिएको छ । जसले गर्दा यसबाट मानसिक समस्यालाई न्यूनीकरण गर्दै हामीलाई आवश्यक दक्ष जनशक्ति उत्पादनमा समेत निकै महत्वपूर्ण भूमिका निर्वाह हुन सक्छ ।

 

(मनोबिद् प्रधान शहिद स्मृति आयुर्बेद हस्पिटल, बालाजु र होलिष्टिक माइण्ड्स एण्ड लाइफ सेलिब्रेसन सेन्टर, धापासीमा कार्यरत छन् ।)
Comment

Related News 

ताजा अपडेट

© 2016-2019 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site by : SobizTrend Technology

%d bloggers like this: