नेपालमा टनेल निर्माण र यसको सम्भावना


सविन पुडासैनी, जियोटेक्निकल इन्जियिर

नेपालमा हुने सडक, जलविद्युत लगायतका सिभिलमा आधारित विकास कार्यमा टनेलको प्रयोग बढ्दो छ । टनेल निर्माणको निम्ति अत्याधुनिक प्रविधिको प्रयोग समेत नेपालमा हुन थालेको छ । जसले गर्दा नेपालका केही आयोजनाहरु निर्धारित समय भन्दा छिटो सम्पन्न भएका उदाहरण पनि छन् । भेरी–बबई डाइभर्सनको टनेल निर्माण कार्य ४ बर्षमा सम्पन्न हुनुपर्नेमा उक्त आयोजना ३ बर्षमा नै सम्पन्न भएको छ । नेपालमा नयाँ प्रविधिको रुपमा भित्र्याइएको टिबिएम (टनेल बोरिङ मेसिन)बाट यो काम निर्धारित समय भन्दा पहिले नै सम्पन्न भएको हो । टिबिएम अहिले सम्मको अत्याधुनिक सिभिल इक्विपमेन्ट मानिन्छ । यस भन्दा पहिले ड्रिल एण्ड ब्लास्टिङ प्रविधिबाट टनेल निर्माणको क्रममा काम गर्नुपर्थ्र्यो ।

 

यसैगरी सुनकोशी डाइभर्सनमा पनि यस किसिमको प्रविधिको प्रयोग हुने कुरा चलेको छ । नेपालमा पछिल्लो समय विकास कार्यमा टनेलको प्र्रयोग व्यापक हुन थालेको छ । विगतमा हाइड्रोपावर निर्माणमा मात्र टनेल खन्ने प्रचलन रहेकोमा अबका दिनमा ठूला सडकहरु समेत टनेलमार्गबाटै निर्माण हुने अवस्था छ । खासगरी काठमाडौं उपत्यकाबाट पश्चिम तर्फ जानेयात्रुहरुको लागि अहिले सम्म थानकोट नाका हुँदै बाहिरिनुपर्ने अवस्था छ । थानकोटमा हुने जाम र घुमाउरो दूरीलाई लक्षित गरी उक्त क्षेत्रमा टनेल निर्माणको लागि डिपिआर अघी बढाइएको छ । उक्त सुरुङमार्ग हुँदै गाडी चलेको खण्डमा निकै छोटो समयमा काठमाडौंबाट सिधै नौबिसे निस्कने अवस्था सृजना हुनेछ । ठाऊँ र परिस्थिति बमोजिम थुप्रै ठाउँमा यस्ता टनेलहरु निर्माण गर्नुपर्ने आवश्यकता छ ।

 

नेपालमाठूला टनेल निर्माण कार्य र दक्ष जनशक्ति 

विभिन्न राष्ट्रिय गौरवका आयोजनाहरु, केरुङ, नागढुंगा, फास्ट ट्रयाक, सुनकोशी डाइभर्सन लगायतका आयोजनाहरुमा समेत टनेल सहितका निर्माण कार्य अघी बढ्ने भएका छन् । नेपालमा टनेल निर्माण कार्यमा अहिले सम्म प्रयाप्त दक्ष जनशक्तिको भने खाँचो छ । जियोटेक्निकल विधा अन्तरगत अध्यापन हुँदै आएको यस क्षेत्रको शैक्षिक कार्यक्रम पुल्चोक क्याम्पसमा मात्रै सञ्चालनमा रहेको कारण बजारमा आवश्यक दक्ष जनशक्ति प्रयाप्त मात्रामा उपलब्ध हुन सकेको छैन ।

टनेल निर्माणमा नेपालमा सम्भावना 

नेपालमा टनेल निर्माण कार्यमा निकै राम्रो सम्भावना छ । यसले गर्दा पछिल्लो समय विदेश गएका जियो टेक्निकल इन्जिनियरहरु समेत नेपालमा फर्किइरहेका छन् । यसले गर्दा अबका दिनमा नेपालको निम्ति आवश्यक दक्ष जनशक्ति प्रयाप्त मात्रामा उपलब्ध हुने अवस्था देखिन्छ । नेपालमा अहिले सम्म राम्रो तवरले जियो टेक्निकल अध्ययन गरेर काम अघी बढाएका प्रोजेक्टहरुमा कुनै ठूला किसिमका व्यवधानहरु देखिएका छैनन् । सिक्टा सिँचाई आयोजनामा विस्तृतजियोटेक्निकल अध्ययन नगरी काम अघी बढाएको कारण समस्या सृजना भएको पाइएको छ ।कुनै आयोजना अघी बढाउँदा सोइल टेस्ट अनिवार्य गर्नु नितान्त आवश्यक छ । यसबाट आयोजना निर्माणका क्रममा आउन सक्ने विभिन्न व्यवधानलाई पहिले नै समाधान गर्न सकिन्छ ।

अण्डरग्राउण्ड स्ट्रक्चर 

सिभिल कार्य अन्तरगत सबैभन्दा कठिन र वस्तुस्थिति तथा लागत अनुमान गर्न नसिकने कार्य नै अन्डरग्राउण्ड स्ट्रक्चर हो । नेपालमा धेरै किसिमका भौगोलिक परिस्थिति र माटो भएको कारण यो अझ कठिन बनेको छ । अहिले सम्म नेपालमा निर्माण हुने ठूला प्रोजेक्टहरुमा विदेशी कम्पनी संलग्न हुँदै आएका छन् । केही पहिले मात्र सम्पन्न भएको कलंकीको अन्डरपास कार्य चिनियाँ कम्पनीबाट नै सम्पन्न भएको हो । नेपाली कम्पनीहरु पनि यस कार्यमा सक्षम बन्दै गएका छन् । नेपालको माटोमा सानो दूरीको अन्तर र गहिराई फरक पर्दै जाने क्रममा विविधता आउने गर्छ । यसले गर्दा एक ठाऊँको डिजाइन अर्को ठाऊँको लागि नमिल्ने कुरालाई विचार गर्दै टनेल निर्माण अघी बढाउनुपर्छ ।

 

(वि.सं २०७२ मा इन्जिनियरिङ अध्ययन संस्थान, पुल्चोक क्याम्पसबाट सिभिल इन्जिनियरिङ अध्ययन पूरा गरेका सविन पुडासैनी हाल सोही क्याम्पसमा जियोटेक्निकल इन्जिनियरिङमा स्नातकोत्तर तहको अध्ययन गरिरहेका छन् । हाल ड्रिम डेपलपर्स प्रा.लि.मा संलग्न उनी विभिन्न सिभिल इन्जिनियरिङ कार्यहरुमा संलग्न रहँदै आएका छन् ।)

Comment

Related News 

© 2016-2019 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site by : SobizTrend Technology

%d bloggers like this: