अमेरिकी राजदूतलाई सर्वसाधारण संग संवाद गर्न सरकारद्वारा रोक


नेपालका लागि अमेरिकी राजदूत रेन्डी बेरीले सामाजिक सञ्जालमार्फत् नेपाली सर्वसाधारणसँग संवाद गर्ने कार्यक्रम रोक्न सरकारले ध्यानाकर्षण गराएको छ । राजदूत बेरीले सोमबार फेसबुक र ट्विटरजस्ता सामाजिक सञ्जालका ४० लाख फलोअर्ससँग प्रत्यक्ष भेट सम्भव नभएको उल्लेख गर्दै सामाजिक सञ्जालमै प्रश्नोत्तर गर्ने घोषणा गरेका थिए । सरकारले यो कार्य अन्तर्राष्ट्रिय कूटनीतिक प्रचलनविपरीत भएको भन्दै बन्द गर्न भनेको हो ।

‘हामीले यस सम्बन्धमा अमेरिकी राजदूतलाई आवश्यक रेस्पोन्स गरेका छौँ । यो काम प्रचलित कूटनीतिक अभ्यासभित्र पर्दैन,’ परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले नयाँ पत्रिकासँग भने, ‘यही अभ्यास अरू राजदूतले पनि गर्न खोज्लान् । हरेक देशका राजनीतिक विषयमा बहस हुने र अनावश्यक विवादमा पर्ने कार्य सही होइन भन्नेमा हामी स्पष्ट छौँ । कूटनीति सञ्चालनसम्बन्धी अन्तर्राष्ट्रिय सिद्धान्त र अभ्यास उहाँहरूले बुझ्नुभएको छ भन्नेमा सरकार विश्वस्त छ ।’

राजदूत बेरीले आफ्नो ट्विटर ह्यान्डलमा अमेरिकी दूतावासका सामाजिक सञ्जाल फलो गर्ने ४० लाखजनासँग सीधै भेटवार्ता गर्न नसकिने भएकाले अन्तरक्रिया गर्न खोजेको जिकिर गरेका छन् । फेसबुकमा करिब ३४ लाख र ट्विटरमा करिब ४ लाख र राजदूतकै करिब दुई लाख ‘फलोअर्स’ छन् ।

Comment

Related News 

© 2016-2019 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site by : SobizTrend Technology

%d bloggers like this: