केरुङ रसुवागढी नाकामा ‘सिन्डिकेट’


केरुङ–रसुवागढी नाका जाने पासाङ ल्हामु मार्गमा अघोषित रुपमा पुनः सिण्डिकेट प्रणाली लागू गरेको भन्दै सरोकारवालाहरुले उक्त एकाअधिकार तत्काल खारेज गर्नुपर्ने माग गरेका छन् ।

शनिबार रिपोर्टर्स क्लब नेपालमा नेपाल–चीन केरुङ व्यापार संघ, नेपाल ट्रक कन्टीनर ढुवानी सेवा लिमिटेड, रसुवा ट्रक कन्टीनर व्यवसायी संघ प्रालि, मिनि गोसाईकुण्ड यातायात प्रालि, पासाङ ल्हामु यातायात प्रालि, मैत्री यातायात प्रालि, सिल्क ट्रान्सपोर्ट प्रालि, गोसाईकुण्ड यातायात प्रालि, जनमुखी यातायात प्रालि, दिपज्योति ईन्टरनेश्नल प्रालि, सोनी ईम्पोर्ट–एक्सपोर्ट प्रालि, कामना ईन्टरनेश्नल र यार्सागुम्बा ईन्टरनेश्नलले संयुक्त रुपमा पत्रकार सम्मेलन गर्दै यस्तो माग गरेका हुन् ।

उनीहरुले उक्त नाकामा लगाएको अघोषित सिण्डिकेट तत्काल हटाउनुपर्ने माग गरेका छन् । नेपाल–चीन केरुङ व्यापार संघका अध्यक्ष मानबहादुर तामाङले सबै क्षेत्रमा खारेज भैसकेको सिण्डिकेट केही व्यक्तिहरुले प्रशासनको मिलेमतोमा उल्टाउन खोजेको आरोप लगाए ।

उनले उक्त नाकामा लगाईएको अघोषित सिण्डिकेट तत्काल खारेज नगरे आफूहरु जस्तोसुकै संघर्षका कार्यक्रमहरु गर्न बाध्य हुने चेतावनी दिए । उनले भने, ‘नाका व्यवस्थापनको नाममा अवैध रुपमा रकम उठाउने गरिएको छ । सरकारलाई कर तिर्ने व्यवसायीहरु मर्कामा परेका छन् ।’

उनले २०७६ बैशाख १७ गते जिल्ला प्रशासन कार्यालय रसुवामा बसेको बैठकले सिण्डिकेटलाई मौन समर्थन गरेको र सरोकारवाला पक्षलाई सल्लाह नै नगरी नाका व्यवस्थापन समिति गठन गरेको गम्भिर आरोप लगाए । उनले भने, ‘गोसाईकुण्ड गाउँपालिकाका अध्यक्ष कैसाङ नुर्वु तामाङको संयोजकत्वमा जि.प्र.का. धुन्चेमा बसेको बैठकमा नेकपाका जिल्ला अध्यक्ष कर्नेल लामा र नेपाली कांग्रेसका जिल्ला सभापति पेम्बा छिरिङ तामाङसहित ११ जना सरोकारवालाहरुको उपस्थितिमा बैठक बस्यो । त्यसमा चेम्बर्स अफ कमर्सका प्रतिनिधि संजिव अमात्यको पनि सहभागिता थियो । ’

बैठकले केरुङ जाने सबै कन्टेनरहरुमा डायल नम्बर हुनुपर्ने र अन्य सर्वसाधरणले ढुवानी गर्न नपाउने निर्णय गरेको पनि उनले सुनाए । कार्यक्रममा रसुवा ट्रक कन्टीनर व्यवसायी संघ प्रालिका अध्यक्ष उर्केन छिरिङ तामाङले विगत ८ वर्षदेखि नाका सञ्चालनमा भएपनि गत बैशाख १७ गते नयाँ सिडिओ र डिएसपी आईसकेपछि कोहीपनि सरोकारवालाहरुसँग छलफलनै नगरी सो व्यवस्था गरिएको भन्दै आपत्ति जनाए ।

Comment

Related News 

ताजा अपडेट

© 2016-2019 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site by : SobizTrend Technology

%d bloggers like this: