त्यो कारुणिक फोटो जसले विश्वको ध्यान खिच्यो


विश्वव्यापी रुपमा आप्रवासी समस्याबारे बहस चर्किएका बेला साल्भाडोरका बाबु छोरीको तस्वीरले फेरि एक पटक सबैको ध्यान तानेको छ ।

अल्बर्टो मार्टिनेज रामिरेज र उनकी छोरी भेनिसा आभालोस नदीको किनारमा घोप्टो परेको अवस्थामा तैरिएका छन् । बाबुको टिसर्टभित्र रहेकी छोरीले बाबुलाई अंगालो हालेकी छन् ।

मेक्सिकोका पत्रपत्रिकाले यो तस्वीरलाई २०१५ मा डुबेका सिरियाली बालक एलेन कुर्दीसँग यो तस्बिरको तुलना गरिएको छ । यो तस्बिरले अमेरिकी क्रुर आप्रवासी नीतिलाई थप उदांगो पारेको छ ।

उनीहरुको शव मेक्सिकोको माटमोरोस नजिकैको नदी किनारमा खोजियो । जुन टेक्सासको अन्तर्राष्ट्रिय पुलबाट करिब एक किलोमिटर टाढा छ ।

मेक्सिकोको ला जर्नाडा पत्रिकामा रिपोर्टिङ गर्ने जुलिया ले डकका अनुसार मार्टिनेज रामिरेज आइतबार पत्नी वेनेसा र छोरीसँग अमेरिकामा शरणको आश बोकेर माटमोरोस पुगेका थिए । तर प्रक्रिया लम्बिने देखिएपछि नदी तरेर अमेरिका जाने निर्णय गरे ।

‘उनले ६ वर्षकी छोरीलाई पारी लगे र अमेरिकातर्फ छोडे त्यसपछि पत्नीलाई लिन फर्किए । तर बालिका उनलाई पछ्याउँदै आइन् । जब उनी छोरीलाई बचाउन गए तब नदीले दुबैलाई बगायो’ ले डकले गार्जियनलाई भनेकी छन् ।

नदी किनारमा रहेका कसैले उद्धारकर्तालाई खबर गरिदियो । राति ११ बजेसम्म उद्धारकर्ताले नदीले बगाएका बाबुछोरीलाई खोजे तर, फेला पार्न सकेन । सोमबार बिहान सवा १० बजेतिर उद्धारकर्ताले बाबुछोरीका शव नदी किनारमा तैरिरहेको भेट्टाए ।

यही तस्वीरले अहिले विश्वको ध्यान तानेको छ । बाबुले भेलले नबगाओस् भनेर टिसर्टभित्र छोरीलाई लुकाएको तस्वीरले सबैलाई भावुक बनाएको छ ।

Comment

Related News 

© 2016-2019 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site by : SobizTrend Technology

%d bloggers like this: